कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा रहेको समाज सेवा संस्था नेपालले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । संस्थाले नयाँ वर्षको अवसर पारेर एक औपचारिक कार्यक्रमको आयोजना गरेर सोमबार एम्बुलेन्सको उद्घाटन गरेको थियो । एम्बुलेन्सको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शुभारम्भ गरेका थिए । औपचारिक रूपमा उद्घाटन भएपनि विधिगत रूपमा सञ्चालनमा आउन केही समय लाग्ने संस्थाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले समाजसेवा गर्न सहज जो कोहीले नसक्ने बताएका थिए ।
निस्वार्थ भावनाले समाजिक काम गर्ने वातावरण त्यति सहज नभएको उनको भनाइ रहेको थियो । एम्बुलेन्स खरिद गेरर ल्याउनु ठूलो कुरा रहेको बताउँदै उनले निरन्तर सञ्चालन गर्नु अझ महत्वपूर्ण कुरा रहेको बताए । ‘समाजसेवाको बाटो निकै कष्टकर रहेको छ’ जोशीले भने, ‘समाज सेवा पनि दुई थरीका जसमा समाजसेवाको खोल ओढेर लाभ लिने र अर्काे थरी निस्वार्थ भावनाका साथ विसुद्ध समाज गर्ने रहेका छन् । समाजसेवा कस्तो हुन्छ भन्ने उदाहरण विनोद थापा हुनुहुन्छ ।’
नयाँ वर्ष २०८२ को सुरुवाती दिनको पवित्र कार्यक्रममा उपस्थित हुन पाएको भन्दै खुसी उनले व्यक्त गरे । जोशीले एम्बुलेन्स खरिद गरेर ल्याएपनि सञ्चालन गर्न चुनौती रहेको बताए । त्यसमा लाग्ने इन्धन, मर्मत र चालक राख्न खर्च हुने भएकाले यसमा विशेष गरेर ध्यान दिएर अघि बढ्न उनले शुभकामना दिए । स्थानीय तहसँग सहकार्य गरेर चालकको व्यवस्थापन गर्न सके अलि सहज हुने उनले बताएका थिए ।
जोशीले केही संकलन रकम र लोन लिएर आफ्नै पैसा थपेर एम्बुलेन्स खरिद गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले एम्बुलेन्स खरिदका लागि फलामको चिउरा चपाए सरह रहेको बताए ।
उनले विभिन्न कानुनी जटिलता झेल्दैँ एम्बुलेन्स सञ्चालन ल्याउन सफल भएको बताएका थिए । ‘कोरोना कहरमा एम्बुलेन्स नपाएर कतीपयले ज्यान गुमाउँदाको दुःखले आर्थिक संकलन गरेर एम्बुलेन्स खरिद गर्ने अभियान थालेका थियौँ’ उनले भने, ‘विद्यालयदेखी घरदैलो व्यक्तिले एक रूपैयाँदेखि १ लाखसम्मको संकलन गरेको रकम र बाँकी रकम आफैँ थप एम्बुलेन्स खरिद गरेर ल्याइएको हो ।’
२५ लाख रूपैयाँमा खरिद गरेर ‘ख’ वर्गको एम्बुलेन्स ल्याएको उनले बताए । रकम संकलन अभियान २०७८ साल कात्तिक १८ गतेदेखि २०७९ फागुन २८ गतेसम्म सञ्चालन भएको उनले बताए । त्यसबाट उठेको १० लाख र बाँकी आफैँ सहकारीबाट लोन लिएर १५ लाख थपेर एम्बुलेन्स खरिद गरिएको थापाले जानकारी दिए ।
प्रतिबद्धता गरेको कतीपय रकम नउठेपछि थप समस्या भएको उनको भनाइ छ । समाजमा एम्बुलेन्स खरिद गर्न ढिलाइ हुँदा पैसा खायो लगायतका विभिन्न लान्छाना खेप्नु परेको उनले बताए । उनले विद्यालय हाताभित्र ५० प्रतिशत छुट र गरिब विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्