स्वास्थ्य सेवामा ठाकुरबाबाको उडान : निःशुल्क शव वाहनदेखि चिस्यान मेसिनसम्म



नगर प्रमुख तिलकराम लम्साल नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले स्वास्थ्य सेवामा काम गर्दै आएको बताउँछन् । उनका अनुसार यसअघि नगरपालिकाभित्रका नागरिकहरूको माग र सुझावलाई मध्यनजर गर्दै नगरपालिले निःशुल्क शव वाहन सेवा सुरु गरेको थियो । आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नागरिकको सेवाका लागि निःशुल्क शव वाहनसँगै शव सुरक्षित राख्न शव चिस्यान मेसिन (मर्चरी फ्रिज) सेवा पनि सुरु गरिएको नगरप्रमुख लम्सालले बताए ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको नारा छ, ‘नागरिकका हरेक सुख दुःखमा नगरपालिका ।’ समुन्नत ठाकुरबाबा र सबल नगरवासीको दीर्घकालीन लक्ष्य लिएको छ ठाकुरबाबा नगरपालिकाले । आर्थिक वर्ष २०८१-०८२ को नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवासम्बन्धी नगरपालिकाले ११ वटा कार्यनीति स्वीकृत गरेको थियो । ती मध्येको एक थियो, ‘नगर अस्पतालमा शव सुरक्षित राख्न आवश्यक पर्ने चिस्यान कोठा व्यवस्थापन र उपकरण खरिद गरिनेछ ।’ यतिमात्रै होइन् नगरपालिकाले नीति तथा कार्यक्रममा दर्जनौँ जनमुखी नीतिहरू समावेश गरेको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका द्वन्द्वपीडित, सिकलसेल एनिमिया तथा महिला स्वास्थ्य स्वयमसेविकाहरूमा निःशुल्क बीमा, निःशुल्क एम्बुलेन्स सेवा, नागरिकलाई निःशुल्क औषधी वितरणदेखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेसम्मका नीति समेटिएका थिए । नगरपालिकाले नीति तथा कार्यक्रममा समेटिएकामध्ये बहुसंख्यक कार्यक्रमलाई अक्षरस पालना गरिएको जनाएको छ ।

नगर प्रमुख तिलकराम लम्साल नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले स्वास्थ्य सेवामा काम गर्दै आएको बताउँछन् । उनका अनुसार यसअघि नगरपालिकाभित्रका नागरिकहरूको माग र सुझावलाई मध्यनजर गर्दै नगरपालिले निःशुल्क शव वाहन सेवा सुरु गरेको थियो । आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नागरिकको सेवाका लागि निःशुल्क शव वाहनसँगै शव सुरक्षित राख्न शव चिस्यान मेसिन (मर्चरी फ्रिज) सेवा पनि सुरु गरिएको नगरप्रमुख लम्सालले बताए ।

‘दुर्घटनावश वा अन्य कुनै विपद्का दौरान मृत्युवरण गर्दा कहिलेकाहीँ विविध कारणले मृत शरीरलाई चिस्यानमा राख्नुपर्ने अवस्था सृर्जित हुन्छ । जिल्ला अस्पताल वा अन्य कुनै अस्पतालमा लैजानुपर्दा झन्झटिलो एवम् खर्चिलो पर्ने गर्दछ । यसैगरी पालोसमेत नपाइने अवस्था नागरिकले भोगिरहेका छन् । यस्तो विषयमा मानवीय संवेदनासमेत जोडिएको हुँदा नागरिककै सहजताका लागि शव चिस्यान (मर्चरी फ्रिज) सेवा सुरु भएको छ,’ नगर प्रमुख लम्सालले मिसन टुडेसँग भने ।

अबदेखि ठाकुरबाबा नगरपालिकाका कुनैपनि नागरिकले शव वाहनका कारणले तत्काल दाहसंस्कार गर्न नसकी लामो समय शव सुरक्षित राख्नु परे जिल्ला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । उक्त सेवा वडा नम्बर १, २, ३, ४ र ५ का लागि आधारभूत नगर अस्पताल र वडा नम्बर ६, ७, ८ र ९ का लागि ठाकुरद्वारा स्वास्थ्य चौकीमा गरी २ वटा चिस्यान मेसिन रहने नगरपालिकाले जनाएको छ ।

‘हाम्रो समाजमा अहिले प्रायः युवाहरू विदेशिने अवस्था छन् । घरमा उनीहरूका अभिभावक मात्रै हुन्छन् । उनीहरूको मृत्यु हुँदा बाहिरबाट आउन समय लाग्छ,’ नगर प्रमुख लम्साल भन्छन्, ‘यही वर्षमा त्यस्ता घटनापनि घटे । त्यसैले कुनैपनि छोराछोरी वा आफन्तले आफ्ना प्रियजनको जिउँदो हुँदा अनुहार देख्न नपाएपनि मरेपछि देख्न पाउन् भन्ने उद्देश्यले चिस्यान मेसिन सेवा सुरु गरिएको हो ।’

ठाकुरबाबा नगरपालिकाका जिन्सी शाखा प्रमुख चक्रपाणी आचार्यका अनुसार नीति तथा कार्यक्रममा उल्लेखित हुँदै बजेटमा समेत समावेश भएको योजनामा कुल २ लाख पचास हजार रूपैयाँ विनियोजन गरिएको थियो । प्रति मेसिनको १ लाख २५ हजारका दरले दुई वटा मेसिन खरिद गरेर नगरपालिकामा ल्याइएको उनले बताए ।

‘मेसिन अहिले नगर अस्पतालमा राखिएको छ । एउटा मेसिनमा दुई जनासम्म राख्न मिल्छ । दुई वटा स्थानबाट सेवा प्रवाह हुन्छ । मेसिन नेपालगन्जमै निर्माण गरेर ल्याएको हो’, जिन्सी शाखा प्रमुख आचार्यले मिसन टुडेसँग भने ।
स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवाली चिस्यान मेसिनले नगरपालिकाका नागरिकलाई सहज हुने बताउँछन् । उनका अनुसार अब ठाकुरबाबाका कुनैपनि नागरिकले शव चिस्यान सेवाका लागि अन्त कतै जानु पर्दैन । नगरपालिकाले नागरिकको आवश्यकतालाई मध्येनजर गर्दै सेवा सुरु गरेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २० गते शनिबार