गोठालाबाट खुल्यो बालक हत्याको रहस्य



कोहलपुर माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ३ मा अध्ययन गरिरहेका ९ वर्षीय कुशल बुढा वैशाख ८ गतेदेखि हराइरहेका थिए । ९ गते उनकी आमा यशोदा बुढाले छोरा हराएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् । उनको शव सोमबार दिउँसो बैजनाथ–४ स्थित नौलापुरमा गाडिएको अवस्थामा भेटिएको थियो । प्रहरीले आमा र सौतेनी बुवालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

१५ वैशाखको मध्य दिउँसो बैजनाथ गाउँपालिका–४ नौलापुरका विक्रम थारू ‐५५) सधैँ झैँ बाख्रा चराउन निस्किए । थारू घरदेखि झण्डै चारसय मिटर परको खुला खेतमा पुगे, खेतसँगै रहेको कुलो नजिकै बाख्रा चरिरहेका थिए । थारू भने गर्मी छल्न शितल भएको ठाउँतिर ओत लागे । थारू त्यहाँ बस्न मात्रै के खोजेका थिए, त्यो ठाउँ त गन्हाउन थाल्यो । एक्कासि उनको नजर पुग्यो, अघिल्तिर रहेको वस्तुतर्फ । अघि बढ्दा त्यो वस्तु त मानिसको खुट्टो पो रहेछ । अलि पर पुग्दा शव देखियो ।

बैजनाथ गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र थारू विक्रमको भनाइ उद्धृत गर्दै भन्छन्, ‘पहिला त म धेरै आत्तिएँ । डराउँदै गएर गाउँलेहरूलाई भनँे । पछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरियो ।’ घटना थाहा भएपछि मानिसहरू एकपछि अर्को गर्दै आउन र जम्मा हुन थाले । आफूपनि वडामा काम गरिरहेको बेला त्यस्तो कुरा सुनेपछि नौलापुरस्थित उक्त स्थानमा पुगेको उनले मिसन टुडेलाई बताए ।

लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरको टोली घटनास्थल पुग्यो । खोज्दै जाँदा कुलो नजिकै प्लाष्टिकले बेरिएको अवस्थामा शव भेटियो । शव पूर्णरूपमा गलेको थियो । हात–खुट्टाका पञ्जा छुट्टिएका थिए । शरीरको अंग बिग्रिएका थिए । कुकुरले शरीरका केही भाग लुछेर बाहिर ल्याएको देखियो । शव कुलो नजिकै गाडिएको अवस्थामा भेटिएको थियो ।

शव भेटिएको ठाउँ नजिकै वस्ती छैन । खेतीयोग्य खेत रहेका छन् । सिँचाइका लागि निर्माण गरिएको कुलो छ । कुलो ३ फिट गहिरो छ । घटनास्थल नजिकै साइकल भेटिएको छ ।

सर्टसमेत परालले छोपेको अवस्थामा भेटिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार उक्त शव नेपालगन्ज घर भई कोहलपुर– ११ मा बस्दै आएका ८ वर्षीय कुशल बुढाको हो । प्रारम्भिक अनुसन्धानबाट बालकको हत्या भएको देखिएपछि सोही अनुसार अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अनुसन्धानको घेरामा आमा र सौतेनी बुवा 

घटनास्थलमा खटिएको प्रहरीले अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धानमा नै हत्या गरेर बालकको शव गाडिएको हुनसक्ने बताएको छ । प्रहरीले घटनास्थल र शवको प्रकृति हेर्दा बालकको हत्या भएको निष्कर्ष निकालेको हो । बालकको शव प्लाष्टिकले बेरेर गाडिएकोले पुरै गल्नुका साथै शरीर अंगभंग भएको प्रहरी निरीक्षक पौडेलले मिसन टुडेलाई जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उनी वैशाख ८ गते देखि हराइरहेका थिए । भेटिएको शवको प्रकृति हेर्दा एकसाता अघि नै हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘शव गाडिएको अवस्थामा भेटिएको स्थल वरपर मानिसहरूको वस्ती छैन । मानिसहरूले भोगचलन गरिरहेका खेत छन् । सँगै सिँचाइको लागि प्रयोग भइरहेको कुलो छ । त्यही नजिकै सानो खाल्डो खनेर शव गाडेको थियो । बालकको हत्या भएको आंशका छ ।’, प्रहरी निरीक्षक पौडेलले भने ।

कुशल कोहलपुर–११ रहेको कोहलपुर माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका थिए । मृत भेटिएका बालक कोहलपुर–११ कै पानी ट्याङ्की नजिकै भाडाको घरमा आमाबुवासँगै बस्दै आएका थिए । वैशाख ९ गते कुशलकी आमा यशोदा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरा हराएको भन्दै निवेदन दिएकी थिइन् । प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि आमा बुढा र सौतेनी बुवा निरकनाथ योगीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट आमा र छोराको ठेगाना नेपालगन्ज रहेको खुलेको छ ।

पछिल्लो समय भने कोहलपुरमै बस्दै आएका थिए । मृतक बुढा, आमा यशोदा र सौतेनी बुवा योगी कोहलपुरमा भाडाको घरमा बस्दै आएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । यशोदाको माइती घर कैलाली हो । मृतक कुशलका बुवाको ७ वर्षअघि मृत्यु भएको थियो । बुवाको मृत्यु हुँदा कुशल डेढ वर्षको मात्रै थिए । श्रीमान बितेको तीन वर्षपछि यशोदाले दैलेख घर भई हाल कोहलपुरमा बस्दै आएका योगीसँग दोस्रो विवाह गरेकी थिइन् । उनीहरूबाट बच्चा जन्मेको छैन् । कुशल पनि उनीहरूसँगै बस्दै आएका थिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार यशोदा चिसापानीस्थित एक संस्था-कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्छिन् । यशोदा आबद्ध सेक्युरिटी गार्डसम्बन्धी काम गर्ने कम्पनीका अनुसार उनी वैशाख ९ गतेदेखि रात्री सिफ्टमा ड्युटी गरिरहेको देखिएको प्रहरीले जनाएको छ । कम्पनीका प्रतिनिधिको भनाइ उद्धृत गर्दै कोहलपुर प्रहरी स्रोतले भन्यो, ‘उनले छोरा हराइरहेको बारेमा कुनैपनि कुरा सहकर्मीहरूसँग भनेकी थिइनन् । उनमा त्यस्तो ठूलो बज्रपात परेको वा दुःखमा रहेको कुनैपनि कुरा देखिन्थेन । उनी नियमित ड्युटी गरिरहेकी थिइन् ।’

यशोदा त्यहाँ विगत ६–७ वर्षदेखि कार्यरत रहेको खुलेको छ । योगीले भने मजदुरी गर्ने गरेको देखिएको छ । प्रहरी निरीक्षक पौडेलले योगी डिभोर्सी पुरुष रहेकोसमेत जानकारी दिए । उनी पहिलाको श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर यशोदासँग विवाह गरेर सँगै बस्दै आएका थिए ।

‘विद्यालयसँग बुझ्दा उनी सरल र राम्रो विद्यार्थी थिए । उमेरले पनि सानै भएका कारण कसैसँग त्यस्तो रिसिइबी भएको जस्तो देखिदैन । आमाबुबा पनि सामान्य नै भएकाले अरुले नै छोराको हत्या गर्न सक्ने अवस्था देखिँदैन् । आमाबुवाको व्यवहार शंकास्पद देखिन्छ । हाम्रो शंकाको सुई उहाँहरूमाथि सोझिएको छ । दुवै जनालाई सोधपुछका लागि ल्याइएको छ । अनुसन्धानमै छौँ । अहिले नै धेरै कुरा भन्न सकिँदैन । अनुसन्धानको क्रममा थप तथ्य खुल्ला ।’ मिसन टुडेसँग कुराकानी गर्दै प्रहरी निरीक्षक पौडेलले भने । उनीहरूविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पालतीका अनुसार बैजनाथ–४ नौलापुरमा ९ वर्षीय बालकको शव फेला परेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनास्थल मुचुल्का उठाएर शव उठाएको उनले बताए । मृतक कुशल बुढाको शव अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको छ । शव पोष्टमार्टमको तयारी गरिरहेको डीएसपी पातलीको भनाइ छ । ‘घटना गम्भीर छ । शव अस्पतालमा ल्याइएको छ । पोस्टमार्टम हुन बाँकी छ । हामीले बुझ्दा विज्ञ डाक्टर नभएको भन्ने छ । छिट्टै पोस्टमार्टम हुन्छ । त्यसपछि धेरै कुरा खुल्ला,’ उनले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार