डुडुवा : बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि डुडुवालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेका हुन् । घोषणा सभामा बोल्दै अध्यक्ष चौधरीले डुडुवाका बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्नुपर्छ ।‘स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेको छ ।
स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिइएको छ । कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुनेमा हामी सचेत छौँ।’ अध्यक्ष चौधरीले भने । डुडुवाले अब छिट्टै ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी गरिरहेको उनले बताए ।
डुडुवा गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका एक हजार दुई सय ६ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएको स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्माले बताए । पालिकामा रहेका सतप्रतिशत बालबालिकाले पूर्ण खोप लगाएपछि घोषणा गरिएको उनको भनाइ थियो ।
स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार पुर्ण खोप सुनिश्चिताका लागि गरिएको घरधुरी सर्भेक्षणमा १६ महिनादेखि २३ महिनाका तीन हजार २ सय १५ जनाले समेत सबै खोप लगाएको पाइएको छ । जिल्ला खोप समन्वय समितिले डुडुवालाई पुर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्र्तगत यसवर्ष पनि घोषणा गरिएको हो ।
प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्