कथाः अपुरो सपना



कासीलाल अधिकारी ।
असोजको महिना शरद ऋतुको शुक्ल पक्ष भर्खर वर्षा ऋतु सकिएकोले बादल कुहिरो हिलो मैलोको खासै असर नदेखिएकोले होला वातावरण निकै लोभ लाग्दो छ । सहृदयी मित्रहरु एक आपसमा मुस्कुराउदै अँगालो हालुँलाझैँ आमुन्ने सामुन्ने उभिएका हिमालहरुको फेदीमा पातलो कुहिरोको नमुना देखिए ता पनि शुक्ल पक्षको जुनेली रातलाई खासै असर परेको छैन ।रातिको ११ बजि सकेको छ।पानकली आमा सुल्पामा तमाखु तान्दै बसिरहेकी छन् । उनको सुत्ने कोठावाट नदी पारीको गाउँ प्रष्ट देखिन्छ । हिमालको फेदि वरिपरि जङ्गलबिचमा नदी वारी र पारि सामुन्ने गाउँ । पारि गाउँमा कुकुर भुकेको स्याल कराएको वाकुनै मानिसले ठूलो स्वरले कसैलाई वोलाएको आवाज पनि सजिलै सुन्न सकिन्छ । त्यही पारीगाउँकोबाटो भएर हिँड्ने ओल्लो गाँउ पल्लो गाँउका बटुवा तथा बजारबाट आफुलाइ चाहिने सरसामान र लत्ताकपडा किनमेल गरेर आउने  हटारुहरुको ओहोर दोहोर गर्ने मुलवाटो पनि यही हो ।
पानकली आमाले झ्यालबाट पारी गाउँको बाटोतिर नियालेर हेरीन् । एक जना मानिस  झिलिक मिलिक गरी लाईट बाल्दै अगाडी बढेको देखिन् । उनी जुरुक्क उठेर झ्याल नजिकै आई राम्ररी चिहाईन् । उनको गाउँ र पारिको गाउँको बिचमा बग्ने नदीमा एउटा सानो काठे पुल छ । त्यो मानिस  सरासर अगाडी बढ्दै  आएर काठेपुलमा टक्क रोकियो । एक छिन पछि पुल नतरी सरा सर उकालो लाग्यो । पानकली आमा निरास भएर लामो सास तानिन् र आफ्नो ओछ्यानमा आएर थचक्क बसिन् फेरी सुल्पा तान्न लागिन् ।
हाटबजारबाट हिँडेर त्यो गाउँको बाटो हुँदै दिनमा सयौँ जना हटारुहरु पहाडका गाउँमा हाटभारी बोकेर ओहोर दोहोर गर्दछन् । पुलको नजिकै एउटा बिशाल ढुँगा छ । सायद श्रृष्टिको सँरचनासँगै प्रकृतीको नियमअनुसार स्वभायमान रही त्यहि नदी किनारमा बसेको होला । थकित बटुवा तथा हटारुहरुलेथकाई मेट्ने बिश्रामस्थल तथा चौतारीको रुपमा प्रयोग गर्छन् भने यो ढुङ्गाको टुप्पोमा चढेर हेर्दा अलि टाढा सम्मको दृष्य देखिने भएकोले गोठालाहरुले यहि ढुङ्गामा लुकामारी खेल्ने र पशुवस्तुहरु कहाँछन् भनि नजर लगाउने गर्छन । त्यसैले गोठालाहरुको सारथि बनेको छ यो विशाल ढुङ्गा ।
कहिले काहिँपानकली आमा त्यही पुलको नजिकै अढेस लागेर बसेकोढुङ्गामाथी दिनभरी बसेर समय बिताउथिन् र ‍ओहोर दोहोर गर्ने ‌प्रत्येक मानिसलाई नियालेर हेर्थिन् । कति सँग मुस्कुराउदै कुरा पनि गर्थीन्, कतिले त उनीलाई केही मिठाइ, चुरोट, बिडी, नासो पनि दिन्थे । कतिले केही वास्ता नगरी खुरुखुरु आफ्नो वाटो लाग्थे । मानौँउनीले त्यहाँ बसेर प्रत्येक हटारुको अनुसन्धान गरिरहेकी हुन्थिन्  । साँझ परेपछी फुत्त आफ्नो घरतिर लाग्छिन कैले खाना पकाएर खान्छिन् त कैले भोकै सुत्दथिन् । उमेरले साठी वसन्त पार गरेकी, हँसिलो मुहारकी धनी,सेतो फुलेको कपाल, चाउरी परेका गाला, कालो जिनको चोली, ठेटुवाकपडाको गुन्यू,हातमा बाला, कसिलो पटुकी, दाहिने हातको कान्छी औलामा चाँदीको औँठीतिनि आमाको पहिरन् थियो भने गाउँमा कुनै दुःखी विरामि परेमा झारफुक गर्ने, जडिबुटि तथा ओखतिमुलो सिकाउने ति आमाको स्वभाव थियो । गाउँ घरमा धेरै जसोले उनीलाई पानकली आमा भनेर बोलाउँथे ।
पानकली आमा घरमा एक्ली छन् । उनी १९ वर्षको कलिलै उमेरमा उनको स्वामी रोजि रोटीको लागी मुग्लान तिर गएको बखत सडक दुर्घटनमा परेर उतै बिते । तेति बेला उनी सँग ६ महिनाको छोरा थियो ।छोरालाई मायाले लालु….. लालु… भनेर बोलाउँथिन् । गाउँमा सबैले लालु नै भन्ने गर्थे । त्यो गाउँको एक मेहनती इमान्दार सहयोगी विश्वासिलोकेटोकोरुपमा परिचित थियो । गाउँमा कसैलाइ केही समस्या परेमा खुर्र दुगुरेर पुगिहाल्थ्यो । त्यसैले त्यो गाउँमा सबैको प्यारो थियो लालु । तेही छोरालाई हुर्काउँदै बढाउदै उनको जवानी बित्यो ।
पानकली आमाको छोरो भरखर १८ वर्षमा पाईला टेकेको थियो । हाटबजार गएर  केही लत्ता कपडा लिएर छिट्टै आउँछु है आमा भनेर घरवाट हिडेको  वर्षैँ भैसक्यो, नत कुनै चिठी पठायो न त कुनै खबर  । उनको छोरा जिउँदो छ या मरेको आज सम्म कुनै खवर पाएकि छैनन् ।उनको छोरा जिउँदो भए त आजसम्म आईहाल्थ्यो सायद कुनै तलमाथि भैसक्यो  होलाभनीअनुमानकै भरमा  घाई घुई कुरा काट्ने मानिसको कमि छैन गाउँमा ।बिच-  विचमा हाट अनि मधेशबाट फर्केकाहरुलाई आफ्नो छोरा कहिँ कसैले देखेका छन् कि भनि निकै सोधीखोजी गर्थिन् । तर कहिँ, कतै, कसैबाट केहि अत्तो पत्तो लाग्न सकेन ।पानकली आमाको छोरा हाट जाँदा त्यही काठेपुल सम्म पुगाउन गएकी थिइन् । छिट्टै आउनु है बावु भनी गालामा म्वाँई खाएर बिदाई गरेकि थिईन्  । आज सम्म नफर्केपनि कुनै दिन पक्कै आउँछ भन्ने उनको आसा मरेको भने छैन ।
त्यसैले कैले काँही त्यही पुलमा अढेश लागेको ढुँगामा बसेर दिन बिताउँछिन्ओहोर दोहोर गर्ने हटारुलाई सोधिखोजी गरिरहछन्   दिनमा सयौँचोटी त्यही पुल र बाटोमा नजर लगाइ रहन्छिन् ।  जति हेरेपनि छोराको अत्तो पत्तो नपाउँदा उनको बाँच्ने आसाको त्यान्द्रो छिनिए झैँ हुन्छ । मन गरुङ्गो भएर साँस रोकिएला झैँ हुन्छ । कहीँ कसैले अपहरण गरेर बन्धक बनाएको पो छ कि ?कुनै अपराधिले बेपत्ता पारिदियो कि ? कुनै दुष्टले मेरो मुटुको टुक्रालाई मारी पो दियो कि ?यस्तैमा पानकली आमाले शङ्का उपशङ्काकासाथ आफ्नो विगतदेखि वर्तमानसम्मका सुख दु:खका पलहरु मानसपटलमा केलाउँदै लामो सास तानिन् । उनि जुरुक्क उठिन् । दुबै हात जोडेर शिरभन्दा माथि लिईन् र टाउको भुईतिर निहुरायर मनमनै पुकारा गर्न थालिन्- हे भगवान् ! हे परमेश्वर ! कुनै शत्रु बैरीको फन्दामा परेको भएपनि मेरो छोराले छुट्कारा पावस् । एक पटक मेरो छोराको अनुहार हेरेर मैले मर्न पाउँ । उनी कोठाभित्र फन्फनि घुमिन् र ठिङ्ग भएर उभिईन् । आफुले ओढेको बर्कोको छेउले  एकपटक आँसु पुछिन्  ।
पानकली आमा कोठाबाट बाहिर निस्केर चारैतिर नियालेर  हेरिन् । चन्द्रमा चम्किलै थियो । ताराहरू पनि आफ्नै गतिमा टिलपिलाउदै थिए । चरा चुरुङ्गीहरु आ-आफ्नै वासस्थानमा मस्त निद्रामा थिए । हिमालहरु स्थिर रुपमै आफ्नै स्थानमा अढेस लागेर जुनकोशितलतामा मौन थिए । नदीको शुसावटमा कुनै परिवर्तन थिएन । रातिको पहरेदार चमेराले आफ्नो आहारा खोज्न फाट्ट फुट्ट घुमेको देखिन्थ्यो । जुनेली रात जता ततै उज्यालो छ चारै तर्फ हेरौँ हेरौँजस्तो लाग्ने रात्रिकालिन आफ्नो सुन्दरतामा प्रकृतिले नलुकाई छरप्रष्ट पारेको भएपनि पानकली आमालाई त्यसले रत्तिभर पनि लोभ्याएको छैन। उनको मनमा एउटै यादले सताईरहेको छ । छोरा कहिले घर आउला र आमा भनि बोलाउला । उनी फुत्त कोठा भित्र पसिन् सुल्पा घोप्टो पारेर सिरानी नजिकै राखिन् र बर्को ओढेर ओछ्यान्मा गुटीमुटि भएर निदाउने कोशिस गरिन् ।
रातिको २ बजेको थियोपानकली झसङ्ग भएर बिउझिन् । उनले सपनामा छोराको अनुहार झलक्क देखिन् । पहिलेको भन्दा मोटो र सुन्दर थियो । उसले मुस्कुराउँदै भन्यो “आमा म मरेको छैन । म जिउँदै छु । मधेशमा हाम्रो घर छ । म तपाईलाई लिन आएँ,छिटोहिड्नुहोस् । मधेश तिर जाउँ । यहाँ हजुरलाई निकै दुःख भयो“ छोराको यो बचन सुनेपछि उनी निकै हर्षित र मोहित भईन् । वर्षौँ पछि छोरालाई एक्कासी भेटेपछि उनी छिटो छिटो दुगुरेर अँगालो हाल्न गईन् । उनको हात उनी सुतेको खाटमा गएर बेस्सरी बजारीयो । उनी झसङ्ग भईन्, आँखा खोलेर हेर्दा त्यस अन्धकारमय कोठामा आफु बाहेक कसैलाई पनि देखिनन् । उनी जुरुक्क उठेर ओछ्यानमा बसिन्। शरिर भरि चिटचिट पसिना आयो । एक छिन पछिगालामा हात लगाएरनिकैबेर घोरिएर सोचिरहीन् । उनको गाउँबाट धेरैजना मधेशतिर बसाई सरेका थिए । मधेशमा उकालो ओरालो गर्नु पर्दैन । आरामले खान लगाउन पुग्छ भन्ने उनीले सुनेकी थिईन् तर मधेश कस्तो छ भन्ने देखेकि थिनन् । उनीनिदाउने कोशिस गरिन् अहँ आँखा झिमिक्क पनि भएन । उनी जुरुक्क उठिन् र कोठाभित्र फन्फनी घुम्न थालिन् ।  किन हो किन आज उनको  मन चन्चल हुन थाल्यो  । उनलाइ निकै छटपटी भयो । उज्यालोको पर्खाइमा  पटक पटक  झ्यालबाट बाहीर हेरि रहिन्।
बिहान झिसमिसे उज्यालोसँगै अघिल्लो साँझ नदीमा माछा मार्न जाल थापेर गएका जलेउरुहरुको बाक्लो आओत-जाओत देखिन्थ्यो । चरा चुरुङ्गीहरु उज्यालो भएको संकेत स्वरुप विहानको सितल अनि मनोरम वातावरणमाचिर्र चिर्र चुर्र चुर्र गरी आफ्नै भाषामा संगित भरी रहेका थिए । रात भरीको उज्यलो दिने जुन पश्चिमतिर ओरालिएर छितिजमा डुब्न लागेको थियो । हिमालको टुप्पोमा टाँसीएर रहेको सेतो बादल घामको पहिलो किरण पर्दा सिँन्दुरे रङमा परीवर्तन भएको देखिन्थ्यो । असोज महिनाको बिहानी हल्का हावाको शिरशिरावट सँगै पानकली आमा जुरुक्क उठिन्। त्यो राति देखेको सपना उनको दिमाखमा एकोहोरो फनफनी घुमिरहेको थियो । सपनामा छोराले तुरुन्त आउनु भनी बोलाएकोले उनी मधेशतिर हानिने तयारी भईन् । आफुसँग भएका एक जोर कपडा, ओड्ने बर्को र वाटोमा खानलाई चामल च्यूरा पोको पारी एक सानो कुम्लो बोकेर घरबाट फुत्त निस्किन्।
पानकलीआजभन्दा पहिलात्यो पुलभन्दा टाढा  कहिल्यै पनि गएकी थिईनन्। यहाँबाटमधेश जान एक हिमाल छिचोल्नु पर्छजुन हिमाल  निकै उचाईँमा छ । प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन त्यही हिमालको टुप्पोमाअवस्थित शिवजीको मन्दिरमा दर्शन गर्न हजारौ मानिसहरु आउने गर्छन । यो हिमाल अलि उचाईमा भएकोले अक्सिजनको कमि हुने हुनाले बुढापाकाहरुलाई त्यहाँ सम्म पुग्न  हम्मे हम्मे पर्दछ । यो कुरा उनीले सुनेकी त थिईन् तर भोगेकी थिईनन् । पानकली आमा आज तेही बाटो हिँडिरहेकि छन्एक सुरमा । जुन हिँडाईमा आशा, भरोसा, विश्वास, माया, ममता र स्नेहको प्रगाढ सम्वन्ध जोडिएको प्रस्ट हुन्छ  ।
बाटोको बिच बिचमा अटल हिमालको फेदिवाट पत्थरको कडा भाग चिरेर कलकल बगिरहेका पानीका स्वच्छ मुलहरु प्रसस्तै देखिन्छन्| तिर्खालागेको बेला त्यही पानी पिउँदै उकालो काट्दै गरेका बटुवाहरुको ओहोरदोहोर बाक्लै भेटिन्छ । बाटोमा कोही हटारुहरु भेटेमा खुब नियालेर हेर्न बिर्सेकी छैनन् । जङ्गल भित्रको उकालो बाटोको वर पर डाँफे  कालिज जस्ता चराहरु दौडिरहेका अनि साना साना रङ्गी विरङ्गी चराहरु भुर्र-भुर्रउडिरहेका देखिन्थे । कतैगाई भैसीहरु घाँटिमा लगाएको घण्टी बजाउदै एक सुरमा बुकि घाँस चरीरहेका देखिन्थे ।  गोठालाहरु खर्सु र तिलेलिजस्ता डाले घाँसका रुखमा चढेर  घाँस काट्दै सुमधुर गीत गाईरहेका देखिन्थे । कोही मोहीका ठेकी बोकेर तल बेँसीतिर झर्दै थिए । माथि हिमालको नाङ्गो भाग तलहरीयाली जङ्गल बिचबिचमा ठूला ठुला चौर । चौरको छेउ छाउमा साना साना खर्कहरु । ती खर्कहरुमा रात परे पछी बटुवाहरु गोठालाहरुसँगै बास बस्ने गर्दछन् ।
पानकलीहिँड्दा हिँड्दै निकै थाकिन्। बाटोबाट अलि पर चौरको किनारामा एउटा खर्क देखियो। जहाँ मानिसहरु झुम्मिएर बसेका थिए ।त्यहि खर्कमा गएर बाहिरबाट पुलुक्क भित्रैसम्म नजर डुलाईन् ।  खर्कमा ठूलो धुनी बालिएको थियो । ठूला ठूला रुखहरु काटेर शिंगैगोलिया  अगेनामा हालेकाले धुनीको राप अली पर पर  सम्म जान्थ्यो । धुनीको ओरीपोरि राती बास बस्न आएका बटुवाहरु आगो ताप्न खचाखच गरी झुम्मिएका थिए ।पानकली आमा खर्कको एक छेउमा उभिएको देखेपछि बास बसेका बटुवा मध्येका अर्ध बैसे एक जना लोग्ने मान्छेले अलि ठाँउ खालि गरेर बस्न संकेत गरे । ती आमा त्यहि एक छेउमा गएर केहि नबोली बसिन् । सबै जनाले राति तेही धुनीमा खाना पकाएर खाए पानकलीले केही पनि खाईनन् । उनी भोकै बसेको देखे पछि तेहीँ बास बसेको बटुवा मध्येबाट एक जनाले सोधिखोजि गरे आमा तपाईले किन खाना खानु भएन ? उनले आफुलाई केही भोक नभएकोले खाना नखाएको कुरा बताईन् तर त्यो मानिसले आफुसँग भएको रोटी ल्याएर पानकली आमालाई खानको लागी निकै आग्रह गर्यो । कुनै बेला उनको छोराले उनी बिरामी हुँदा यसरी नै आग्रह गर्दथ्यो ।
आमाले त्यो मानिसको आग्रहलाई नाई भन्न सकिनन् । दिनभरीको उकालोको हिँडाईले  ती  आमाको घाँटी सुकेर होला रोटी निल्न निकै गाह्रो भो त्यो देखेर गोठालोले एक बटुको मोही दियो । मोही र रोटी खाईन् र आँखाभरी आँसु निकाल्दै भनिन् बाबु तिम्रो जय होस । त्यो देखेर बटुवा पनि निकै मर्माहीत भयो र उनलाई सोध्यो आमा तपाई कहाँ जान लाग्नु भयो ? उनले आँसु पुछ्दै भनिन् बाबु म मधेश तिर जान लागेको । मेरो छोरा बेपत्ता भएको  बर्षौँ भईसक्यो । आज सम्म कहिँ कतैबाट अत्तो पत्तो भएन र कहिँ कसैले भेटेको छैन । उसैको खोजीमा म मधेशतिर जान लागेको बाबु भनि उनले लामो सास फेरिन् र आफुसँग भएको बर्को ओढेर त्यही खर्कको एक छेउमा सुतिन् ।
दिनभरिको कठिन हिडाईले थाकेकी उनीविहान मिर्मिरे नहुदै उठिन् । उनले नजिकै बलिरहेको धुनि हेरिन् । आगोको गोल टल्किरहेको थियो । हिमाल नजिकै भएकोले विहानको चिस्सोले कठ्याङ्ग्रिएका हात एकछिन गएर सेकाईन् र उकालो चढ्न सुरु गरिन् । माथि हिमालको टुप्पो बाट हेर्दा जङ्गलको भाग तल देखिन्थ्यो । साना साना हिमालका चुचुराहरु अँझै तल देखिन्थे । असोजको मैना भेडी गोठालाहरुले दिन प्रतिदिन हिमालको बुकि घाँस सकिएपछि भेडाका बथानहरु तल बेँसीतिर झार्ने क्रम चलिरहेको थियो । यो हिमालअन्य चुचुराभन्दा निकै अग्लो भएकोले होला त्यहाँ पुगेपछि निकै टाढा टाढाका हिमशरृङ्खलाहरु लहरै लागेका देखिन्छन् । अलि होचा – होचा  चुचुराहरु तल – तल देखिन्छन् ।तिनैचुचुराहरु र जङ्गलको बिचमा बनेका ठूला ठुला चौरहरुमा भेडा गाई भैँसीहरु चरेका हेर्नलाई आँखा अली तल ओरालेर हेर्नु पर्छ ।
सूर्यको रातो किरण हिमालको चुचुराको टुप्पा टुप्पामा छोएको देखिन्छ । तलबाट एकोहोरो हावा चलेकोले पानकली आमाको गुन्यू जोडले फरफराई रहेको छ ।  ओढेको बर्को उडाउला जस्तो गरि जोडले लागेको हावाको धक्काले उनको खुट्टा ठाउँमा टेक्न नसकी कैले यता कैले उता हल्लीदै लट्ठीको सहारामा हिँडि रहेकी छन् । ओढेको बर्कोले कम्बर भन्दा माथिको पुरै भाग लटपटिएकी छन् । उकालो चढ्दा उनलाई निकै कठीन भईसकेको थियो । लेक लागेर ती आमाको ओठमुख निला काला भएका थिए । अक्सिजन कम भएकाले होला बिच बिचमा लट्ठीको सहारामा उभिएर सुईअ.. सुईअ… गर्थिन् ।
पानकली आमा लेकको टुप्पोमा पुगिन् । अब लेक सकियो उनले फर्केर आफ्नो बास स्थान तर्फ हेरीन् । निकै तल धेरै गाउँहरु अश्पष्ट देखिन् । उनको आँखाले आफ्नो गाउँ ठम्याउन सकिनन् । चारै तर्फ नजर डुलाईन जता ततै  हिम शृङ्खलाहरु मात्र देखिन्थे । निकै टाढा टाढा सेता हिमशृङ्खला अलि तल स -साना थुम्काहरु त्यो भन्दा तल जङ्गलको भाग कसैले रेखा तानेर बराबर गरे जस्तो ।बाटोको एक छेउमा चौतारी बनाईएको थियो । उकालो हिँडेर सकेपछि बटुवाहरु यसै चौतारीमा विश्राम लिने गर्दछन् ।चौतारीको एक छेउमा केहीचुच्चे ढुङ्गा खडा गरि फूल पातीहरु चढाएको एउटा थुप्रो देखिन् । याहाँ शिवजीको बास स्थान भएको बिश्वास गर्ने गरेकोले बटुवाहरुले आफ्नो मनको ईच्छा पुरा होस भनेर याहाँ फूल पातीहरु चढाउने गर्दछन् । पानकली आमाले पनि वरी पोरी घुमीन् र फूल टिपेर शिवजीलाई सम्झेर चढाईन् ।
मनमनै के के भनीन् त्यसपछी उनीले आफ्नो  गन्तब्य स्थान तर्फ हेरीन् । डाँडाकाँडा निकै तल देखिए । त्यो भन्दा तल जङ्गलको भाग देखियो भने बस्तिहरु निकै तल देखिए। आफ्नो गन्तव्य स्थानतर्फ नियालेर हेरिन्। बिहानको समय जताततै आकास खुलेको  थियो। सुर्यको किरण हिमालको टुप्पोमा छर्प्रस्ट भएर परिवर्तित किरणले आँखालाई असहज तुल्याई रहेको भएता पनि  वुढेसकालमा धमिलियका आँखाको नजरले भ्याउने सम्मको दृश्य राम्ररी देखियो। नाङ्गो पहाडको मुनि जङ्गलको रेखा भन्दा तल कहीँकतै कपासको विस्कुनजस्ता कुहिरोका डल्लाहरू जङगलभित्र लुकामारी गरेको देखिन्थ्यो। अलि तल जङ्गलभित्रका नाङ्गा फाँटहरू प्रस्ट देखिन्थे। गोठालाहरूले विहानको धुनी वालेर आएको धुवाँ माथि- माथिसम्म आएर कुहिरो संगै विलय भएको देखिन्थ्यो । वारिपारि हिमालको टुप्पोवाट उर्लेर आएको पानीका छहराहरू नागवेलि आकारमा जङ्गललाई चिरेर तल बेँसीमा विलय भएको दृस्य स्पष्ट देखिन्थ्यो।उनीले अलि तल नजर लगाएर हेरिन् । पहाडको टुप्पोमा भएकोले लट्ठीको सहाराले उनको गन्तव्य स्थानको पहिचान गर्ने कोसिस गरिन् ।
उनको साथमा न त कोहि साथि थिए न त कुनै अन्य मानिस । उनले आफ्नो गन्तव्य स्थानको कुनै मेसो पाउन सकिनन्। एक पटक सुईअ… गरिन् र लामो श्वास तानिन् । चाउरी परेका गालामा दुवै हात लगायर एकछिन्घोरिएर बसिन् फेरि जुरुक्क उठिन् । दुई पाईला अगाडी सारीन् दुई पाईला पछाडी सारीन् धमिलियका आँखालाई दाहिने हातले छाया पारेर निधारमा हात लगाईन् आँखाको नजर पुगुन्जेल टाढाटाढासम्मको दृश्यहरु राम्ररी अबलोकन गरिन्र किँकर्तव्यविमुढ भई रन्थनिएर उनको मुखबाट एक्कासी आवाज आयो  ।लालु…. लालु… छोरा… छोरा… छोरा….मलाइ लिन आइजा ।कुनै बेला लालु आफ्नो नजरबाट टाढा हुँदा र खाना खाने बेला यसै गरी बोलाउँथिन तर आज धेरै वर्ष पछि पहिलो पटक लालुलाई  आफ्नो स्वरले भ्याउने सम्मको बल लगाएर पटक पटक बोलाईन्। उनले बोलाएको आवाज त्यस मानव रहित हिमालको चुचुरोमा निकै टाढाटाढासम्म पुगेर वारिपारि खडा भएका हिमश्रृङखलामा ठोकिएर पुन:आवाज प्रतिध्वनी भई आफ्नै कानमा गुन्जियो। लालु…. लालु… छोरा… छोरा… छोरा….।नुतन प्रभातको रमणीय बिहानीमा स्वच्छ पाटनमा हावाको बेगसँगै हल्लीरहेका नौरङ्गी फूल र यसै बिचमा नाचिरहेका रङ्गीचङ्गी चराहरुले आफ्नै भाषामा हावाको शिरशिरावटसँगै उनको आवाजसँग स्वर मिलाए ।उनको शरीरमा एक्कासी कम्पन आयो  निधारमा चिट् चिट् पसिना आई ओठमुख निलो भएर आयो र उनी त्यँही थचक्क बसिन् ।
कुम्लो बोकेकै थिईन् बर्को ओढेकै थिईन्  उनका आँखा तिरमिर तिरमिर भए । श्वास-प्रश्वास एकोहोरो बढ्दै गयो ।उनको ओठमुख सुक्दै गए। पानी पानी भनिन्। त्यहाँ पानी दिने अन्य कोही शाथी थिएन । मुटुको धड्कन बढेर आयो जताततै अँध्यारो देखियो ।उनी एक्कासी  बेहोस भएर त्यहीँ ढलीन् ।उनलाई कसैले अँगालो हालेजस्तो लाग्यो ।उनकोकानमाउही सपनामा बोलेको छोराको  आवाज  गुन्जिन थाल्यो -“आमा म मरेको छैन….आमा म मरेको छैन”। उनी उठ्न खोजिन् शरीर उठेन । कसैलाई अँगालो हाल्न खोजिन्। उनको हात माथी उठ्नसकेन ।उनी निकै छटपटाईन् र केही बोल्न खोजिन् तर सकिनन् । उनका आँखा सिधा आकासतिर सोझिए  । युगौँ देखीनिरन्तर चलिरहेको सृष्टि संन्चालनको नियम अनुसार मानव शरीरको अन्तिम समय सम्म रहने मुटुको धड्कन बिस्तारै कम हुँदै घाँटीमा हिक्क – हिक्कको आवाज आयो । धमिलिएका आँखावाट अन्तिम पटक विहानीको घामको किरणसँगै टल्किने सित पातबाट झरेझै आँसुका दुई थोपाजमिनमा पोखिए । आफ्नो मुटुको टुक्रा छोरालाई भेट्ने वर्षौँ देखिको सपना बोकेका ती आँखाका नानीहरु अन्तिम पटक चारैतिर फनफनी घुमेर फेरी कहिले नखुल्ने गरी सदाको लागी बन्द भए ।
शब्दार्थ
बर्कोः कपासबाट बुनेको एक किसिमको पछ्यौरा
ठेटुवाः हातले बुनेको कपासको कपडा
खर्सुः एक किसिमको डाले घाँस
तिलेलोः एक किसिमको डाले घाँस
धुनीः खर्क भित्र सिङ्गै गोलिया सल्काएर बालिले आगो 
जलेउरुः नदीमा जाल थापेर माछा मार्ने मानिस

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार