कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित विद्यालयहरूमा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी विद्यालयस्तरीय अभिमुखीकरण सुरू भएको छ । विद्यालयस्तरमा लागूऔषध दुव्र्यसनबारे विद्यार्थीहरूलाई सचेतना फैलाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सुरू भएको हो । कोहलपुर–५ स्थित एक सामुदायिक र चार वटा संस्थागत विद्यालयमा सञ्चालन गरिने कार्यक्रम पञ्चमुखी इंलिस मेडियम स्कुलबाट सुरू भएको हो ।
पाँच विद्यालयमा सञ्चालन गरिने लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रमको बिहीबार पञ्चमुखी स्कुलमा आयोजित कार्यक्रमकाबीच कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष श्रेष्ठले वडाका स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन, यसको प्रयोगबाट हुने बेफाइदा र पर्ने असरका विषयमा सचेतना फैलाउने उद्देश्यले अभियान सुरू गरिएको बताए ।
उनले लागूऔषध समाजमा गम्भीर समस्याका रूपमा देखा परेको भन्दै यसको प्रयोगका कारण युवा जनशक्ति प्रभावित भएको बताए । ‘लागूऔषध समाजको समस्या बन्दै गएको छ । यसको प्रयोगले समाजमा विकृत्ति फैलँदो अवस्थामा छ । यसको न्यूनीकरणका लागि वडाले बजेट विनियोजन गरेर कार्यक्रम सुरु गरिएको हो ।’ वडा अध्यक्ष श्रेष्ठले भने । कार्यक्रमका लागि वडाले एकलाख रूपैयाँ विनियोजन गरेकोपनि उनले जानकारी दिए ।
‘हाम्रो आवाज लागूऔषध दुव्र्यसन मुक्त समाज’ भन्ने नारासहित सुरु भएको लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रममा इलाका प्रहरी कायर्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशमलाल पौडेल, कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले संस्थाले कोहलपुर नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रम वडा नम्बर ५ का पाँच वटा विद्यालयमा आयोजना गरिनेछ ।
विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले वडा कार्यालयले पहिलोपटक कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । विद्यालयले कार्यक्रममा सहभागीहरूलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो । अभिमुखीकरण कार्यक्रममा पञ्चमुखीमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्