शुभाकर विश्वकर्मा,कोहलपुर (बाँके)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्यामान समस्या समाधानका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित बृहत आम सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । राप्ती सोनारी र नरैनापुर क्षेत्रमा सबै भन्दा ठूलो समस्याको रुपमा रहेको तटबन्धन निर्माणको लागि आफूले संसदमा आवाज घन्काउने उनले बताएका थिए ।
‘यहाँको सबैभन्दा ठूलो समस्या तटबन्धनको समस्या रहेछ । मैले प्रत्यक्ष अवलोकन पनि गरे । पदाधिकारी र इन्जिनियरसमेत भेटे । यहाँको समस्या विकराल रहेछ’, अध्यक्ष प्रचण्डले भने । तटबन्धन निर्माण गरेर यहाँको जनधनको सुरक्षाको लागि ५० करोड बजेट आवश्यक रहेको जानकारी आफूले पाएको भन्दै उनले तटबन्ध निर्माणको लागि सदनदेखि सरकारसम्म आवाज बुलन्ध गर्ने बताए । अहिले सदन चलिरहेको भन्दै आफूले यो विषयमा संसदमा जोडदारका साथ उठाउनेपनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रचण्डका अनुसार अहिले तटबन्धको लागि सरकारले १५ करोड विनियोजन गरेको भएपनि बजेट प्रयाप्त छैन । तटबन्धनको कामलाई सरकारले चासो दिएन भने यहाँ धनजनको ठूलो क्षति हुने देखिएकोले आफू गम्भीर रुपमा लाग्ने उनको भनाइ थियो । ‘अब मेरो प्रमुख जिम्मेवारी यहाँको तटबन्धनको कामलाई छिटो सम्पन्न गर्न राज्य माथि दबाब सिर्जना गर्ने र सदनमा आवाज घन्काउने र तपाईहरुलाई सहयोग गर्ने मेरो मुख्य काम हुनेछ’, उनले भनेका थिए ।
तटबन्धन निर्माणका लागि भारत सरकारले १० अरब दिने घोषणा गरेपनि अहिलेसम्म नदिएको भन्दै नेपाल सरकारले यस विषयमा छिटो भन्दा छिटो पहलकदमी लिनुपर्ने उनले बताए । ‘भारतले १० अरब दिने भनेको रहेछ । दिएको रहेनछ । अहिलेसम्म त्यो काम किन भएन । सरकारले सोध्नुपर्छ । नभए यहाँका नागरिकको सुरक्षाका लागि सरकारले अग्रसर हुनुको विकल्प छैन,’ आम सभामा बोल्दै उनले भनेका थिए । ।
राप्ती सोनारीको अर्को प्रमुख समस्याका रुपमा रहेको भूमिहीन दलित,भूमिहीन सुकम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि आयोगसँग सहकार्य गरिने उनले बताए । आफू प्रधानमन्त्री भएको बेला ५ हजार जनालाई लालपुर्जा वितरण गरेको भन्दै अहिलेको सरकारले काम गर्न नसकेको उनले बताए । यस्तै राप्ती सोनारीका जनताले भोगेको वन सम्बन्धिको समस्या समाधानको लागि वन ऐन संशोधन गरेरै भएपनि नागरिकका समस्या समाधान गर्न राज्यले अग्रसरता लिनुपर्ने प्रचण्डको भनाइ थियो । उनले भने,‘वनसँग रहेको जटिल समस्याका कारण यहाँका नागरिकले सास्ती भोगेका रहेछन् । वन सम्बन्धि ऐन संशोधन गरेरै भएपनि यहाँका नागरिकका माग सम्बोधन गर्नुपर्छ ।
प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले मैले गर्ने कामको लागि म सधै तत्पर रहनेछु’ । यसैगरी अव्यवस्थित बसोबासको समस्या समाधान गरेर व्यवस्थित विकास र सहरीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक रहेको प्रचण्डले बताए । आफू पहिलोपटक राप्ती सोनारीमा आएपछि राप्ती सोनारीको समस्या र विकासका बारेमा जानकार रहेको उनको भनाइ थियो । यहाँका साथीहरुले मलाई रिपोटिङ गरिरहनु भएको थियो । म यहाँ नआएपछि राप्ती सोनारीको विकास र आवश्यकताका बारेमा जानकार थिए । म यहाँ आए । सबैसँग प्रत्यक्ष भेटघाट भयो । म यहाँबाट गएपछि राप्ती सोनारीको विकासको लागि जोडदार रुपमा लाग्नेछु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्