रमा पन्थी,हेटौडा : पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनको आयोजनामा जारी गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको मुख्य केन्द्र बनेको छ । चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा वाचन आरम्भ गरिएको महायज्ञमा हाल देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीजस्ता राष्ट्रिय वक्ताहरूको समेत सहभागिता रहनेछ । सोमबार भगवान कृष्णको जन्म उत्सव मनाउँदै देवी प्रतिभाले १०औं दिनको कथा वाचन सम्पन्न गरिन् । महायज्ञमा साधु–सन्त,भक्तजन,स्वयंसेवक,महिला समूह र बालबालिकासहित जनप्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको छ । गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको छ । महायज्ञको औपचारिक उद्घाटन वैशाख १७ गतेदेखि हुनेछ र जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञ प्रचारप्रसारको क्रममा वैशाख १६ गते बिहान ७ बजे शान्तिघाटबाट नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक हुँदै कार्यक्रम स्थलसम्म ११ हजार कलशसहित विशाल शोभा यात्रा आयोजना गरिने भएको छ। गंगाजलयुक्त ती कलश महायज्ञपश्चात किन्न समेत सकिने व्यवस्था गरिएको छ।समूहगत भेषभूषा र अनुशासनमा उत्कृष्टता देखाउने समूहलाई पुरस्कार प्रदान गरिनेछ। शोभा यात्रामा देशभरबाट सहभागिता अपेक्षित गरिएको छ।महायज्ञ अवधिभर श्रीमद्भागवत, रामकथा, शिवमहापुराण, हनुमत कथा र देवीभागवत कथाहरूको वाचन हुनेछ। साथै, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, कोटी दीप प्रज्वलनजस्ता विविध धार्मिक कार्यक्रम पनि सम्पन्न गरिनेछन्।श्रद्धालुहरूलाई हवन सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ। साथै, महायज्ञ अवधिभर सामाजिक सञ्जालमा छोटा भिडियो बनाउने सहभागीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने घोषणा गरिएको छ।राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवद्र्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणार्थ महायज्ञ आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस्