कोहलपुर :बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ । कोहलपुर नगरपालकिा वडा नम्बर ११ स्थित गन्धर्व टोलका १० जना बादी तथा गन्धर्व समुदायका महिलाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बुधबारदेखि डेढ महिने सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले तालिमको उद्घाटन गर्दै पिछडिएका वर्ग र समुदायका महिलाहरुलाई स्वरोजगार बनाउने तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद प्रदान गरिन् । उनले सहभागी बादी तथा गन्धर्व समुदायका महिलाहरुलाई डेढ महिनासम्म राम्रोसँग तालिम सिकेर त्यसलाई व्यवहारमा उतार्न आग्रहसमेत गरिन् ।
‘तालिममा सीप सिकेर मात्र हुँदैन्, डेढ महिना भनेको लामो समय हो सिक्नका लागि, तालिम राम्रोसँग सिक्नुहोस्, हातमा सीप भएपछि घरपरिवाका पुरुष सदस्यहरुको मुख ताक्नु पर्दैन ।’ उनले भनिन्, ‘सीप सिकेर सदुपयोग गर्नुपर्छ, पसलनै सञ्चालन गर्नुपर्छ भन्ने छैन्, घरमै मेसिन राखेर पनि काम खोजेर गर्न सकिन्छ, आम्दानी लिन सकिन्छ, आत्मनिर्भर बन्न सकिन्छ, आफ्नो र घरखर्च चलाउनका लागि घरका श्रीमानहरुको मुख ताकेर बस्नुपर्दैन्, यो राम्रो अवसर हो, यसको भरपूर सदुपयोग गर्नुहोस् ।’
कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख सङ्गीता सुवेदीले नगरभित्र बसोबास गर्ने पिछडिएका वर्ग, जाति, क्षेत्र तथा समुदायको उत्थानका लागि नगरपालिकाले हरेक वर्ष आत्मनिर्भर बनाउनका लागि तालिम प्रदान गर्दै आएको बताइन् । उनले तालिममा सहभागी भएर सामग्री प्राप्त मात्र गर्ने उद्देश्यले नभएर साँच्चिकै स्वरोजगार बन्नुपर्छ भन्ने सोचका साथ तालिम लिन र सीप सिकेपछि अनिवार्य आत्मनिर्भर बन्न सक्ुनपर्ने बताइन् ।
‘यसअघि पनि नगरपालिकाले बादी तथा गन्धर्व समुदायका दिदीबहिनीहरुको उत्थानका लागि विभन्न तालिमहरु प्रदान गर्दै आएको छ, तालिम अवधिभर सहभागी भइदिने त्यसपछि आत्मनिर्भर तथा स्वरोजगार बन्न नसकेको देखियो, तालिम लिएपछि त्यो सीपलाई प्रयोग गर्नुपर्छ ।’ काबा नगरप्रमुख सुवेदीले भनिन्, ‘नगरपालिकाले लगानी लगाए अनुसार प्रतिफल दिनुपर्छ, लक्षित वर्गका लागि गरेको खर्चको उपयोग भयो भने मात्र हामीलाई खुसी मिल्छ, थप बजेट व्यवस्थापन गर्न हौसला प्रदान हुन्छ ।’
तालिम लिएर मात्र नहुने भन्दै उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरिन् । आर्थिक रुपमा सशक्त हुन र स्वरोजगार बन्न तथा आत्मनिर्भर बन्नका लागि यस्ता तालिम अत्यन्तै महत्वपूर्ण हुने भन्दै उनले तालिममा नियमित सहभागिता जनाएर निरन्तरता दिनुपर्ने र आयआर्जनमा जोडिनुपर्ने बताइन् ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख इश्वरीप्रसाद विकले पछाडि पारिएका तथा अल्पसंख्यक समुदायका बादी तथा गन्धर्व महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम सञ्चालन गरिएको बताए । उनले मागेर तथा घुमेर खाने परम्परागत चलनलाई छाडेर आफूहरु आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै तालिम महत्वपूर्ण रहेको बताए ।
कोहलपुर नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले नगरपालिकाले दुई लाखको बजेट व्यवस्थापन गरेर बादी तथा गन्धर्व समुदायका महिलाहरुका लागि डेढ महिने सिलाइकटाइ तालिम सुरु गरिएको बताइन् । उनले सहभागीहरुलाई आवश्यक खुट्टे सिलाइ मेसिन, आवश्यक कपडा, कैँची, फित्ता लगायतका सम्पूर्ण आवश्यक सामग्रीहरु निःशुल्क उपलब्ध गराइएको जानकारी दिइन् । उनका अनुसार तालिमपश्चात् सम्पूर्ण सहभागीहरुलाई उक्त सिलाइ मेसिन निःशुल्क प्रदान गरिनेछ ।
तालिमको प्रशिक्षकमा रत्ना सार्की रहेको नगरपालिकाले जानकारी दिएको छ । नगरभित्रका विभिन्न वडाहरुमा बसोबास गर्ने पिछडिएका वर्ग, जाति, समुदाय लगायतको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्