भारतमा रहेका प्रेमीलाई देखाउन शिशु चोरी



दैलेख ।

दैलेखकी एक किशोरीले भारतमा रहेका केटा साथी (प्रेमी)लाई देखाउन शिशु चोरी गरेको पाइएको छ । उनले ३ महिने बालिका चोरेर लगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जंगलबाट बच्चासहित पक्राउ परेकी १८ वर्षीया एक किशोरीले प्रहरीलाई बताएअनुसार भारतमा रहेका आफ्नो केटा साथीलाई देखाउन उनले रातको समयमा बच्चा चोरेकी थिइन् ।

किशोरी आफ्नै गाउँका एक युवकसँग प्रेममा रहेको खुलेको छ । ती युवक हाल रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यसअघि पनि ती किशोरीले गाउँघरमा र सामाजिक सञ्जाल टिकटक लगायतमा आफू गर्भवती छु भन्ने कुरा उल्लेख गर्ने गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार भारतमा रहेका केटा साथीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘उनले ३ महिनाकी बालिका चोरी गरेकी थिइन् । आफू गर्भवती छु भनेकी रहिछन् । बच्चा जन्माएँ भनेर प्रमाणित गर्न उनले बच्चा चोरी गरेको देखिन्छ । बच्चालाई मन पराउने र माया गर्ने गरेको पनि देखिन्छ ।’

उनले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन् । त्यसबेला घरनजिकै रूखमा आगो लागेको भन्दै निभाउन बमबहादुर र उनकी श्रीमती निस्केका थिए ।

दैलेख प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालका अनुसार ती किशोरीलाई शुक्रबार बिहान ९ बजेतिर जंगलबाट नियन्त्रणमा लिइएको थियो । त्यसबेला नाबालिकालाई साथमा लिएर हिँडिरहेकी थिइन् । उनलाई दिउँसो मात्रै जिल्ला प्रहरी कार्यालय दैलेखमा पु¥याइएको थियो । डीएसपी दाहालका अनुसार कार्यालय ल्याइएपछि सोधपुछ गर्ने क्रममा उनी बेहोस भएपछि उपचारका लागि अस्पताल पठाउनु परेको थियो ।

ती किशोरी पटक–पटक बेहोस भएपछि प्रहरीले शनिबारदेखि अस्पतालमा भर्ना गरेको छ । ‘ती किशोरीमा सोधपुछ गर्न थालेपछि बेहोस हुने समस्या देखिएको छ । त्यही भएर पनि गहन रूपमा सोधपुछ र अनुसन्धान हुन पाएको छैन ।’ डीएसपी दाहालले भने ।

शिशुको प्रहरीले शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ को लामिडाँडा जंगलबाट उद्दार गरेको थियो । बालिका रोएपछि दूधको खोजीका लागि १८ वर्षीया किशोरी गाउँ पसेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २ गते मंगलबार