नेपालगन्ज ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकता निश्कर्षमा पुगेको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम, चुनाव चिह्न र प्रमुख तीन नेताको वरियताक्रममा सहमति गरेसँगै एकता प्रक्रिया निश्कर्षमा पु¥याएको हो ।
कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले एकतापछिको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको मिसन टुडेलाई जानकारी दिए । हाल ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न रहेको छ । पार्टी एकीकरण सबै काम टुंगो लगाएर वैशाख १५ गते घोषणा गरिने उनले बताए ।
खानका अनुसार एकतापछिको पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । यसअघि रन्जितालाई सह अध्यक्षको पद दिने विषयमा छलफल भइरहेको थियो । खानले भने, ‘हामीले उहाँलाई तेस्रो वरियताको नेताका रूपमा राख्ने सहमति गरेका छौँ । सहअध्यक्षमा निर्वाचन आयोगले के भन्छ त्यहीअनुसार गर्छाैँ ।’
यसैगरी चौधरी र राउतका लागि कार्य क्षेत्र पनि तोकिएको उनले जानकारी दिए । राउतले चितवनदेखि झापासम्म र चौधरीले चितवनदेखि पश्चिम क्षेत्र हेर्ने सहमति गरेको छ ।
गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेश सभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५औँ र ६औँ स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्