रेखा र श्यामकुमारीको समलिंगी विवाहलाई कानुनी मान्यता



बर्दियामा दोस्रो समलिंगी ‐केटीकेटी)बीचको विवाह दर्ता भएको छ । जिल्लाको बारबर्दिया वडा नम्बर ८ मा समलिंगी विवाह दर्ता भएको हो । उक्त वडाकी २१ वर्षीया रेखा कामी र बाँसगढी नगरपालिका–४ की श्यामकुमारी सुनारले कानुनी रूपमा विवाह दर्ता गरेका हुन् । यसअघि जिल्लामै पहिलोपटक बढैयाताल गाउँपालिकामा समलिंगी विवाह दर्ता भएको थियो ।शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बर्दियाको बारबर्दिया नगरपालिका–८ की रेखा कामी जन्मजात महिला हुन् । बुबा बमबहादुर कामी र आमा शान्ति कामीकी छोरीको रूपमा रेखाको विसं २०६१ फागुन १५ गते जन्म भएको थियो । उनी २१ वर्षकी भइन् । बर्दियाकै बाँसगढी नगरपालिका वडा नम्बर ४ की श्यामकुमारी सुनारपनि महिला हुन् । विसं २०६१ भदौ १३ गते जन्मिएकी श्यामकुमारी बुुबा टेकबहादुर सुनार र आमा तिला सुनारको कोखबाट जन्मिएकी हुन् । बारबर्दियाकी रेखा र बाँसगढीकी श्यामकुमारीले २०८१ चैत २३ गते सामाजिक परम्पराअनुसार समलिंगी विवाह गरेका थिए ।

लामो समयको संघर्षपछि उनीहरूको वैवाहिक जीवनले औपचारिक मान्यता प्राप्त गरेको छ । २१ वर्षीया रेखा र सोही उमेरकी श्यामकुमारीले विवाहलाई कानुनी रुप दिएका छन् । उनीहरूले २०८२ वैशाख १७ गते बारबर्दिया नगरपालिका वडा नम्बर ८ मा विवाह दर्ता गरेका छन् । रेखा (दुलाहा) र श्यामकुमारी (दुलाही) हुन् । उनीहरूबीच दुई वर्षअघि भारतमा भेट भएको थियो । निम्न आयस्तर भएका उनीहरू मजदुरीका लागि भारतमा गएको बेला एकअर्काको प्रेममा परेका थिए । नेपालकी केटी, भारतमा चिनजान, भेटघाट प्रेम सम्बन्ध, समलिंगी विवाह हुँदै विवाहदर्तासम्मको अवस्थामा आइपुगेका छन्, उनीहरू । हाल उनीहरू औँरीस्थित रेखाकै घरमा बस्छन् ।

उनीहरूले एकअर्काबीचको प्रेमलाई विवाहसम्म परिणत गर्न निकै दुःख झेलेका थिए । रेखा र श्यामकुमारीको प्रेमलाई परिवार र समाजले अस्वीकार गर्दा उनीहरूले धेरै दुःख पाए । कतिपटक त भागेरै जंगलमा बिताउनु परेको थियो । रेखाले यसअघि मिसन टुडेसँग भनेकी थिइन्, ‘यति धेरै संघर्ष गरियो । कति कुटाइ खाइयो । कति पटक घरबाटै लखेटिनु प¥यो । तर, आफूले माया गरेको मान्छेलाई कहाँ छोड्न सकिँदो रहेछ । अन्ततः हामी विवाह गर्ने निर्णयमा पुग्यौँ ।’ परिवार र समाजको दबाबले छुट्टिन कोसिस नगरेका भने होइनन् । ‘तर माया गरेको मान्छेसँग छुट्टिनै नसकिँदो रहेछ,’ उनले भनेकी थिइन् ।

श्यामकुमारीसँगको सम्बन्ध थाहा पाएपछि परिवारले आफूलाई घरबाट बाहिर निस्कनसमेत नदिएको उनको भनाइ छ । धेरै समयसम्म भेट्न नपाउँदा रुँदै कैयौँ रात काटेको र परिवारको समेत कुटाइ खानुपरेको उनले बताइन् । आफूहरू एकअर्काबिना बाँच्नै नसक्ने भइसके पनि परिवार र समाजले आफूहरूको भावना नबुझेको उनी दुःखेसो गर्थिन् । ‘कतिपटक कुटपिट गरे । कैयौँ दिनसम्म घरभित्रै हुल्दिने । रुँदै खानासमेत नखाएर कैयौँ दिन बिताएको छु । बिरामी भयो भनेर अस्पतालसमेत पु¥याए । धामी–झाँक्रीको समेत सहयोग लिए । धेरै दुःख पाइयो,’ श्यामकुमारीले सुनाएकी थिइन् ।

अब भने उनीहरू ढुक्कले बस्न सक्ने भएका छन् ।, किनकी उनीहरूको विवाहले कानुनी मान्यता प्राप्त गरिसकेको छ । उनीहरूको विवाहलाई कानुनी मान्यता दिने स्थानीय पञ्जीकाधिकारी हुन्, बारबर्दिया–८ का वडा सचिव चुमानबहादुर घर्ति मगर । वडा सचिव मगरले रेखा र श्यामकुमारीले विवाहदर्ताको लागि वडामा वैशाख १२ गते लिखित निवेदन दिएको बताए । उनले भने, ‘पहिला त उहाँहरू आउँदा मलाई अचम्म लागेको थियो । विवाहदर्ता त्यो पनि केटीकटीबीच । म त रनभुल्ल भएको थिएँ ।’

तर सरकारको प्रतिनिधिको रूपमा एउटा नागरिकले अधिकार माग्न आएपछि उनलाई आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने थियो । सोहीअनुसार आफूले प्रचलित कानुन र देशभित्रै अन्य पालिकामा समलिंगी विवाह भए नभएको विषयमा परामर्श गरेको वडा सचिव मगरले मिसन टुडेलाई बताए । सबै ठाउँमा समन्वय गर्न उनलाई एकसाता लाग्यो । जब उनले नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विसं २०८१ वैशाख १२ गते देशभरका स्थानीय पञ्जीकाधिकारीहरूलाई पठाएको परिचयअनुसार १७ गते रेखा र श्यामकुमारीको विवाहलाई कानुनी मान्यता दिँदै विवाह दर्ताको प्रमाणपत्र थमाए ।

उनले सरकारी जागिरे जीवनमै फरक किसिमको कामको रूपमा समलिंगी विवाह दर्तालाई लिएको बताए । बारबर्दिया–८ का वडाध्यक्ष नरबहादुर चन्दले पनि आफ्नो पालिकामा पहिलोपटक समलिंगी विवाहदर्ता भएको बताए । उनका अनुसार यो विवाहदर्ता नगरपालिकामै पहिलो हो । ‘वडा नम्बर ८ मा समलिंगी विवाहदर्ता भएको छ । वडाले एकसाताको प्रयासपछि विवाहलाई कानुनी मान्यता दिएको छ,’ वडाध्यक्ष चन्दले मिसन टुडेसँग भने । बारबर्दिया नगरपालिका वडा नम्बर ८ मा भएको समलिंगी विवाहदर्ता बर्दिया जिल्लामै दोस्रो हो ।

यसअघि विसं २०८१ माघ २८ गते बर्दियाकै बढैयाताल गाउँपालिका वडा नम्बर २ मा पहिलोपटक समलिंगी विवाहदर्ता भएको थियो । वडाध्यक्ष डिलादेव गिरीका अनुसार बर्दिया जिल्लामै पहिलोपटक बढैयाताल गाउँपालिका वडा नम्बर २ मा विवाहदर्ता भएको थियो । बढैयाताल–२ की अन्जुुदेवी श्रेष्ठ (दुलाहा) र तनहुँको बन्दिपुर नगरपालिका वडा नम्बर ५ की सुप्रिषा गुरुङ (दुलही)बीच विवाहदर्ता भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार