कोहलपुर :
कोहलपुर–१स्थित ब्राइटलाइट एकेडेमीमा अभिभावक शिक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालयको आयोजनामा एकदिने अभिभावक शिक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको कोहलपुर–१ का वडा अध्यक्ष बद्रीप्रसाद जैसीले उद्घाटन गरेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष जैसीले अभिभावक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ ले अभिभावक, विद्यार्थी र स्थानीय सरकारको सम्बन्धलाई सुुमधुर बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य दिएको छ । ‘विद्यार्थी,शिक्षक र अभिभावकको भूमिका सुमधुर हुन आवश्यक छ । शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकहरुको भूमिका महत्वपूर्ण रहन्छ । घरमा हुँदा आफ्ना बच्चालाई अभिभावकहरुले राम्रो हेरचाह गर्न आवश्यक छ,’ वडा अध्यक्ष जैसीले भने ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माले गुणस्तरीय शिक्षा अहिलेको आवश्यक रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । सोही अनुसार सामुदायिक विद्यालय सुधार योजनासमेत तयारी गरिरहेको उनले बताए । शिक्षा विकासको महत्वपूर्ण पक्ष अभिभावक रहेको उनको भनाइ थियो । गुणस्तरीय शिक्षाको लागि सम्पूर्ण सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेको विश्वकर्माले बताएका थिए ।
उक्त कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रमिलाल मिजार र समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालयका अध्यक्ष विनोद थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा ब्राइट लाइट एकेडेमीका विद्यार्थी, अभिभवाक,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्