हुम्ला ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिका घोषणा गरिएको छ ।
लागूऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि लागूऔषध मुक्त गाउँपालिका घोषणा गरिएको हो । नाम्खा गाउँपालिकालाई लागूऔषध मुक्त घोषणा गर्नका लागि गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा ६ महिनाभित्र लागूऔषध मुक्त घोषणा गर्ने गरी कार्ययोजना तयार पारिएको थियो । सो कार्ययोजना अनुसार पालिकालाई लागूऔषध मुक्त घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना र गाउँपालिकाको समन्वयमा लागूऔषध मुक्त घोषणा गरिएको हो । कार्ययोजना अनुसार नाम्खा गाउँपालिकामा लागूऔषध प्रयोग गर्ने नभेटिएको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि लागूऔषध मुक्त घोषणा गरिएको उनले बताए । प्रजिअ पाण्डेयका अनुसार अब गाउँपालिकाको क्षेत्रभित्र कुनैपनि लागूऔषध प्रयोग गर्न पाइने छैन ।
लागूऔषध प्रयोगको जोखिम उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर लागूऔषध, यसका प्रकार, प्राकृतिक, अर्धकृत्रिम र कृत्रिम, यसको असरका बारेमा प्रजिअ पाण्डेयले जानकारी गराएका थिए । त्यसैगरी, हुम्ला जिल्लामा यसको प्रयोगको अवस्था र नाम्खा गाउँपालिकामा लागूऔषध प्रयोगको अवस्था, बेफाइदा, असर र जरिवानाको कानुनी उपचारबारे प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागीले जीवनमा कहिल्यै लागूऔषध प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकालाई लागूऔषध मुक्त घोषणा गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले अब ऐन कानुन निर्माण गरेर यसलाई कार्यान्वयन गरिने बताए । गाउँपालिकाभर बौद्ध धर्मावलम्बी भएको र लामाले पनि यस्ता कार्यमा नलाग्न उपदेश र चेतावनी दिने भएका कारण यसको प्रयोग नहुने विश्वास लिइएको छ । नाम्खा लागूऔषध मुक्त पहिलो गाउँपालिका घोषणा भएको हो ।
प्रतिक्रिया दिनुहोस्