दिनहु पीडित एरीचोक घेरेको घेरेई, प्रहरी र प्रशासन हेरेको रेहेई



नन्दराम जैशी,सुर्खेत :
गाडीको ठक्करबाट जुम्ला हिमा गाउँपालिका–४ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हप्ता दिन बित्यो । तर आफन्तले अझै शव बुझेका छैनन् ।
मृतकका परिवार तथा आफन्तहरूले उचित क्षतिपूर्तिसहित सवारी चालकलाई हदैसम्मको सजायको माग गर्दै आन्दोलन जारी राखेका छन् । उनीहरुले हरेक दिन वीरेन्द्रनगरको एरीचोक घेराउ गर्दै सडकमा टायर बालेर सवारी आउजाउ ठप्प पार्दै आएका छन् । जसले गर्दा कर्णाली राजमार्ग हुदै आउजाउ गर्ने सवारी र यात्रुलाई सकस परेको छ ।

यो सिजन मुगुको राराताल घुम्ने उपयुक्त समय भएकाले रारा जाने यात्रुलाई समेत सकस परेको छ । सुर्खेत र जुम्लाको नाग्म–गमगडी सडक खण्ड ठप्प पार्दै आफन्तले दैनिक आन्दोलन गर्दै आएका छन् । शनिबार रारा ताल जान सुर्खेत पुगेका पोखरा महानगरपालिका–१३ का प्रेम शाही पनि एरीचोक पुगेर प्रहरीलाई सोधपुछ गर्दै फर्किएका थिए । प्रहरीको सल्लाहपछि उनले कपासे हुदै माथिल्लो रुटबाट राराको यात्रा तय गरे । तर जुम्लाको आन्दोलनले उनलाई अघि बढ्न थप सकस पर्नेछ ।

एकातिर यो दुर्घटनाले पीडित पक्ष आन्दोलन गर्दै एरीचोक घेरेको घेरेई छन् । भने अर्कोतिर न्याय सहित शान्ति सुरक्षाको व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्याल सुर्खेत यो अवस्था हेरेको हेरेई छ । छलफलको माध्ययमबाट पीडितलाई सहमतिमा ल्याउने गरी प्रशासनले वातावरण तय नगर्दा यो घटनापछिको नियमित आन्दोलनले आम नागरिकलाई दुःख दिएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले यसबारे समन्वय भइरहेको भन्दै पीडितले कानुनले तोके बमोजिम क्षतिपूर्ति पाउने उल्लेख गरे । ‘आन्दोलन शान्तिपूर्ण नै छ । यसबाट आम नागरिकले खासै पीडा पाएको जस्तो त लागने’ उनले भने, ‘यातायात व्यवसायी कानुनले तोके बमोजिम क्षतिपूर्ति दिन तयार नै होलान् । पीडितले उक्त क्षतिपूर्ति लिएर आन्दोलन नगर्दा राम्रो ।’

मृतक बुढालाई ठक्कर दिएको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडी मध्यपश्चिम यातायात प्रा.लि.को हो । यता मध्यपश्चिम यातायात प्रा.लिले पनि कानुनले तोके बमोेजिम नै क्षतिपूर्ति दिने जनाएको छ । अन्यथा पीडितको माग अनुसार क्षतिपूर्ति दिन नसकिने प्रा.लिको दाबी छ ।

यस्तो छ,घटना प्रकरण र आफन्तको माग
उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । पटक–पटक वार्ता भए पनि कुरा नमिलेपछि हरेक दिन बिहानैदेखि वीरेन्द्रनगरको एरीचोक क्षेत्र ठप्प पार्ने गरिएको छ ।
शनिबारसम्म शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका आफन्तहरुले माग सम्बोधन नभए सोमबारदेखि कडा आन्दोन गर्ने चेतावनी दिएका छन् । आन्दोलन क्षेत्रमा ठुलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।कर्णाली राजमार्ग अन्तर्गत एरीचोक क्षेत्रमा सवारी आउजाउ बन्द गरिएपछि आन्तरिक तथा बाह्य यातायातका साधान प्रदेश अस्पताल–रातोपुलको रुटबाट आउजाउ गर्न बाध्य छन् । आन्दोलन संघर्ष समितिका संयोजक छत्रबहादुर शाहीले आफन्तको तर्फबाट २ वटा माग मात्र रहेको जानकारी दिए ।

उनीहरुले यो घटना नभई हत्या भएको दाबी गरेका छन् । त्यसैले हत्यारालाई कारबाही गरिनुपर्ने पहिलो माग छ । भने उचित क्षतिपूर्ति दोस्रो माग राखेका छन् । उक्त विषयमा मंगलबार र बुधबार जिल्ला प्रहरी कार्यालयमा छलफल पनि भयो । तर गाडी व्यवसायीका तर्फबाट कानुनले तोके बाहेक क्षतिपूर्ति दिन नसकिने बताएपछि आन्दोलन नरोकिएको हो ।आन्दोलन संघर्ष समितिका संयोजक शाहीका अनुसार मृतक बुढा बैशाख ७ गते बिहान ६ः३० बजे जुम्ला जानका लागि चोकमा निस्किएका थिए । विपरीत दिशाबाट आएको उक्त गाडीले कर्णाली राजमार्ग अन्तर्गत रेडियो नेपाल नजिकै बुढालाई ठक्कर दिएको थियो । ठक्कर दिँदा बुढा केही दुरी टाढा उछिट्टिएका थिए ।

‘त्यो बेला अस्पतालमा उपचारका क्रममा मृत्यु भनिए पनि घटनास्थलमै उहाँको मृत्यु भएको हो’ शाहीले भने, ‘प्रहरी, प्रशासनले हामीलाई झुक्याउन अस्पतालमा मरेको भनियो । त्यो होइन । उहाँको घटनास्थलमै गाडीले ठक्कर दिएर हत्या गरिएको हो ।’शाहीले अझैपनि गाडी मालिक सम्पर्कमा नआएको बताए । तर गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामी मगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार समितिवालाको तर्फबाट कानुन बमोजिम पाउने क्षतिपूर्तिबारे प्रहरीले समन्वय गरिरहेको छ । तर मृकतका आफन्तले थप क्षतिपूर्ति माग्दा कुरा नमिलेको हो ।
यता आन्दोलन संघर्ष समितिका संयोजक शाही पीडित परिवारको माग बमोजिम क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्छन् । मध्यपश्चिम यातायात प्रा.लि.को दादागिरी अन्त्य गर्न र यस्ता घटना फेरी नदोहोरियोस् भन्नका लागि आन्दोलन गर्नुपरेको उनको भनाइ छ । समितिले अटेर गरेमा मध्यपश्चिम यातायात प्रा.लि.का सवारी साधनहरूलाई जुम्लामा प्रवेश निषेध गरिने आन्दोलनरत समूहले चेतावनी दिएको छ ।

उक्त घटनालाई लिएर राजनीतिकरण गर्न खोजेको पनि आरोप लागेको छ । जुम्लाबाट प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेताहरूले विज्ञप्ति निकालेर घटनाबारे आफ्ना धारणा राखेका छन् । कांग्रेस प्रदेश कमिटीका सभापति ललितजंग शाहीले न्यायका लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सत्ता र शक्तिको प्रयोग गरेर पीडितलाई न्याय दिने कता हो कता उल्टै धरपकड गरेको बताएका छन् ।

पीडितका आफन्तजनहरूलाई थप मानिसक यातना दिने जस्ता अत्यन्तै निन्दनीय कार्य र गैरजिम्मेवार शैली प्रयोग भएको उनको भनाइ छ । भने प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही र प्रदेश सभा सदस्य टेकराज पछाईंले पनि पीडितको पक्षमा विज्ञप्ति जारी गरेका छन् । यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले पनि विज्ञप्ति निकालेर पीडित परिवारले उचित क्षतिपूर्ति दिनुपर्ने तर्क पेस गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार