खेलाडीको खडेरी हुन दिइने छैनः शाही



पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता नेपालगन्जमा हुँदैछ । आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको उल्टो गन्ती सुरु भइसकेको छ । प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरूले पनि अहिले आप्नो कामलाई तिव्रता दिएका छन् । नेपालगन्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ । यसका साथै प्रतियोगितामा सहभागिता जनाउने टिमको व्यवस्थापन लगायतको महत्वपूर्ण काम पनि जोडतोडका साथ भइरहेको छ । अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्ला फुटबल संघले सहकार्य गरेको छ । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीसँग प्रतियोगिता तयारीकै सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंशः

१. नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई कसरी लिनुभएको छ ?

निश्चय पनि नेपालमा महिला फुटबल प्रतियोगिता एकदमै कम हुने गरेका छन् । लामो समयको अन्तरालपछि नेपालगन्जमा हुन लागेको ठूलोस्तरको यो प्रतियोगिताले राम्रै प्रतिफल दिन्छ जस्तो लागेको छ । साथै, यो प्रतियोगिता महिला फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास पनि मैले लिएको छु ।

२. प्रतियोगिताले यस क्षेत्रमा महिला फुटबल विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ?

यो प्रतियोगिताले महिला फुटबलप्रति यस क्षेत्रका खेलाडीको रुची बढाउन पक्कै सघाउ पु¥याउँछ । प्रतियोगितापछि स्थानीय तहमा महिला खेलाडीको सहभागिता बढ्ने सम्भावना पनि देखिन्छ ।

३. पहिलोपटक नेपालगन्जमा हुन गइरहेको ठूलो प्रतियोगितामा टिम सहभागिताको अवस्था कस्तो रहेको छ ?

प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहने छ । विभागीय टिमका साथै भारतका दुई टिमसँग हाम्रो कुराकानी भइरहेको छ । बाँके जिल्ला आयोजक भएकाले यहाँको एउटा टिम र बाँकी अन्य टिमको सहभागिता रहने छ । सबै टिमको नाम हामी एक-दुई दिनमा सार्वजनिक गर्नेछौँ ।

४. प्रतियोगिता तयारीका क्रममा आइपरेका चुनौती के कस्ता छन् ?

चुनौतीहरू छन् । तर, हामी आशावादी छौँ । हामी अहिले तयारीको अन्तिम अवस्थामा छौँ । अब पछाडी फर्कने बाटो हामीसँग छैन् । प्रतियोगिता गराएरै छाड्नेमा हामी दृढ संकल्पिक छौँ । यही अठोटका साथ चुनौतीलाई चिर्दै हामी अघि बढिरहेको अवस्था छ ।

५. अन्त्यमा, लुम्बिनीकप जस्ता इभेन्टहरू कहिले काहीँ मात्र हुने गर्छन् । सगग्रमा भन्नुपर्दा फुटबल खेलको विकास यहाँको भूमिका निरन्तर कसरी अघि बढिरहेको छ ?

यो कुरा एकदम मननयोग्य छ । फुटबल खेलमा सहभागिता र चासोका लागि हामीले तयारी गरिसकेको अवस्था छ । लुम्बिनी कप सकिने वित्तिकै हामी नेपालगन्जमै महिला खेलाडीहरूलाई लक्षित गरेर प्रशिक्षण चलाउछौँ । महिला खेलाडीमा निरु थापा र पूजा राना जस्ता खेलाडीहरू अबका दिनमा पनि हामी जन्माउने छौँ ।

खेलाडीको खडेरी हुन दिइने छैन । फुटबल क्षेत्रका विविध समस्यालाई चिरेर अगाडि बढ्दै जाने मेरो योजना रहेको छ । बाँके जिल्लामा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यमा मलगायत मेरो टिम सधै अघि बढिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार