मदरसा सुधार्न अन्तक्र्रिया



नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मदरसा शिक्षाको विकास र मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपालगन्जमा अन्तक्र्रिया गरिएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले मदरसा विद्यालयको समस्या पहिचान गरी विकास र मूल प्रवाहीकरण गर्न अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको होे ।

बिहीबार बाँके र बर्दियाका मदरसा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरू सहभागी अन्तक्र्रियामा बोल्ने वक्ताहरूले आस्था र आवश्यकतालाई सँगसँगै लिएर जानुपर्ने, आर्थिक स्रोतको उचित व्यवस्था गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मोहम्मद नक्की खाँले मुस्लिम समुदायको धार्मिक पहिचानको रूपमा मदरसाको अस्तित्व जोगाउन सरकारले ध्यान दिनुपर्ने बताए । उनले मदरसाका मौलानाहरू विस्थापित हुने अवस्था आइरहेकोले मदरसा समाप्त हुनसक्नेतर्फ ध्यानाकर्षण गराए ।

मदरसाका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले आर्थिक स्रोत अभावका कारण शिक्षक नपाउँदा मदरसाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो गरेका थिए । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजयप्रसाद तिमिल्सेनाले प्रदेश सरकारले मदरसा शिक्षाको विकास गर्न प्राथमिकतामा राखेको बताएका छन् । मदरसा शिक्षा मुस्लिम समुदायको मात्रै नभएर समग्र लुम्बिनी प्रदेशका नागरिकको आवश्यकताको विषय भएको मन्त्री तिमिल्सेनाको भनाइ छ ।

यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव बसन्तप्रसाद कोइरालाले मदरसा शिक्षालाई प्रदेश सरकारले मूल प्रवाहीकरणमा ल्याउँदै गर्दा मदरसाहरूमा अब राष्ट्रिय पाठ्यक्रम अनुसारको पठन पाठन गरिनुपर्ने बताएका छन् । हाल देशभर एक हजार ३७ वटा मदरसा रहेकोेमा लुम्बिनी प्रदेशमा मात्रै पाँच सय सय १० वटा मदरसा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार