वीरेन्द्रनगर ।
नेकपा एमाले निकट व्यवसायीले सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन बहिष्कार गरेका छन् । वैशाख ६ गते तय भएको निर्वाचन प्रक्रियाबाट एमाले निकट व्यवसायी संगठनहरू बाहिरिएका हुन् ।
संगठनसँग आवद्ध ११ जना उम्मेदवारले विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएर निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी कलाधर उपाध्यायले उम्मेदवारी फिर्ता लिएको बताए । उनले नेतृत्व तहबाट बारम्बार संवाद र समन्वयको प्रयास गर्दा पनि व्यवहारिक प्रतिबद्धता नदेखिएकाले यस्तो निर्णय लिनुपरेको बताए ।
विगतका निर्वाचनहरूमा देखिएको अत्यधिक खर्चिलो, भड्किलो र अस्वस्थ प्रतिस्पर्धाको झल्को यसपटक पनि देखिन थालेपछि अहिलेको जटिल आर्थिक अवस्थामा त्यो अवस्था थप अव्यवहारिक लागेपछि बहिस्कार गरेर बाहिरिएको उनको भनाइ छ ।
उम्मेदवारी फिर्ता लिनेहरूमा प्रेमबहादुर रावत, पूर्णप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर विश्वकर्मा, अर्जुनजङ शाही, महेन्द्रप्रसाद शर्मा, धनबहादुर चुनारा, टेकबहादुर थापा, रेशमढकाल, भानुभक्त खड्का र हिमा उपाध्याय छन् । एमाले निकट व्यवसायीले निर्वाचनमा सहभागी नहुने स्पष्ट गर्दै आफूहरूलाई साथ र समर्थन गर्ने मतदातालाई पनि मतदान प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन् । यसअघि संघको निर्वाचन ४ वैशाख २०७९ भएको थियो ।
संघको अध्यक्षमा हर्सविक्रम शाही निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदाधिकारीका लागि उम्मेदवारी दिइएपनि निर्वाचन प्रक्रियामा सहभागी हुने पक्षमा सबै देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्