लुम्बिनी प्रदेशमै पहिलोपटक भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सुरु



गजेन्द्र गुरुङ,नेपालगन्ज (बाँके) :  लुम्बिनी प्रदेशमै पहिलोपटक नेपालगन्जस्थित भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिए ।

मेसु सुवेदीका अनुसार मंगलबार पहिलो दिन दुई जना बिरामीलाई मृगौला सफलरुपमा प्रत्यारोपण गरिएको छ । यो सेवासँगै भेरी अस्पताल लुम्बिनी प्रदेशमै पहिलो मानव अङ्ग प्रत्यारोपणको सेवा दिने अस्पताल बनेको उनले बताए । ‘मङ्गलबारबाट भेरी अस्पतालमा पहिलोपटक मानव अंग (मृगौला) प्रत्यारोपण सेवा सुरु भएको छ । यो सेवा लुम्बिनी प्रदेशमै पहिलो हो, मंगलबार सुरुको दिन दुई जना मृगौलाका बिरामीमा सफलरुपमा मृगौला प्रत्यारोपण गरिएको छ ।’ मेसु सुवेदीले भने, ‘मानव अंग प्रत्यारोपण केन्द्रबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टोलीसहित भेरी अस्पतालका मृगौला रोग विशेषज्ञ सर्जन डा. दीपेश गुप्ता र युरो सर्जन डा.अञ्जित फुयाँलसहितको विशेषज्ञ चिकित्सकको टिमले मृगौला प्रत्यारोपण गरेको छ ।’

त्यसैगरी नेफ्रोलोजीतर्फ डा.सौरभ हमाल र डा.पारस श्रेष्ठसहितको कार्डियोलोजिष्ट, रेडियोलोजिष्ट जस्ता विशेषज्ञ चिकित्सकको आवश्यक जनशक्ति पनि साथमै रहेको उनले बताए । उनका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रबाट डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्व १४÷१५ जना विशेषज्ञ चिकित्सकको टोली नेपालगन्ज आएको हो । मानव अंग प्रत्यारोपणका लागि अस्पताललाई स्वास्थ्य सेवा विभागले गत चैत २८ गते अंग प्रत्यारोपण समन्वय समितिको बैठक बसेर सहमति दिने निर्णय गरेको र वैशाख ५ गते सहमतिको पत्र अस्पतालमा प्राप्त भएको उनले जानकारी दिए । त्यसअघि केन्द्रबाट एउटा टोली भेरी अस्पताल आएर स्थलगत अनुगमन, अवलोकन तथा निरीक्षण गरेर काठमाडौँ फर्किएको थियो ।


सुरुको दिनमा मंगलबार दुई जना बिरामीलाई मृगौला प्रत्यारोपण गरेपनि अबदेखि हरेक महिनामा एक जनामा मृगौला प्रत्यारोपण गर्ने योजना बनाइएको अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.संकेत रिसालले जानकारी दिए । उनले केही समयसम्म मानव अंग प्रत्यारोपण केन्द्रले सहयोग गर्ने र त्यसपछि अस्पतालकै टिमले काम गर्ने योजना रहेको बताए ।

मृगौला प्रत्यारोपणका लागि अस्पतालमा नयाँ अपरेशन थिएटर तयार गरिएको पनि उनले बताए । यसका साथै मृगौला ग्रहण गर्ने र दिने दुवै व्यक्तिका लागि छुट्टै क्याबिन पनि तयार गरिएको उनले जानकारी दिए । सूचना अधिकारी रिसालका अनुसार एकैपटकमा दुई जना बिरामीलाई मृगौला प्रत्यारोपण गर्न मिल्ने गरी चार शैयाको आइसियु वार्ड सञ्चालन गरिएको छ । दुई शैया बिरामीका लागि र दुई शैया मृगौला दाताका लागि गरी चारवटा आइसीयू बेडसहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।

मंगलबार पहिलो दिन बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका २ महोत्तरीका ४० वर्षीय पुरुषलाई सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको अस्पतालका मेसु डा.सुवेदीले जानकारी दिए । उनका अनुसार दुवै जना बिरामीलाई उनीहरुका श्रीमतीले मृगौला दान गरेका थिए । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एक जना बिरामीले काठमाडौँमा डायलाइसिस गराउँदै आएको उनले जानकारी दिए ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि अस्पतालका एक जना फिजिसियिन चिकित्सक (डाक्टर)को संयोजकत्वमा चार सदस्यीय मानव अंग प्रत्यारोपण स्वीकृति समिति गठन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अस्पतालका तर्फबाट एक जना कानुनी सल्लाहकार (वकिल), जिल्ला प्रशासन कार्यालयका तर्फबाट एक जना अधिकृत स्तरको कर्मचारी र अस्पतालका तर्फबाट एक जना अधिकृत स्तरको कर्मचारी उक्त समितिमा रहेका छन् । यो समितिले सिफारिस गरेमात्र मृगौला प्रत्यारोपण हुने बताइएको छ ।

विशिष्टिकृत सेवामा फड्को मार्दै भेरी अस्पताल 
नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ ।
अस्पताल स्थापना भएको १३४ वर्ष पुगिसक्दा अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिरहेको हो । अस्पतालले वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अंग (मृगौला) प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । मृगौला प्रत्यारोपण सेवा सुरु भएसँगै यस क्षेत्रका मृगौला रोगका बिरामीहरु धेरै खर्च गरेर काठमाडौँ तथा भारततिर धाउन नपर्ने भएको छ ।

‘हामी आम नागरिकलाई गुणस्तरीय र विशिष्टकृत स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर गम्भीर छौँ, हाम्रो सम्पूर्ण शक्ति आम नागरिकले सहज र सरल रुपमा सम्पूर्ण स्वास्थ्य सेवा पाउनुपर्छ भनेर चिन्तित छौँ ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भने, ‘आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नयाँ नयाँ सेवाहरु थप गर्दै लगेका छौँ, वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेका छौँ, अब यस क्षेत्रका मृगौला रोगीले धेरै रकम खर्च गरेर काठमाडौँ या भारततिर धाउन पर्दैन ।’
मेसु सुवेदीका अनुसार अस्पतालमा सेवाहरु थप गर्ने क्रम जारी छ । ‘हामीले विशिष्टिकृत सेवाहरु थप गर्दै जाने योजनाअनुसार काम गरिरहेका छौँ, केही समयअघि मात्र सिकलसेल एनिमिया बिरामीहरुको उपचारका लागि ६ शैयाको सिकलसेल डे केयर वार्ड र १० शैयाको सिकलसेल वार्ड सञ्चालन गरेर सेवा प्रदान गरेका छौँ ।’ मेसु सुवेदीले भने, ‘पहिला अस्पतालमा जलन उपचार कक्ष थिएन, जलन भएका बिरामीहरुलाई लक्षित गरेर ६ शैयाको जलन कक्ष (वर्न वार्ड)समेत सञ्चालन गरेका छौँ ।’
त्यसैगरी यसअघि सर्जिकल विङ्ग अन्तर्गत १९ शैया सञ्चालन हुँदै आएकोमा केही समय पहिलेबाट १२ शैया थपेर ३१ शैया पु¥याइएको मेसु सुवेदीले जानकारी दिए । उनका अनुसार इएनटी र युरोलोजी विभागमा १० शैया, सर्जिकलतर्फ १५ शैया र जलनलाई ६ शैया गरी सञ्चालनमा ल्याइएको हो । पोष्ट अप्रेटिभ वार्डतर्फ दुई शैया थपिएको छ भने अर्थोपेडिक्स विभागका लागि आठ र जनरल पोष्ट अप्रेटिभ विभागका लागि आठ गरी सञ्चालनमा ल्याइएको छ ।
उनले यसअघि आइसियु वार्ड १० शैयाको एकै ठाउँमा सञ्चालन रहेकोमा हाल दुई वटा शैया थपेर १२ शैयाको पु¥याइएको बताए।

‘पहिला एकै ठाउँमा १० शैयाको आइसियु वार्ड सञ्चालन थियो, त्यसमा दुई वटा शैया थप गरेर १२ पु¥यायौँ र त्यसलाई ६ शैया सर्जिकल आइसियु वार्ड र ६ शैया मेडिकल आइसियु वार्ड छुट्टाछुट्टै सञ्चालनमा ल्याएका छौँ ।’ मेसु सुवेदीले भने । त्यसैगरी स्त्रीरोग विभागमा पोष्ट अप्रेटिभ वार्डमा ६ शैया मात्रै रहेकोमा पछिल्लो समय थप ६ शैया थपेर १२ शैया बनाएर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार जनरल वार्डतर्फ १२ शैया व्यवस्थापन गरिएको छ । मेसु सुवेदी भेरी अस्पतालमा सरुवा भएर आएको सात महिनामात्र पुगेको छ ।
भेरी अस्पतालमा यसअघि मुटु उपचार, डायलाइसिस, ग्याष्ट्रो सर्जरी, न्युरो सर्जरी, युरो सर्जरी लगायतका विशिष्टकृत सेवासँगै अन्य गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा भारतका विभिन्न स्थानबाट समेत दैनिक रुपमा एक हजारभन्दा बढी सेवाग्राही अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार