मेरुदण्डको ट्युमरले थलिए कोहलपुरका फिरोज



शुभाकर विश्वकर्मा,कोहलपुर ‐बाँके) : बाँकेको कोहलपुरका एकजना युवा मेरुदण्डको ट्युमरका कारण बिरामी भएर थलिएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २६ वर्षीय फिरोज बक्स मेरुदण्डको ट्युमरका कारण बिरामी भएपछि थलिएका हुन् ।
बक्स मदनचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए । बक्सले भने, ‘सुरूमा खुट्टा दुख्ने, वान्ता हुने र शरीर झम्झमाउने समस्या थियो । के भयो भनेर चेकजाँच गराउँदा ढाडमा मासु पलाए जस्तो देखियो । त्यो बिस्तारै बढ्न थाल्यो । पछि ट्युमर भएको थाहा भयो ।’ उनी आफू विगत ३–४ वर्षदेखि जटिल प्रकारको ट्युमरबाट पीडित रहेका बताउँछन् । उनका अनुसार आज भन्दा ४ वर्षअघिसम्म उनलाई कुनैपनि किसिमको समस्या थिएन । सुरुमा आफूलाई एक्कासि खुट्टा दुख्न सुरु भएको फिरोज बताउँछन् । बिस्तारै पछाडि पट्टीको भागमा कम्मरभन्दा माथि अलिअलि मासु देखिन थालेको उनले बताए । उनी भन्छन्, ‘के भयो यस्तो भनेर चेक गराउँदा यस्तो समस्या देखियो । रिपोर्टमा ट्युमर भएको देखायो ।’

यस्तो समस्या देखिएपछि फिरोजलाई उनको परिवारले चेकजाँचको लागि नेपालगन्ज लगेको थियो । त्यहाँ राम्रो उपचार हुन सकेन । त्यसपछि आफू भरतपुर क्यान्सर अस्पताल गएको उनको भनाइ छ । त्यसपछि काठमाडौँ र त्यसपछि भारतको राजधानी दिल्लीदेखि, मुम्बई र लखनउसम्म उपचारको लागि पुगेको फिरोजले जानकारी दिए । त्यो खाले लक्षण देखिने बित्तिकै उनी बाँके जिल्लाका नामी डाक्टरहरु कहाँ गए । त्यो रोग निदान हुन सकेन । पछि चिकित्सकहरुले कि काठमाडौँस्थित ग्राण्डी अस्पताल वा दिल्ली जान सुझाव दिए । ग्राण्डी जाँदा आफूलाई मेरुदण्डको ट्युमर भएको पत्ता लागेको उनको भनाइ छ ।
नेपाल र भारतमा उपचार गराउँदा गराउँदै अहिले ३० लाख रुपैयाँभन्दा बढी खर्च लागेको उनले बताए । विगत ४ वर्षदेखि आफन्तसँग ऋण सापटी लिएर, आमा र श्रीमतीको गहनासमेत बेचेर उपचार गरिरहेका छन् । जति उपचार गर्दापनि रोग निर्मूल हुन सकेको छैन् । ट्युमर झन बढिरहेको छ । ट्युमर दिनप्रतिदिन फैलदो क्रममा छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । रोगकै कारण शरीरमा रगतको मात्रा कम हुनुका साथै शरीरका अन्य भागमा समेत ट्युमर फैलिदो क्रममा रहेका कारण आफूलाई हिँड्डुल गर्न, उठ्न बस्न र खानसमेत समस्या रहेको फिरोजले बताए ।


फिरोजकी आमा जमिला खातुन आफ्नो छोरालाई जटिल बिरामी लागेको बतउँछिन् । फिरोज बिरामी भएदेखि आफ्नो क्षमताले सकेसम्म उपचार गराएको उनले बताइन् । ‘छोराको उपचारका लागि बैंकबाट लोन निकालेँ । आफूसँग भएको जायजेथा बेचँे । मेरो र बुहारीको सुनसमेत बेचेर उपचार गराएँ । अहिले धान्नै नसक्ने अवस्था आएपछि छोराको उपचारका लागि सहयोग मागेकी छु,’ जमिलाले भक्कानिँदै भनिन् । जति पैसा खर्च हुन्छ, बिमार घट्ला भन्यो झन झन बढेका कारण थप उपचारमा समस्या भएको उनको भनाइ छ । छोराको उपचारका लागि कुनैपनि विकल्प बाँकी नरहेपछि आफू मिडियामा आएको उनले बताइन् । ‘छोरा भर्खर २६ वर्षको भयो । उसको डेढ वर्षको छोरा छ । श्रीमती छन् । म पनि एकल महिला । सक्नेजति सबै गरिसकेँ । अब आफू बेचिनु बाहेक अर्को विकल्प छैन् मेराको लागि ।’ मिसन टुडेसँग उनले भनिन् ।

यसैगरी फिरोजका मामा फजिर बक्सले आफ्नो भान्जालाई नेपाल र भारतका दर्जन बढी अस्पतालमा लिएर उपचार गराउँदासमेत सन्चो नभएको र सहयोगका लागि अपील गरेको बताए । उनले अहिलेसम्म उपचारका लागि लाखौँ रकम खर्च भइसकेकोसमेत बताए । ‘भान्जालाई बचाउन सकिन्छ कि भनेर हामीले धेरै प्रयास गरेका छौँ । कहाँ कहाँ पुगेनौँ होला हामी । न भान्जालाई सन्चो भयो, न त पैसा नै बच्यो । अब हामी नसक्ने भयौँ । हजुरहरुको सहयोगको खाँचो छ ।’ फिरोजका मामा फजिर भन्छन् । घरको जेठो छोरा फिरोज एकल आमा, सानो छोरा र श्रीमतीको लागि पनि बाँच्नुपर्ने उनले बताए ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव रिजाल फिरोजले कलिलो उमेरमै धेरै दुःख भोगेको बताए ।

वडा अध्यक्ष रिजालका अनुसार उनी पहिलादेखि नै व्यवसाय गरिरहेका थिए । अहिले बिरामी परेका कारण व्यवसायसमेत गर्न नसकेको आर्थिक अवस्था कमजोर रहेको उनले बताए । फिरोजको जीवन रक्षाका लागि उनको परिवारले विगत चार वर्षदेखि भरपुर प्रयास गरिरहेको रिजालको भनाइ छ । ‘उहाँले सकेसम्म आफ्नो तर्फबाट प्रयास गर्नुभयो । वडा र नगरमा समेत सहयोग माग्नु भएन । तर अहिले उहाँहरु आर्थिक अवस्थाले थेग्नै नसक्ने अवस्थामा पुगिसक्नु भएको छ,’ उनले भने ।
फिरोजको जीवन रक्षाका लागि यो विषयलाई बाहिर ल्याउनैपर्ने अवस्था सिर्जना भएपछि परिवारको सल्लाहमा उनको जीवन रक्षाका आर्थिक सहयोगको लागि अपिल गरिएको वडा अध्यक्ष रिजालले बताए । अभियानमार्फत केही रकम जम्मा भएमा फिरोजको उपचारका लागि खर्च गरिने रिजालको भनाइ छ । उनको जीवन रक्षा र परिवारको सहयोगका लागि आफूहरुले वडा र नगरबाट सहयोग गर्न सकिने उनले बताउ । उनले भने, ‘मेरो सम्पूर्णमा अनुरोध छ । फिरोज बक्सको जीवन रक्षाका लागि तपाईँहरुले सहयोग गरिदिनुहोला । तपार्इँको सानो सहयोगले कसैको जीवनमा फेरि खुसी फर्किएर आउनेछ । त्यसैले सम्पूर्णलाई सहयोगका लागि विनम्र अनुरोध छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार