बाँके ।
कोहलपुरमा १५ दिने आरन सुधार तालिम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश (ख) क्षेत्र विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहकार्यमा उक्त आरन सुधार कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निवर्तमान वन तथा वातावरणमन्त्री दुर्गा चौधरीले लोपोन्मुख पेशाका रूपमा रहेको आरन पेशाको सवलीकरण गर्नका निम्ति आगामी वर्षमा समेत प्रदेश सभाबाट आवश्यक बजेटको व्यवस्थापन गर्न पहल गर्ने बताए ।
उनले उत्पादित वस्तुहरूको बजारीकरण गर्न आवश्यक रहेको औँल्याउँदै त्यसका निम्ति सबैका साथ सहयोग हुन आवश्यक रहेको बताए । स्थानीय सरकारले विशेष पहल गर्नु पर्नेमा उनले जोड दिए । उनले स्थानीय सरकारले जग्गा उपलब्ध गराए आरन पेशालाई उद्योगका रूपमा स्थापना गर्न प्रदेश सरकारले भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न तयार रहेको बताए । आरन व्यवसायीहरूको सक्रियता भएमा आधुनिक आरन निर्माण गरेर उद्योग नै स्थापना गर्न सकिने उनले धारणा राखे ।
कोहलपुर नगरभित्रका करिब २० जना आरन पेशामा आबद्व व्यवसायीहरूलाई उक्त आरन सुधार तालिम दिइने घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुष्कर सिँहले जानकारी गराए । कोहलपुर नगरपालिका वडा नं १ कि जनप्रतिनिधि सितला परियारले स्वरोजगार बन्नका लागि यसप्रकारका सीपमूलक तालिमहरू महत्वपूर्ण हुने बताइन् ।
उनले सीपबाट नै देशको अर्थतन्त्र चलायमान बन्ने हुँदा अब जागिर भन्दा पनि सीप सिक्न आवश्यक रहेको बताइन् ।
उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिलबहादुर परियारले यो तालिमका साथसाथै सिलाइकटाइ तथा सुन व्यवसायीका लागि आवश्यक तालिमसमेत सञ्चालन भइरहेको बताए । उनले तालिमपश्चात् आधुनिक प्रविधिसमेत हस्तान्तरण गरिने हुँदा दलित समुदायका पेशालाई सवलीकरण गर्न आवश्यक रहेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर विष्टले श्रमिक दिवसको शुभकामना दिँदै जिल्लामा संघीय तथा प्रदेशका गरी २१ जना सांसदहरू रहेको बताउँदै उहाँहरूमार्फत् विनियोजित बजेटबाट श्रमिकहरूसँग यसरी क्षेत्र विकास कार्यक्रममा जोडिन पाउँदा घरेलु तथा साना उद्योग कार्यालय हर्षित बनेको बताए । विष्टले अब संगठित रूपमा आरन व्यवसायीहरू एक हुनु पर्ने बताए । उनले यसरी संगठित भएमा स्थानीय, प्रदेश तथा संघीय सरकारलाई समेत बजेट दिन सहज हुने बताए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत पुष्कर सिंहले कार्यक्रमको सञ्चालन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्