सुख, शान्ति र समृद्धि हासिल हुने व्यवहार गरौँ



हरि सुवेदी/गीता अर्याल

वि.सं. २०८१ लाई बिदा गर्दै गर्दा हामीले वि.सं.२०८२ लाई स्वागत गरिरहेका छौँ । वि.सं.लाई नयाँ वर्ष मान्ने सबैले आ–आफ्नै मूल्य मान्यता, विचार र अभ्यास अनुरुप स्वागत गरिरहेको देखिएको छ । पहिला–पहिला भेटेर शुभकामना दिएको देखिन्थ्यो । केहीपछि कतिले शुभकामना कार्ड बनाएर वा आफूलाई मन परेको पोष्टकार्डमा शुभकामना सन्देश लेखेर आदानप्रदान गर्ने गरेको देखिन्थ्यो ।

कतिले शुभकामना दिनका लागि पत्र पठाएको पनि पाइन्थ्यो भने कतिले विभिन्न कामका सिलसिलामा पत्र पठाउँदा सो पत्रको अन्तमा शुभकामनाको एक वाक्यपनि लेखेर पठाएको भेटिन्थ्यो । कति गाउँमा त सबैजना एकै ठाउँमा जम्मा भएर नाचगान अनि रमाइलो गरेर नयाँवर्ष मनाउने गरिन्थ्यो । अहिले नजिकैका साथीभाई र परिवारका सदस्यहरूलाई पनि फेसबुक, ह्वाट्स एप, म्यासेन्जर, इस्टाग्राम, भाइबर, स्काइप, एक्स, लिङ्क्ड इन, टिकटकमार्फत शुभकामना आदान–प्रदान गरिरहेको पाइन्छ । अझ गजबको कुरो एउटै विस्तारामा सुतेका बुढाबुढीबीच पनि मेसेन्जरमा शुभकामना आदानप्रदान गर्ने क्रम बढ्दो छ ।

एउटै टोलमा बसेका दाजुभाई र दिदी बहिनीहरूले मोबाइलका माध्यमबाट शुभकामनाका सन्देश पठाएर औपचारिकता निभाउँछन् तर भेट हुँदा शुुभकामना आदानप्रदान गौण बिषय बनेको छ । सरकार र समाजका राजनीतिक तथा सामाजिक अगुवाहरूले पनि फेसबुक पेज, पत्रपत्रिका, टेलिभिजनबाट शुभकामना दिएर औपचारिकता पूरा गरिरहेका छन् । कार्यालयको कामको सिलसिलामा इमेल पठाउनेहरूले पनि इमेलको अन्तमा नयाँ वर्षको शुभकामना पठाइरहेका छन् ।

विकसित सामाजिक सञ्जालको प्रयोग गर्ने मेसो नपाएकाहरूले पनि फोन गरेर नयाँ वर्षको शुभकामना दिँदै आफ्ना मान्यजन, आफन्त, साथीभाई, परिवारका सदस्यहरू सबैको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरिरहेका छन् । प्रविधिको विकाससँगै भिडिओ क्लिप्स बनाएर आदान–प्रदान गरिरहेका शुभकामनाका श्रव्य–दृष्य सामग्री त झनै राम्रा छन् र एकैछिन भएपनि विगतका सबै दुःख भुलाएका पनि छन् । ती सामग्रीले नयाँ वर्ष २०८२ सँग धेरै आशा राखेका पनि छन् ।

कुनै विशेष अवसर पारेर साथीभाई, इष्टमित्र, मान्यजन जम्मा भएर शुभकामना आदानप्रदान गर्नु र रमाइलो गर्नु आफैँमा राम्रो पक्ष हो । सबैसँग चिनजान गर्ने, खुसी बाँड्ने र संस्कृति संरक्षण गर्ने एउटा अभ्यास पनि हो । यो अवसरमा कतिपयले वि.सं.२०८१मा आफूबाट कोही दुःखी भएको-भए माफी माग्दै नयाँ वर्षमा सम्बन्ध अझ बलियो बनाउने चाहना व्यक्त गरेका छन् । यो झनै राम्रो छ, किनकी यस्तो कुराले बोलचाल बन्द भएका, व्यवहार बिग्रिएका र केही टाढिएकाबीच पनि पुनःसम्बन्ध स्थापित गर्ने बाटो खोलेको छ ।

साथै यो दुनियाँमा एकदिन सबै मर्नु पर्ने तितो सत्यकाबीच नयाँ वर्षको अवसरले बाँचुञ्चेल सबैसँग बोल्ने, हाँसखेल गर्ने वातावरण बनाउन सहयोग गरेको छ । अब चर्चा गरौँ, नयाँ वर्षका अवसरमा साटासाट भै रहेका शुभकामनाहरूमा समेटिएका अपेक्षाहरू र चाहनाहरूको । लेखकद्वयलाई प्राप्त एउटा शुभकामनामा ‘नववर्ष २०८२ सालको मंगलमय शुभकामना’उल्लेख छ । अर्कोमा ‘नयाँ वर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना’ छ । त्यसैगरी अर्कोमा ‘नयाँ वर्ष २०८२ को उपलक्ष्यमा यहाँको उत्तरोत्तर प्रगतिका साथै सफल जीवनको कामना गर्दछु’ लेखिएको छ ।

अर्कोमा नयाँ वर्ष २०८२ को शुभ अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना उल्लेख छ । अर्को मिठो लयमा छ, ‘सुखर समृद्धि, शान्तिले छाइरहोस् । सधैँ तिम्रो जीवनमा नयाँ बहार आइरहोस् । प्रगतिका पाइलाहरू अघि बढ्दै जाउन् । तिम्रा हरेक चाहना पूरा हुँदै जाउन ।’ यही छ मेरो चाहना । नव वर्षको तिमीलाई शुभकामना । नव वर्षको तिमीलाई लाखौँलाख शुभकामना भन्ने श्रव्य–दृष्य सामग्री पनि छ । फेसबुक र म्यासेन्जर हेर्दा २०८१ साल चैत्रको दोस्रो हप्ताबाट आजसम्म ५ सय बढी वटा शुभकामना प्राप्त भएका छन् । कतिपय मित्रहरूबाट २–३ पटकसम्म पनि एउटै वा फरक डिजाइनको शुभकामना प्राप्त भएको छ ।

यस्तै शुभकामनाले खकद्धयका पाठकहरूलाई पनि पक्कै प्राप्त भएको र यहाँहरूले पनि पठाउनु भएको होला भन्ने हाम्रो ठम्याई छ । सबैले पठाएका र प्राप्त गरेका शुभकामनामा हरेक व्यक्तिले सोचेभन्दा राम्रो होस् भन्ने कामना गरिएको छ । कतिले यस्तो शुभकामना आफैँले सृजना गरेर पनि पठाएका छौैँ होला । कतिले शुभकामनामा समाहित सन्देश बुझेर पठाएका छौँ । कतिले एउटाबाट प्राप्त राम्रो लागेको शुभकामना कपी गरेर र फरवार्ड गरेर अरुलाई पठाइरहेका छौँ । के सबैले साँच्चै मनैदेखि शुभकामना दिइरहेका छौँ ? वा अरुले गरेको देखेर औपचारिकता पूरा गर्नका लागि ? यदि भित्री मनबाट शुभकामना दिइरहेका छौँ भने शुभकामना दिने हरेक व्यक्तिले अर्को व्यक्तिको सुख, समृद्धि, सुस्वास्थ्य र दीघार्यूका लागि वि. सं.२०८२ को सुरुको दिनदेखि केही त्याग गर्नु जरुरी हुन्छ । किनभने शुभकामना लिने र दिने दुवै यहीँ समाजमा छौँ, यहीँ जिल्ला र राष्ट्रमा छौँ ।

यहाँ भएका मानवबाहेक अरु जीवले न त शुभकामना नै दिन्छन् न त पूरा गर्न प्रत्यक्ष योगदान वा त्याग नै गर्छन् । तसर्थ, अरुलाई उज्यालो दिन आफैँ जल्नुपर्छ भने झै अरुलाई साँच्चै सुख, समृद्धि, सुस्वास्थ्य र दीघार्यूको बनाउन हरेक व्यक्तिले केही न केही त सहयोग÷योगदान गर्नैपर्छ । हरेकले हरेकका लागि सहयोग गर्दै जाँदा सबैले सहयोग प्राप्त गर्दै गइन्छ । अनिमात्र सबैका लागि सुख, समृद्धि, सुस्वास्थ्य र दीघार्यू प्राप्त हुन्छ । अरुका लागि गर्न सकिने धेरैमध्ये हरेक व्यक्तिले निम्न त्याग वा कार्य २०८२ को सुरुदेखि नै गरौँ र आफूले शुभकामना दिएको व्यक्तिहरूको सुख, समृद्धि, सुस्वास्थ्य र दीघार्यूको बाटो खोलौंँ ।

  • एक व्यक्तिले अर्को व्यक्तिलाई मनैदेखि सम्मान गर्ने, अर्को व्यक्तिलाई नमिठो लाग्ने नबोल्ने ।
  • पदीय हैसियतले आफूलाई ठूलो सम्झेर अर्कालाई होच्याउने गरी नबोल्ने, आफ्नो पद र शक्तिको घमण्ड नगर्ने ।
  • आमनेसामने हुँदा मिठो बोल्ने, टाढा हुँदा कुरा काट्ने र छेड हान्न छोड्ने । बरु प्रशंसा गर्ने ।
  • अर्कोलाई के सहयोग गर्न सकिन्छ भनेर सोच्ने र सहयोग गर्ने ।
  • शुभकामना दिइएका र पठाइएका व्यक्ति तथा अन्य मानवलाई दुःख पर्दा सहयोग गर्ने ।
  • अरुको क्षमता भन्दा बढी अपेक्षा नराख्ने र आफ्नो निहित स्वार्थ त्याग्ने ।

त्यसैगरी संस्थागत रूपमा संस्थाका पदाधिकारी तथा सदस्यहरूले आफ्ना लगानीकर्ताहरू, सदस्यहरू, कर्मचारीहरू, ग्राहकहरू, साझेदारहरू र सरोकारवालाहरूको साँच्चै प्रगति चाहन्छन्, सुख, शान्ति र समृद्धि चाहन्छन् भने यो वर्षमा धेरै मध्ये निम्न कार्य गर्दा उनीहरूको प्रगति हुन सक्छ, सुख र समृद्धितर्फको बाटो सोझिन सक्छ ।

  • सबै सदस्य, कर्मचारी र ग्राहकहरूलाई संस्थाको महत्वपूर्ण साझेदारको रूपमा स्वीकार्ने, सबैसँग समान र सम्मानजनक व्यवहार गर्ने, सबैलाई न्यायोचित अवसर उपलब्ध गराउने ।
  • संस्थाका कर्मचारीहरूलाई पद अनुसारको तलब र अन्य सुविधा उपलब्ध गराउने । उनीहरूको श्रम शोषण नगर्ने ।
  • संस्थाको कामको प्रकृति अनुसारको योग्य व्यक्ति भर्ना गर्ने,अयोग्यलाई आफ्नो भनेर जागिर दिने अभ्यास अन्त गर्ने, यसअघि सोर्स लगाएर संस्थामा छिरेकाको पनि योग्यता परीक्षण गर्ने, पद अनुसारको क्षमता नभएको पाइएमा बिदा गर्ने ।
  • नीतिमा भएझै पछाडि पारिएका वर्गका लागि छु्ट्याइने बजेट र अवसर तिनिहरूलाई नै उपलब्ध गराउने । तोडमोड गरेर उनीहरूको नाममा अर्को काममा खर्च नगर्ने ।
  • संस्थाभित्र राजनीति नगर्ने, संस्थालाई प्राप्त अवसर संस्थागत हितका लागि उपयोग गर्ने,राजनीतिक आस्थाका आधारमा भागबण्डा नगर्ने ।
  • संस्थाको नाममा व्यक्तिगत फाइदा लिने काम बन्द गर्ने । यस अघि यस्तो काम भए–गरेको भए आत्माआलोचना गर्ने, क्षमायाचना गरी सम्बन्धितलाई फिर्ता गर्ने ।
  • संस्थाको विधानको अपव्याख्या गरेर सदस्यतामा लगाइएको सिण्डिकेट हटाउने, प्रमुख पदमा सधैँ आफू वा आफ्नो मान्छे आउनु पर्छ भनेर गरिने चलखेल बन्द गर्ने ।
  • संस्थाको आम्दानी लक्षित वर्गको हितको लागि पारदर्शी रूपमा खर्च गर्ने ।
  • कामको प्रकृतिअनुसार आवश्यक परेमा पैसा वा लोभ नदेखाई जनपरिचालन गर्ने ।

अन्यथा जसलाई घोचिएको छ, पीडा दिइएको छ । जसबाट गैरकानुनी रूपमा फाइदा लिइएको छ वा जसको श्रम शोषण गरिएको छ, तिनीहरूलाई बोलीले र शब्दले एकदिन सुख, शान्ति र समृद्धि प्राप्त होस् भनेर शुभकामना दिनुको के अर्थ छ र ? यदि मनैदेखि सधँै चुस्न पाइयोस ठानिएको छ र सो अनुसारको व्यवहारलाई निरन्तरता दिइएको छ भने ?

व्यक्ति, संस्था जस्तै नेपालको नयाँ संरचना अनुसार स्थानीय, प्रदेश र संघीय सरकारले पनि जनताको सुख, शान्ति, समृद्धिका लागि शुभकामना दिँदै आफ्ना वेबसाइट रंगाएका छन् । पत्रपत्रिकाहरूमा शुभकामनाका सन्देशहरू छपाएका छन् । हुन त यी सरकारहरू नै अहिलेको परिप्रेक्ष्यमा देशमा सुख, शान्ति, समृद्धि वृद्धि गर्न जिम्मेवारी लिएका आधिकारिक निकाय हुन् ।

साँच्चै यी निकायहरूले जनताको सुख, शान्ति, समृद्धि र दीर्घायू चाहन्छन् भने नयाँ वर्षको शुभकामनासँगै निम्न कार्यहरू गर्नु जरुरी छ जसले सुख, शान्ति, समृद्धि र दीर्घायूको बाटो खोल्न र आगामी वर्षहरूका लागि क्रमशः फराकिलो बनाउँदै लान सक्छ ।

  • स्थानीय, प्रदेश र संघीय सरकार र तिनका निकायहरूले जनतालाई शासन गर्ने भन्दा जनताको सेवा गर्ने नीति र पद्धति विकास गर्ने ।
  • देशमा व्याप्त घुस र कमिसन माग्ने–खाने अभ्यास तुरुन्त बन्द गर्ने । हालसम्म गैरकानुनी रूपमा कमाएको धन राज्यलाई फिर्ता गर्ने ।
  • निर्वाचित जनप्रतिनिधिहरूलाई पनि मासिक तलबको मात्र व्यवस्था गर्ने । संघ, प्रदेश र स्थानीय सरकार स्वायत्त छौँ भनि आफूखुसी थप सुविधा नलिने, थप सुविधा लिन भएका निर्णय तुरुन्त खारेज गर्ने ।
  • प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिहरू अनावश्यक भाषण गर्ने कार्यक्रमहरूमा सहभागी भै समय खर्चिनु भन्दा काम छिटो हुने नीति, वातावरण र योजना बनाउन केन्द्रित हुने । देशमा भै रहेका कार्यहरूको साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक समीक्षा गरेर निर्धारत समयभित्र हरेक गतिविधि सम्पन्न भएको यकिन गर्ने ।
  • बढ्दो बेरोजगारी र युवा विदेश पलायन रोक्न श्रमिकमा आधारित परियोजनाहरू सञ्चालन गर्ने । ताकि उनीहरूलाई स्वदेशमा नै काम गरेवापत राम्रो सुविधा दिन सकियोस् ।
  • केही विदेशी राष्ट्रसँग मगन्ते व्यवहार देखाउनु भन्दा देशभित्र भएका स्रोतसाधनको उचित परिचालन गर्न ध्यान दिने, आफ्नै देश सुहाउँदा उद्योग धन्दाहरू सञ्चालन गर्ने ।
  • सबै किसिमका राष्ट्रसेवक कर्मचारीहरूका लागि समान तलब र सुविधाको व्यवस्था गर्ने । जोखिमयुक्त काममा लागि थप सुविधा दिने ।
  • जनताको म्यान्डेट बिना विदेशी चलखेलका आधारमा लादिएको धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह गर्ने ।
  • कुनै वर्ग र समुदायका जायज माग पूरा गर्न आन्दोलन गर्नु पर्ने परिस्थितिको अन्त गर्ने र सबै तह र तप्कामा लोकतन्त्रको अनुभूति गर्नसक्ने व्यवहार गर्ने ।

हुन त सुख, शान्ति र समृद्धि मानव चोला रहेसम्म पूर्णरूपमा प्राप्त गर्न निकै कठिन छ । तापनि अहिले दुःख पाइरहेका व्यक्तिका लागि घरमा कम्तिमा एकजनाको जागिर, एउटा घर, खानपुग्ने खेत, छोराछोरी पढाउन पुग्ने र बिरामी पर्दा औषधि मूलो गर्न पुग्ने आम्दानीलाई सुख, शान्ति र समृद्धि हासिल भएको अवस्था मान्न सकिएला ।

तर, केही राम्रो कमाई भएका व्यक्तिहरूका लागि थप एउटा गाडी, बैंक ब्यालेन्स, सेयर लगानी आदि सुख, शान्ति र समृद्धि प्राप्त भएको अवस्था हुन सक्ला । त्यसैगरी अझ राम्रो आम्दानी भएको ठूलो व्यापार, विदेशमा बजारमा लगानी, जनप्रतिनिधि, संस्था प्रमुखको पद, माननीयको पद, सम्माननीयको पद आदि सुख, शान्ति र समृद्धि प्राप्तिको अवस्था होला ।

यद्यपि शुभकामनामा व्यक्त गरिएका सबै कुरा सतप्रतिशत हासिल नभएपनि धेरै कुरा तपाई हाम्रो सानो त्याग र व्यवहारले प्राप्त हुन सक्छ । तसर्थ, हामी सबैले अरुको सुख, शान्ति र समृद्धिका लागि आ–आफ्नो तर्फबाट माथि उल्लेख गरि झै केहि त्याग गराँै, नराम्रो काम अनि व्यवहार नगरौँ र व्यक्ति, परिवार, समाज, स्थानीय तह, प्रदेश र राष्ट्रको सुख, शान्ति र समृद्धिका लागि योगदान गरौँ । शुभकामनामा दिनमा सीमित नरहौँ, सबैलाई साँच्चैको सुख, शान्ति र समृद्धि हासिल हुने व्यवहार गरौँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १ गते सोमबार