वीरेन्द्र जैसी,नेपालगन्ज :
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको स्वास्थ्य उपचारको रेफरल सेन्टर नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा अगलागीपछि भ्याक्सिन र प्रयोेगशालामा प्रयाग हुने रिएजेन्टको अभाव हुने भएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार अस्पतालाई स्वास्थ्य बीमाबाट बिरामीहरुलाई दिइएको औषधिको करिब १९ करोड रुपैयाँ भुक्तानी पाउन पाउन बाँकी छ । अर्काेतर्फ करिब १२ करोड रुपैयाँ औषधि खरिद्को उधारो बुझाउन बाँकी छ । अस्पतालको मेडिकल स्टोरमा आगलागी भएपछि करिब तीन करोड बढीको औषधि, रिएजेन्ट र महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएको,प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको सुवेदी बताउँछन् । जसका कारण प्रयोगशालाको सेवा प्रवाहमा पनि समस्यामा आइसकेको उनले बताए । नजलेका भ्याक्सिन र रिऐजेन्ट तापक्रमका कारण बिग्रेर प्रयोग गर्न नमिल्ने भइसकेका उनको भनाइ छ ।
अब तत्कालका लागि चाहिने औषधिको व्यवस्थाका लागि आपूर्तिकर्ताहरुसँग सहयोगका लागि आग्रह गरिरहेको सुवेदीले बताएका छन् । ‘हामीले अप्ठ्यारोमा सहयोग गर्नुहोस् भनेर आग्रह गरेका छौँ । उहाँहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले भने । सुवेदीका अनुसार मेडिकल स्टोरको बीमा समेत छैन ।
शनिबार बिहान अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा अस्पतातको ओपिडी सेवा नै प्रभावित भएको छ । अस्पतालको मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भई आगलागी भएको आशंका गरिएको छ । आगलागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएको अस्पतालले जनाएको छ ।
आगलागीबाट केही कोठाका फर्निचर जलेर नष्ट भएपनि महत्वपूर्ण कागजपत्रहरु भने जोगिएका सुवेदीले बताएका छन् ।आगलागीपछि भेरी अस्पतालको ओपीडी र ल्याब सेवा आइतबार बन्द भयो भने सोमबार पनि बन्द हुने छ । मंगलबारबाट भने ओपिडी सेवा सुरु गरिने सुवेदीको भनाइ छ ।
आगलागीको विवरण संकलनका लागि समिति गठन
भेरी अस्पतालमा शनिबार भएको आगलागीबाट भएको क्षतिको विवरण संकलनका लागि सम्बद्ध निकायका अधिकारीहरु संलग्न ७ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत, कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धिताल र समीर गुरु र भेरी अस्पतालका लेखा अधिकृत सहभागी रहेको समिति गठन गरिएको छ । उक्त समितिमा भेरी अस्पतालका नायव सुब्बा र मेडिकल स्टोर इन्चार्ज पनि समितिमा रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेलदीले जानकारी दिए । समितिले जतिसक्दो चाडो क्षतिको विवरण संकलन गर्ने र त्यसपछि उक्त विवरण माथिल्ला निकायम पठाई क्षतिबाट उत्पन्न असरलाई कम गर्न सहयोगका लागि आग्रह गरिने डा. सुवेदीले बताए ।









प्रतिक्रिया दिनुहोस्