भोली आइतबारदेखि कोहलपुर नगरपालिका भित्रका विद्यालयहरु ६ महिनापछि आंशिक रुपमा सञ्चालनमा आउन लागेका हुन् । पहिलो चरणमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरुलाई मात्र प्रत्यक्ष सिकाइ कक्षाहरु सञ्चालन गर्ने र अन्य कक्षाहरुको हकमा परिस्थिति हेरी निर्णय गरिने नगरपालिकाले जनाएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
६ महिनादेखि बन्द रहेका बाँके कोहलपुर नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आंशिक रुपमा भोलीदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना कहरका कारण बन्द रहेका विद्यालयहरु आंशिक रुपमा भोली आइतबारदेखि सञ्चालनमा आउन लागेका हुन् । नगरपालिकाले नगर भित्रका विद्यालयहरु आंशिक रुपमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर खुलाउन लागेको हो । शुक्रबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्ष्ीय बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने औपचारिक निर्णय गरेको थियो ।
यस अघि बसेको कोहलपुर नगरपालिका, नगर शिक्षा समितिले सबै विद्यालयहरुलाई प्रत्यक्ष तथा बैकल्पिक सिकाई सहजीकरण सञ्चालनका सम्बन्धमा ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ कार्यान्वयनका सन्दर्भमा १० बुँदे निर्देशन जारी गरेको थियो । बैठकमा नगर शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले नगर शिक्षा समितिले जारी गरेको निर्देशनहरु सुझाव तथा सल्लाह तथा निर्णयका लागि बैठकमा प्रस्तुत गरेका थिए । सरकारले समेत सुरक्षा मापदण्ड सहित विद्यालय खुलाउने निर्देशन अनुसार नगर क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको सुझाव र सल्लाह अनुसार कक्षा ८ देखि १० कक्षा सम्मका विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।
उनका अनुसार पहिलो चरणमा ८ देखि १० कक्षा सञ्चालन हुनेछन् । विद्यालय सञ्चालन भएको पन्ध्र दिनपछि आवश्यकताका आधारमा तल्लो तहका कक्षा समेत सञ्चालन हुनेछन् । त्यसको लागि नगर शिक्षा समितिले सम्पूर्ण विद्यालयलाई प्रत्यक्ष तथा बैकल्पिक सिकाई सहजीकरण सञ्चालनका सम्बन्धमा कार्ययोजना पेश गर्न निर्देशन जारी गरिसकेको छ । ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको भविश्य अन्यौल भयो । अहिले सरकारले समेत विद्यालय सञ्चालनको लागि निर्देशन जारी गरिसकेको छ ।
सोही अनुसार कोहलपुरका सरोकारवाला निकायहरुको सल्लाह अनुसार विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।’ नगर शिक्षा शाखा प्रमुख पौड्यालले भने । यस अघि कोहलपुर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । ती सबै विद्यालयहरुमा पठनपाठन सुरु गर्नको लागि निर्मलीकरण समेत भइरहेको उनले जानकारी दिए । नगर शिक्षा शाखाका प्रमुख पौड्यालले विद्यालय सञ्चालनको सम्बन्धमा निकै कडाई गरिएको बताए । उनका अनुसार कोरोना कहरका बीच विद्यालय सञ्चलन गर्नुपर्ने भएकोले सम्बन्धित सबै विद्यालयहरुको कार्ययोजना माग गरिएको हो ।
आइतबारदेखि कक्षा ८ देखि माथिका कक्षा ८ देखि माथिका कक्षा दिनमा एउटा कक्षा मात्र सञ्चालन हुनेगरी प्रत्यक्ष सिकाई कक्षाहरु सञ्चालन गर्ने र अन्य कक्षाहरुको हकमा परिस्थिति हेरी निर्णय गरिनेछ । यसैगरी विद्यालयहरुले २०७७ असोज महिनादेखि मात्रै मासिक शुल्क लिन पाउने बताइएको छ । विद्यालयहरुलाई जारी गरिएको निर्देशनमा शिक्षक अनिवार्य उपस्थित हुनुपर्ने, चैत्र दोस्रो साता सम्म सबै कोर्स सकिने गरी कार्ययोजना बनाउनु पर्ने, पाठ्योजना अनुसार पढाउनुपर्ने र वि.व्य.स, शि.अ.स. अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय गर्नुका साथै, विद्यार्थीको पठनपाठन, स्वास्थ्य सुरक्षा, बीमाको प्रबन्ध तथा सिकाइ सहजीकरण सञ्चालन विधिबारे जिम्मेवारी विभाजन गर्नुपर्नेछ ।
जोर– विजोर कक्षा सञ्चालन, भौतिक दुरी व्यवस्थापन जस्ता विधि अबलम्बन, आधारभूत विद्यालय सामाजिक दुरी कायम गर्दै शिष्ट र संख्या विद्यालय आफैले निर्धारण गर्नु पर्ने निर्देशन जारी गरिएको उनले बताए । शुक्रबारको बैठकले अबदेखि कोहलपुर नगरपालिकामा हरेक व्यक्तिको लागि होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने निर्णय गरिएको छ । नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलका अनुसार आफ्नो खर्चमा होम आइसोलेसनमा बस्न नसक्ने अवस्था रहेका व्यक्तिको हकमा वडा अध्यक्ष र सरोकारवालाको सिफारिस अनुसार नगरपालिकाले व्यवस्थापन गर्नेछ ।
बैठकमा बोल्दै नेकपा कोहलपुरका अध्यक्ष बसन्ती अधिकारीले कोरोना कहर विद्यामान रहेकोले विशेष सुरक्षा सावधानीका साथ विद्यालय खोेल्नु नै उपयुक्त हुने बताइन् । उनका अनुसार कोरोनाका हकमा व्यक्तिले सुरक्षा अपनाउनु नै उपयुक्त हुने बताइन् । उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले समेत कोरोना कहरका बाहनामा विद्यालय सञ्चालन नगर्नु थप बेफाइदा हुने भन्दै शैक्षिक संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । बैठकमा सहभागी अन्य सरोकारवालाहरुले कोरोना कहर विद्यामान रहेकोले सावधानी अपनाउँदै जानु पर्नेमा नगरपालिकालाई सल्लाह र सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्