यात्रु अल्पत्र पार्ने ट्राभल्सलाई भएन कारबाही,संरक्षण गर्दै कैलाली प्रहरी



शेरबहादुर ऐर,कैलाली :
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्र पार्दासमेत सुरक्षा निकायहरुले कुनै कारबाही अघि बढाउन सकेको छैन् । प्रहरीले जाहेरी नआएको भन्दै सो टुर एण्ड ट्राभल्सलाई कारबाहीको दायरामा ल्याउनबाट पन्छिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्र पारेकोबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीमा टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्र पारेकोबारे जानकारी आएको छैन् । त्यही पनि म बुझ्छु ।’
उक्त ट्राभल्सले शनिबार धनगढीबाट बैंग्लोर पुराइदिने भन्दै बस भाडा असुल गरेर भारतको उत्तर प्रदेशस्थित पलियाबाट केही दुरीमा रहेको जंगल छेउमा रहेको क्यान्टिनमा यात्रुहरुलाई अलपत्र पारेको थियो । यात्रुहरुलाई त्यहीँ छोडेर सञ्चालक र बस चालक सम्पर्कविहीन बनेका थिए । आइतबार अलपत्र परेका यात्रुहरु बैंग्लौर नगई बस भाडामा लिई धनगढी फर्केका थिए । उनीहरुले सो टुर एण्ड ट्राभल्सको कार्यालय घेराउ गर्दै आफनो बस भाडा फिर्ता हुनुपर्ने र पलियाबाट धनगढी आउँदाको खर्चसहित गाँसको रकम पनि दिनुपर्ने माग गरेका थिए ।

प्रहरी सो टुर एण्ड ट्राभल्समा पुगेपनि अहिले प्रहरीका प्रवक्तासमेत रहेका बोहराले जानकारी नभएको भन्दै सो टुर एण्ड ट्राभल्सको संरक्षण गरेका छन् । प्रहरीको सम्पर्कमा नरहेको सो टुर एण्ड ट्राभल्सले सोमबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै आफनो बचाउ गरेको छ । सो टुर एण्ड ट्राभल्सले धनगढीदेखि बैंग्लौर तथा भारतका विभिन्न स्थानमा गुड्ने बसहरुले ट्राफिक नियमविपरीत काम गर्दै आएको आरोप लगाएको छ ।
‘केही महिना अघिमात्र स्थापना भएको दुर्गा भवानी ट्राभल्सले छोटो समयमा राम्रो सेवा र यात्रुहरूको विश्वास जित्न सफल भएको कुराले आज धेरैलाई असजिलो महसुस भएको देखिन्छ । हाल देखिएअनुसार, समितिका केही सदस्यहरू हाम्रो ट्राभल्सलाई बदनाम गराउने उद्देश्यले विभिन्न गतिविधिहरूमा सक्रिय देखिएका छन्’ ट्राभल्सले भनेको छ, ‘कहिले प्रहरी प्रशासन र आर.टि.ओ मार्फत गाडी समात्ने प्रयास, कहिले मिडियाका साथीहरूलाई पैसा दिएर हाम्रो गाडीमा आफ्नै समितिका मानिसहरू प्यासेन्जर बनाएर झूटो आरोप लगाउने जस्ता गतिविधि हुँदै आएका छन् ।’

ट्राभल्सले आफूले यात्रु अलपत्र पारेको विषयलाई पत्रकार, विभिन्न बस समितिलाई दोष देखाएर पन्छिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यो अवस्था देखेर हामीलाई दुःख लागेको छ । यदि तपाईंहरूको मार्केट यति कमजोर भएको हो भने हामीप्रति अनावश्यक षड्यन्त्र नगर्नुहोस् । तपाईंहरू (विभिन्न बस समितिहरु)ले चार हजार रुपैयाँसम्म भाडा उठाउँदा हामीले केवल दुई हजार पाँच सय रुपैयाँमा यात्रुहरुलाई सुरक्षित सेवा दिन थालेका थियौँ । त्यसैले हामीलाई किनबेच गर्ने अनेक प्रयास गरियो, तर स्पष्ट पार्न चाहन्छौंः हामी बिक्रीका लागि होइन, सस्तो र राम्रो सेवा दिने लक्ष्यका लागि आएका हौँ ।’
ट्राभल्सले आफूले यात्रुबाट दुई हजार पाँच सय रुपैयाँ लिने गरेकोबारे पनि गलत देखिन्छ । हामीले पलियामा अलपत्र परेका यात्रुहरुसँग टिकट मागेर हेर्दा कसैसँग तीन हजार एक सय त कसैसँग तीन हजार दुई सयका दरले भाडा असुल गरेको पाइएको थियो ।

सो टुर एण्ड ट्राभल्सले आफूलाई बचाउन अन्य बस समितिलाई गम्भीर आरोप लगाएको छ । भनिएको छ, ‘आज हाम्रो गाडीलाई प्रहरीले समात्ने, यात्रुहरूलाई समस्या पार्ने, मिडियामार्फत झूटो प्रचार गराउने सबै कार्यहरू योजनाबद्ध ढंगले गरिएका छन् । जबकि, तपाईँहरू पनि एउटै गाडीमा ७० देखि ९० यात्रु कोचेर लैजानुहुन्छ भन्ने प्रमाण र भिडिओहरू हामीसँग सुरक्षित छन् । कानुन अनुसार ३६ जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन्, तर तपाईँहरू आफैँ उल्लंघन गर्दै आउनुभएको छ । हाम्रो रेडी गाडी रोकिएपछि पनि, बुकिङ भएका यात्रुहरूलाई हामीले खाना खुवाएर सुरक्षित ढंगले व्यवस्थापन ग¥यौँ । हामी यात्रुहरूको सुविधामा सधैँ प्रतिबद्ध छौँ ।’

तर, अलपत्र यात्रुहरुले राती र बिहानसम्म खानाको व्यवस्थापन टुर एण्ड ट्राभल्सले नगरेको प्रतिक्रिया दिएका थिए । सो टुर एण्ड ट्राभल्सले आफूहरुबाट पनि कमजोरी भएको स्विकार गर्दै भनेको छ, ‘हामी स्वीकार गर्छौँ, केही कमजोरी हामीबाट पनि हुन सक्छ, तर यात्रुहरूलाई कम भाडामा सुविधा दिने प्रयासलाई गलत नियतले हेर्नु कदापि उचित छैन् ।’
शनिबार साँझ बझाङका विनोद जफेलले शनिबारको रात परिवारसहित पलिया सडकमा बसेको बताए । उनले भने, ‘हामीलाई टिकट बराबरको मूल्य, अलपत्र पार्दा भएको खर्चसहितको पैसा यो टुर एण्ड ट्राभल्सले दिनुपर्छ ।’ उनले ३१ सयका दरले चार जनाको टिकट १२ हजार चार सय खर्च गरेका थिए ।
बझाङका रुपेश भण्डारीले दुर्गा भवानी र गायत्री टुर एण्ड ट्राभल्सले टिकट काटेर गन्तव्यमा पुराउने बताएपनि पैसा लिएपछि पलियाको जंगलमा एकान्तमा झण्डै ७९ जना यात्रुहरुलाई अलपत्र पारेको बताए । उनले भने, ‘साँझ ७ बजे गौरिफण्टाबाट लग्यो । राति ९ बजे पलियाबाट १५ किलोमिटर अगाडि जंगलमा नाममात्रकै ढावा नजिक रोक्यो । सुरुमा आधा घण्टा ढिलो हुन्छ भन्यो । त्यसपछि एक घण्टा भन्यो । फेरी दुई घण्टा कुर्नुपर्ने भन्यो । हामीले ठिक छ भन्यौँ । रातिको ११ बज्यो । त्यसपछि पाँच मिनेट पर्खन भन्यो । हामीहरु आउँछौँ भन्यो । त्यसपछि सम्पर्कविहिन बन्यो । अहिले फोन गर्दा फोन नम्बर पनि कालोसूचिमा राखेको छ ।’
धनगढीदेखि बैंग्लौर जाने क्रममा सवारी साधनले पलियामा यात्रुलाई अलपत्र छोड्ने गरेका छन् । तर, जिल्ला प्रहरी कार्यालयले न त सञ्चालकलाई कारबाही गर्छ न त प्रशासनले अनुमतिबेगर चलेका टुर एण्ड ट्राभल्सको अनुगमन तथा नियमनमा ध्यान दिएको छ । कहिले बस व्यवसायी समितिको लापरबाही त कहिले टुर एण्ड ट्राभल्सको लापरबाहीले पनि नेपाली बस सेवा सञ्चालन गरेका कम्पनीहरुबाट नेपालीहरुनै दुःख पाउने गरेका छन् ।
भारतीय बसमा यात्रा गर्दा जोखिम मान्ने नेपालीहरु पछिल्लो समय नेपालीहरुबाट ठगी र सास्ती पाउनुपर्ने अवस्था रहेको छ । धनगढीमा भारतका विभिन्न स्थान मथुरा, हरिद्धार, जयपुर, भीलवाडा, नायद्धार, उदयपुर, खाटुश्याम, इन्दौर, झाँसी, अहमदावाद, गौरीफण्टा, पलिया, तिकुनिया, निघासन, बालाजी, सुरज, उज्जैन, वनारस, लखनउ, गोरखपुर आदि स्थानमा पुगाउने भन्दै टुर एण्ड ट्राभल्सहरु खोलिएका छन ।

तर, ती टुर एण्ड ट्राभल्सले आफ्नो गाडी राख्दैनन् । भाडामा लिएर नेपाली बोक्दा उनीहरुले अलपत्र पार्ने गरेका छन् । ती ट्राभल्सहरुले न त वडाबाट सिफारिस लिएका हुन्छन् । न त प्रशासनलाई जानकारी गराउने गर्छन् । न त तिनिहरुले व्यवसायी कर तिरेका हुन्छन् । यसरी टुर एण्ड ट्राभल्सको लापरबाही बढ्दै गएपनि सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, प्रहरीले यो विषयमा चासो दिन सकेको छैन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार