कोहलपुर ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाँके र पेसागत महासंघ बाँकेले बिहीबार बिहान बाँकेको कोहलपुरमा संयुक्तरूपमा १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । कार्यक्रम सुरु हुनुपूर्व विभिन्न नारा जुलुससहित सहभागी मजदुर तथा श्रमिकहरूले कोहलपुर चौराहामा ¥यालीसमेत निकालेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझै धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताए । ‘आजको दिन मजदुर श्रमिक वर्गका लागि पर्वको दिन हो, तत्कालीन मजदुर नेतृत्वले शासक वर्गसँग ठूलो लडाइँ गरेर बलिदानीपूर्वक ल्याएको दिन हो, मजदुर र श्रमिकका हक अधिकारका क्षेत्रमा केही कुराहरू प्राप्ति भएपनि अझैपनि धेरै हक अधिकार प्राप्ति गर्नुपर्ने छ । त्यसका लागि सबै मजदुर र श्रमिक वर्गले लडाइँ लड्न बाँकी छ ।’ उनले भने ।
नेपालमा २००७ सालको क्रान्ति पनि मजदुर आन्दोलनकै नेतृत्वमा भएको भन्दै त्यसपछि मदजुर आन्दोलनले बिस्तारै रुप लिँदै आएको र मजदुरहरू संगठित हुन थालेको उनले बताए । संविधानसभा सदस्य भारले तत्कालीन अवस्थामा स्व. मनमोहन अधिकारी लगायतका नेताहरूले मजदुर आन्दोलनको नेतृत्व गर्दै आम शोषित पीडित मजदुर र श्रमिकका पक्षमा आवाज बुलन्द गर्दै संघर्ष गरेका कारण नेपालमा आज मजदुर र श्रमिकका पक्षमा केही भएपनि प्राप्ति भएको बताए ।
उनले मजदुर र श्रमिकका पक्ष र हितमा अझै धेरै ऐन कानुन तथा आयोग बन्नुपर्ने भन्दै बनेका ऐन तथा कानुनहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सम्पूर्ण श्रमजीवी वर्गले शासकहरूसँग आफ्नो हक र अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने र आवाज उठाइराख्नुपर्ने उनले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले विराटनगर जुट मिलका मजदुरहरूले आफ्नो हक अधिकारका लागि विभिन्न मागहरू राखेर आन्दोलन गरेको स्मरण गर्दै सबै क्षेत्रका मजदुर र श्रमिक संगठित हुनुपर्ने बताइन् । उनले प्रदेश सरकारबाट मजदुरका हक र हितका लागि कानुन निर्माण गर्दा वा संशोधन गर्दा मजदुरका पक्षमा गर्नका लागि आफूले सक्दो पहल गर्ने बताइन् ।
जिफन्टका केन्द्रीय सदस्य पूर्णबहादुर केसीले मे दिवस मजदुरहरूले मुक्ति प्राप्ति गरेको दिन भन्दै सबै मजदुर र श्रमिकहरूले यो दिनलाई खुसीयालीका साथ मनाउनुपर्ने बताए । उनले मजदुर आन्दोलनकै कारण आजको दिन प्राप्ति भएको भन्दै आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन प्राप्तिका साथै त्यसपछिको समयमा ओभरटाइमको व्यवस्था भएको उल्लेख गरे । कार्यक्रममा पेसागत महासंघका केन्द्रीय सदस्य मानबहादुर थापा, जिफन्ट कोहलपुर नगर इन्चार्ज मङ्गला जैसी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको पेसागत महासंघ बाँकेका अध्यक्ष दुर्गा डाँगीले बताए । उनका अनुसार कौशिल्या अस्पताल प्रालि कोहलपुरले निःशुल्क आँखा शिविर र कोहलपुर डेन्टल हस्पिटल कोहलपुरले निःशुल्क दाँत शिविरको आयोजना गरेर सयौँ मजदुर र श्रमिकको निःशुल्करूपमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्