
नन्दराम जैशी । सुर्खेत ।
पछिल्लो समय व्यस्त जीवनशैली र खानपान लगायत कारणले कर्णालीका नागरिकहरू पनि नसर्ने प्रकृतिका गम्भीर रोगसँग लडिरहेका छन् । विभिन्न रोगका कारण नियमित औषधि सेवन गर्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । भने कतिपयले बाँचुञ्जेल औषधि खानुपर्ने अवस्था छ ।
यही समस्यालाई मध्यनजर गरी कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निःशुल्क परीक्षणका साथै उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रमको सुभारम्भ भएको हो । आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ गरेका छन् । मन्त्री भण्डारीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुभारम्भ घोषणा गरेका हुन् ।
सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको घोषणा गरे । ‘पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । त्यसैले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम आवश्यक ठानेका हौं’ उनले भने, ‘४० वर्ष माथिको जनसङ्ख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउनु हो ।’
नसर्ने रोगहरूबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनीकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको मन्त्री भण्डारीको दावी छ । कार्यक्रममार्फत स्कृनिङ्ग गरिएको तथ्यांकको आधारमा भावी स्वास्थ्य रणनीति तय गर्न सघाउ पु¥याउने उनकोे अपेक्षा छ ।
उनले थपे, ‘प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई नीतिगतरूपमा व्यवस्थित गरी अघि बढाइएको हो । ढुक्क भएर सेवा लिनुहोस् । कार्यक्रमलाई प्रभावकारी बनाउन कर्णालीका सबै पालिकामा स्वास्थ्य प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्ने तयारी छ ।’
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले यो कार्यक्रमको तथ्यांकपछि नसर्ने रोग सम्बन्धि नीति तथा कार्यक्रम बनाउन पालिकालाई पनि सहज हुने बताए । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको यो कार्यक्रमले ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न सहज हुने विश्वास व्यक्त गरिन् । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने उनको भनाइ छ । यो कार्यक्रम गुमी स्वास्थ्य चौकीमा ३ दिनसम्म सञ्चालन हुनेछ । यसपछि १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ ।
प्रत्येक जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गरेर निर्देशालयको व्यवस्थापनमा यस वर्ष स्वास्थ्य परीक्षणलाई बृहत बनाईने कार्यक्रमका फोकल पर्सन किरण शर्माले बताए । आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाइ छ । उनका अनुसार ७९ वटै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा ३ दिन ४० वर्ष माथिका नागरिकहरूको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ । स्कृनिङ्ग पश्चात देखापरेका नयाँ बिरामीहरूको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधीको सुनिश्चिततासँगै सम्बन्धित स्थानीयका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ ।
कार्यक्रम अन्तर्गत प्रयोगशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । यस्तै प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परीक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने फोकल पर्सन शर्माले बताए । उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ ।
कर्णालीवासी खुसी
गुमीका ७१ वर्षीय वृद्ध जसबहादुर सिरीसले गाउँमै नसर्ने रोगको उपचार पाउँदा खुसी व्यक्त गरे । विगत १ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका उनले आफ्नो स्वास्थ्य अवस्थाबारे थप जानकारी लिन स्वास्थ्य परीक्षण गरिएको बताए ।
‘नसर्ने रोगहरूको सबै परीक्षण गाउँको स्वास्थ्य चौकिमा हुँदैन । प्रादेशिक अस्पताल पुग्नुपथ्र्यो । आउजाउ गर्न झन्झटले रोग पालेरै बस्नबाध्य थिएँ’ उनले भने, ‘गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण गरिएपछि थप स्वास्थ्य अवस्थाबारे बुझ्न पाइयो । औषधि पनि निःशुल्क पाइनेभयो । सदरमुकाम धाउने समय र पैसा दुवै बचत भयो । हाम्रा लागि यो कार्यक्रम साह्रै उत्तम छ ।’
६८ वर्षीया वृद्धा अमृता गुरुङले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाइने भएपछि सेवा लिन आएको बताइन् । उनले भनिन्, ‘मैले पनि विगत ८ वर्षदेखि मधुमेह, उच्च रक्तचाप र ग्याष्ट्रिकको औषधि सेवन गर्दै आएको छुँ । तर नियमित औषधि सेवन गर्न र स्वास्थ्य चेकजाँच गर्न पाइँदैन । यस्तो बेला घरआँगनमै सेवा पाउँदा खुसी लाग्यो ।’
कोहलपुर नगरपालिका–१२ निबुवा बाँके घर भई गुमी स्थित कालिका मन्दिरमा बस्दै आएका ६५ वर्षीय मोतिलाल शाहीले पनि निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । उनले भने, ‘मलाई चिसोमा रिंगटा लाग्ने समस्या छ । उपचारका लागि सदरमुकाम धाउने सोच बनाएको थिएँ । तर गाउँमै सेवा लिन पाइएपछि सबै चेकजाँच गराएको छुँ । रिपोर्ट आएपछि सल्लाह अनुसार ध्यान दिनुपर्ला ।’
उनीहरू प्रतिनिधिमुलक व्यक्तिहरू मात्रै हुन् । यो कार्यक्रम सुरु भएपछि कर्णालीवासी नै खुसी भएका छन् । विकट जिल्ला र ठाउँका स्थानीयले आफ्नै ठाउँमा सेवा लिन पाउने छन् । नसर्ने रोग भएरपनि उपचारका लागि सम्बन्धित अस्पताल पुग्न नसकेका कर्णालीवासीका लागि यो कार्यक्रम महत्वपूर्ण मानिएको छ । पहिलो चरणको कार्यक्रमपछि नसर्ने रोगीहरूको एकिन सङ्ख्या, उनीहरूको स्वास्थ्य अवस्था र आगामी बाटोका विषयमा प्रष्ट योजना बनाउन सहज हुनेछ ।
गाउँमै पुगेर विशेषज्ञ उपचार सेवा
गाउँमै विशेषज्ञ उपचार सेवा पाएपछि सुर्खेतको सिम्ता गाउँपालिका–८ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले २८३ जनाको उपचार गरेको हो ।
सिम्ता–८ मा पुगेर पहिलो पटक ७ जना बिशेषज्ञ डाक्टरहरूले निःशुल्क सेवा दिएपछि स्थानीय भएका हुन् । १ दिने निःशुल्क वृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएको भन्दै स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गरिन् । सामान्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइएपनि नसा रोग लगाएतको उपचार गर्न वीरेन्द्रनगर वा नेपालगन्ज जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।
लामो समयदेखि हाडजोर्नी कै समस्यामा रहेका ६१ वर्षीय भिम बहादुर खत्रीले नियमित रूपमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुनुपर्नेमा जोड दिए । गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएको उनको भनाइ छ । शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसा रोग सम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको हो ।
यस्तै घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढी लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मीले बताए । शिविरमा विभिन्न रोगका २२५ जना महिना र ५७ जना पुरुषले सेवा लिएका हुन् । शिविरमा बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्शसहित औषधी वितरण गरिएको थियो ।
शिविरमा वरिष्ठ नाक, कान घाँटी रोग विशेषज्ञ डा. पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. नम्रता भटराई र वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले सेवा दिएका थिए । यस्तै मेडिकल अधिकृत डा. दिलिप कुमार शाह र डा. अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा.कैलास सिराले बिरामीलाई सेवा दिएका हुन् । वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य संघ तथा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्