कोहलपुर : नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ हो,नेपालगन्ज । नेपालगन्जको उत्तर दिसामा पर्छ कोहलपुर नगरपालिका । तीन प्रदेशको ट्रान्जिट कोहलपुर बाँकेको उदाउँदो सहरसमेत हो । कोहलपुरमा नेपालगन्जको तुलनामा कमै गर्मी हुन्छ । जिल्लाका अन्य पालिकाको तुलनामा भने कोहलपुरमा बढी गर्मी हुने गर्दछ । पछिल्लो समय गर्मी दिनानुदिन बढ्दो क्रममा छ । उखरमाउलो गर्मीले यहाँको जनजीवन नै प्रभावित हुने गर्दछ । गर्मीका कारण नागरिकको दैनिकीसमेत कष्टकर बन्दै जान थालेको छ । १ लाख जनसंख्या रहेको कोहलपुरमा मानिसहरुको चापसमेत उच्च छ । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मानिसहरु गर्मीमा दिनभर बाहिर हिडिरहेको देख्न सकिन्छ । तुलनात्मक रुपमा विहान र साँझको समयमा भन्दा दिउँसो मानिसहरुको आवतजावत कम हुने गर्दछ ।
तर,पछिल्लो समय कोहलपुर नगरपालिकाले फुटपातमा निर्माण गरेका चौतारी मानिसहरु बिसौनी बनेका छन् । ती चौतारीमा भलाकुसारी गरिरहेका,थकान मेटाइरहेका त साथीसंगी रमाइलो गरिरहेको देख्न सकिन्छ । चौतारीको देउमै बसेर जुत्ता सिलाउनेदेखि माटोमा आइसक्रिम बेचेर जिविकोपार्जन गर्नेहरुको लागि राहत बनेका छन्,ती चौतारीहरु । विशेषगरी एनटीभी रोडदेखि चौराहा क्षेत्रमा निर्माण गरिएको चौताराहरु बहुउपयोगी देखिन्छन् ।
पडाहबाट तराईमा झरेका देखि बाटोमा हिड्ने बटुवाहरुलाई शीतलता प्रदान गरिरहेका छन्,चौतारीहरुले । दिनमा गर्मी हुन्छ । शीतल छहरीमा ओत लाग्ने उपयुक्त ठाउँ बनेका छन् । दिनभरको थकान मेट्न सहायक सिद्ध भएका छन्,बिरुवमा जडान गरेका झिलिमिली बत्ती । यसैगरी एक साँझ टिकटक बनाउनेहरुको भिडमा भेटिए,सुरज थापा । उनी विद्यार्थी हुन् । नगरपालिकाले निर्माण गरेका विभिन्न कलरका दर्जनौँ चौतारीहरुले धेरैलाई राहत मिलेको थापा बताउँछन् ।
विशेषगरी साँझको समयमा चौतारीहरुमा शीतल छायामा बस्नेहरुको भिड नै लाग्ने गरेको छ । प्रचण्ड गर्मीमा बिरुवाको शीतलता र चौतारीमा आरामसाथ बस्न पाउँदा खुसी लागेको उनी बताउँछन् । अत्याधिक गर्मीले दिउँसोको समयमा सहरी क्षेत्र सुनसान हुन्छ । आइसक्रिम व्यापारी रन्नबहादुर रावत दिउँसोको समयमा भन्दा साँझको समयमा बढी व्यापार हुने बताउँछन् । आफू विहान र साँझको समयमा बजारमा निस्कने गरेको उनले बताए । ‘हामी दुःख गरेर जिविकोपार्जन गरिरहेका छौँ ।यहीँ कमाइ केही साहुलाई दिनुपर्छ । बाँकी आफूले राख्ने हो । चौतारीमा रातीको समयमा रमाउने धेरै आउँछन् । त्यसैले उक्त समयमा राम्रै कमाइ हुन्छ,’मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । चौतारीमा बसेर फोटो,टिकटक र भिडियो बनाउन आउनेको भिडले व्यापार राम्रो हुने गरेको रावतले सुनाए । जसको कारण धेरैलाई फुटपातले आरामदायी र रोजगार मिलेको उनले बताए ।
फुटपातमा जडान भएका बत्ती र मानिसहरुको भिडले व्यापार केही मात्रमा बढेको उनी बताउँछन् । प्रचण्ड गर्मीका कारण अत्यावश्यक कामबाहेक अन्य अवस्थामा स्थानीयहरू घर बाहिर निस्किन सकेका छैनन् । जसको कारण प्रयाःदिउसोको समय बजार सुनसान हुने गर्छ ।
अत्यधिक गर्मीका कारण,बालबालिका,अस्पतालका बिरामी, दीर्घरोगी, विद्यार्थीहरू बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारी काम गर्ने श्रमिक पनि गर्मीको मारमा परेका छन् । यतिमात्रै होइन कोहलपुरमा पछिल्लो समयमा नगरपालिकाले निर्माण गरेका विभिन्न चोकमा फोटो खिचाएरसमेत मनग्य आम्दानी गर्नेहरु धेरै छन् ।
प्रतिक्रिया दिनुहोस्