मिसन संवाददाता
कोहलपुर ‐बाँके),६ वैशाख
मिसन टुडेकर्मी शुभाकर विश्वकर्मामाथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले लगाएको लाञ्छना र प्रयोग गरेको अपशब्दप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार विश्वकर्माले एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा समाचार संकलन हेतुले प्रमुख जिल्ला अधिकारीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा घोर आपत्तिजनक शब्द प्रयोग गर्नु सिंगो पत्रकारिताको शाख र स्वाभिमानमाथिको प्रहार भएको शाखाले जनाएको हो ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाखाले प्रमुख जिल्ला अधिकारीलाई समाचारका विषयमा सोधिरहँदा किन दलाल भन्नुभयो भन्दा ‘नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने जस्तो अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति दिएको ठहर गरिएको छ । सचिव कृष्ण ओलीद्वारा हस्ताक्षरित विज्ञिप्तमा भनिएको छ, ‘समाचारका लागि सम्पर्क गरेका पत्रकारमाथि प्रजिअ जोशीले गैरजिम्मेवार र गैरजवाफदेही अभिव्यक्ति दिनु खेदजनक र भत्सर्नायोग्य छ ।
यसले पत्रकारहरूको प्रश्न गर्न पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित बनाउने कुचेष्टा गरेको छ ।’यसैगरी, प्रमुख जिल्ला अधिकारीसँगको संवाद लगत्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले फोन गरेर प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको विषयमा केरकार समेत गर्नु शक्तिको गम्भीर दुरुपयोग भएको शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो घटनाले स्वस्थ, निष्पक्ष र मर्यादित पत्रकारितालाई हतोत्साहित गरेको शाखा अध्यक्ष नवीन गिरीले बताए ।
उनका अनुसार जिल्लाकै प्रशासन प्रमुखबाट यस प्रकारको दुव्र्यवहार हुनुले सिंगो पत्रकारिता जगतलाई झस्काएको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारहरूको व्यक्तिगतसँगै पेशागत सुरक्षाका लागि सम्बन्धित सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण गरेको उनले बताए ।
साथै प्रमुख जिल्ला अधिकारी जोशीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा यथाशीघ्र माग गरिएको अध्यक्ष गिरीको भनाइ छ । सिडिओ र एसपी कार्कीले आफ्नो धारणा सार्वजनिक नगरेमा पत्रकार महासंघ बाँके शाखा थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।
यस्तै, प्रेस सेन्टर नेपाल जिल्ला समिति बाँकेले एक प्रेस विज्ञप्ति निकाल्दै बाँकेका पत्रकार विश्वकर्मामाथि बाँकेका सिडिओ जोशी र एसपी कार्कीले अपमानित गरेको र धम्कीपूर्ण तवरले केरकार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिडिओ र एसपी कार्कीले प्रयोग गरेको भाषा प्रेस स्वतन्त्रताविरोधी भएको जनाइएको छ । प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहोराद्वारा जारी विज्ञप्तिमा जिल्ला प्रमुखले आफूले सम्हालेको जिम्मेवारीबारे गरिएको प्रश्नको वस्तुनिष्ठ जवाफ दिनुको साटो मिडिया जगतलाई दलाल हुन् भन्ने अभिव्यक्ति दिनु र सिडिओले आफूलाई गरेको प्रश्नको विषयलाई लिएर प्रहरी प्रमुखलाई केरकार गर्न लगाउनु सामान्य घटना नभएको उल्लेख गरिएको छ ।
यसैगरी, प्रेस युनियन बाँकेले बाँकेका सिडिओ जोशीको पत्रकारिता र पत्रकारमाथिको धारणा माग गरेको छ । सचिव भिष्म लोधद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार प्रयोजनार्थ गरिएको फोन सम्पर्कमा प्रजिअबाट अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति प्रकट हुनु खेदजनक छ ।
जोशीको अभिव्यक्तिले सिंगो पत्रकारितामाथि प्रहार गरेको छ । पत्रकारलाई प्रश्न गर्ने पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोज्ने कुचेष्ठा भएको युनियनको ठहर छ ।’ यस्तै प्रेस चौतारी बाँकेले पनि मिसनकर्मी विश्वकर्मामाथि सिडियो र एसपीबाट आएको धम्की खेदजनक रहेको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ प्रगतीशील पत्रकार संघ बाँके र राष्टिय दलित पत्रकार संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी जोशीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्