बर्दिया निकुञ्जमा वन्यजन्तु सप्ताह



बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु सप्ताह सुरु गरेको छ । निकुञ्जले वन्यजन्तु सप्ताह कार्यक्रम औपचारिक रूपमा सोमबार देखि सुरु गरेको हो । सप्ताहको सुरु दिनमा पुराना झन्डा फेर्ने र नयाँ वर्षको शुभकामना आदान प्रदान गरी कार्यक्रमको आयोजना गरेर औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

सोही अवसरमा ठाकुरबाबा नगरपालिका–९ स्थित हात्तीसारको मैदानमा आज मंगलबार बिहान हात्ती पूजा निकुञ्ज अगुवाइमा हुनेछ । परम्परागत रूपमा हात्तीले कुल्चेर सुँगुर मारेर गरिने कार्यक्रमलाई विस्थापित गर्दै निकुञ्जले हात्तीलाई पूजा गरेर कार्यक्रम गर्ने भएको हो । हात्ती पूजन कार्यक्रममा थारू समुदायका गुरुवा (पुजारी) ले हात्तीलाई धार्मिक परम्परा अनुसार पूजा गर्ने चोरी शिकारी युवा परिचालनका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए ।

‘२०७१ साल देखि महोत्सवको रूपमा मनाइने हात्ती पूजालाई नयाँ शैलीमा गरिँदै छ,’ उनले भने, ‘कहिले हात्तीलाई फुटबल खेलाएर गरायौँ, अहिले हात्तीबाट प्रत्यक्ष रूपमा प्रभावित थारू समुदायका गुरुवाको सहभागितामा हात्ती पूजा आयोजना गरिएको छ ।’ उनका अनुसार हात्ती पूजा रोमाञ्चक र शिक्षा प्रदक हुने छ ।

साता दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने गरी सप्ताह व्यापी कार्यक्रमको खाका अनुसार गतिविधि गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । उनका अनुसार मानव र वन्यजन्तुको सहअस्तित्वका लागि एक साता विविध कार्यक्रम मनाइनेछ । साताभरी समुदाय, निकुञ्ज कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीय तहको समन्वय र सहकार्यमा भव्य र सव्य रूपमा सप्ताहाव्यापी कार्यक्रम सञ्चालन हुने उनले बताए ।

तेस्रो दिन राजमार्ग सरसफाइ फोहोर जन्य वस्तुको व्यवस्थापन गर्ने कार्यक्रम छ । यस्तै, गरी, सडक दुर्घटना सचेतना, पन्चे अवलोकन, वर्ड वाचिङ, डढेलो नियन्त्रणका लागि फोर लाइन निर्माण लगायतका काममा समुदायको, पर्यटन व्यवसायी, संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्ज प्रशासनका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १७ हजार ६ सय १८ पर्यटक भित्रिएका छन् । तीमध्ये नेपाली १२ हजार ३ सय ८५, विदेशी ४ हजार ३ सय ८७ र सार्क मुलुकबाट ८ सय ४६ जना पर्यटकले निकुञ्जको भ्रमण गरे । ९ सय ६८ वर्ग किमि ओगटेको निकुञ्जमा बाघ, गैंडा, हात्ती लगायतका जनावर सहजै हेर्न पाउँदा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

निकुञ्जका अनुसार १ सय २५ वटा बाघ, ३८ वटा गैंडा र १ सय २० बढी हात्ती रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २ गते मंगलबार