दैलेखी समाज कोहलपुरद्वारा शुभकामना आदानप्रदान



कोहलपुर ।

दैलेखी एकता समाज कोहलपुर नगर कमिटी बाँकेले नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर दैलेखी समाजले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रम लुम्बिनी प्रदेशकी पूर्वमन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै पौडेलले दैलेखी कला, संस्कृति र भाषा जोगाउन दैलेखी समाजको गठन गरिएको बताइन् ।

उनका अनुसार पछिल्लो समय दैलेखी भाषा, कला र संस्कृति हराउँदै गएको छ । दैलेखबाट बसाइँसराइँ गरेर कोहलपुर ,बैजनाथ लगायत बाँके जिल्लामा बसोबास गर्ने दैलेखीहरूको एकता गर्ने उद्देश्य रहेको बताइन् । दैलेखीहरू एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । नयाँ वर्षको शुभकामना दिँदै उनले आगामी दिनहरूमा थप एकिकृत भएर अघि बढन आग्रह गरिन् ।

प्रत्येक शनिबार कोहलपुर खुला मञ्चमा कर्णालीको देउडा खेल खेलिने गरेको दैलेखी समाज उपाध्यक्ष मणिराम रिमालले बताए । सुख, दुःखमा साथ दिँदै कला र संस्कृति जर्गेर्ना गर्न लागि परेको रिमालले जानकारी दिए । दैलेखी भेषभुषा जोगाउँदै राजनीति, भेद्भाव कुनै गन्ध आउन नहुने उनले जोड दिए । दैलेखी समाजले बाँकेमा छरिएर रहेका दैलेखीहरूको एक आपसमा भेटघाट र सामाजिक सद्भाव बढाउने उनले बताए ।

पुर्खाको पहिचान र कला, संस्कृति नयाँ सन्ततिलाई हस्तान्तरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ । अन्यथा दैलेखीको कला, संस्कृति र भेषभुषा हराउँदै जाने भन्दै चिन्ता व्यक्त गरे । दैलेखी समाजका कोषाध्यक्ष भरत कठायतले अहिले पनि दैलेखीहरू अझै कतिपय समाजमा आबद्ध हुन बाँकी रहेको बताए । उनले आगामी दिनहरूमा समाजमा आवद्ध भएर सामाजिक र भाषा, संस्कृति र पहिचान जोगाउन सबै लागि पर्नुपर्ने उनको भनाइ रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार