अहिलेपनि शवदाहका निम्ति कोहलपुरबाट ४६ किलोमिटर बढी दुरी पार गरेर राप्ती सोनारी–२ स्थित अगैया घाटमा जानुपर्ने बाध्यता छ । कोहलपुरमा अत्याधुनिक प्रविधियुक्त शवदाह गृह सञ्चालनमा आएपछि वर्षौदेखिको कोहलपुरबासीको शवदाह गृहको सपना साकार हुने आशा गरिएको छ ।
कोहलपुर (बाँके) ।
कोहलपुरमा शवदाह गृह कहिले ? वर्षौदेखि जनस्तरबाट सोधिदै आएको आम प्रश्न यो हो ? हुनपनि एकलाख २० हजार जनसङ्ख्या रहेको कोहलपुरमा अहिलेसम्म एउटापनि शवदाह गृह छैन् । यहाँका मानिसहरूको मृत्यु भयो भने ४६ किलोमिटर सडकदुरी पार गरेर राप्ती सोनारी–२ स्थित अगैयामा जानुपर्ने बाध्यता छ । मृत शरिरलाई दाहसंस्कार गर्न कोहलपुरबाट राप्ती सोनारीसम्म जान एकदमै खर्चिलो छ । सवारीमै जाँदापनि एक घण्टा लाग्छ । आर्थिक रूपमा सम्पन्न नागरिकका लागि सहज भएपनि विपन्न नागरिकका लागि निकै ठूलो समस्याका रूपमा रहेको छ ।
अब चाहीँ कोहलपुरबासीको वर्षौदेखि शवदाह गृह सपनाले सार्थकता पाउँदैछ । कोहलपुर–११ को अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनीखोलाको संगमस्थल पारि आधुनिक प्रविधियुक्त शवदाह गृह सञ्चालनको पूर्वतयारी भइरहेको छ । निर्माण उपभोक्ता समितिका अनुसार छिटोमा एक महिना र ढिलोमा डेढ महिनामा शवदाह गृह औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ । २० असोज २०८१ मा शवदाह गृहको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास गरेका थिए ।
कोहलपुर शवदाह गृह निर्माण समितिका संयोजक चक्रप्रसाद अधिकारी शवदाह गृह सञ्चालनको लागि अत्याधुनिक प्रविधियुक्त मेसिन जडान बाहेक सम्पूर्ण काम सम्पन्न भइसकेको बताउँछन् । कुल ५६ लाख लागतमा भारतको राजधानी दिल्लीस्थित नोयडा भन्ने स्थानबाट अत्याधुनिक मेसिन कोहलपुर ल्याइसकेको उनले जानकारी दिए ।
‘कोहलपुरमा मेसिन आइपुगेको एकसाता भयो । प्राविधिकहरू दिल्लीबाट आउँदैछन् । उहाँहरू आउनुभयो भने मेसिन जडान केहीदिनमा सुरु हुन्छ,’ अधिकारीले मिसन टुडेसँग भने । प्राविधिकहरू कोहलपुर आइपुगेको १५ दिनमै मेसिन जडान सम्पन्न हुने उनको भनाइ छ । लाखौँ मूल्य पर्ने उक्त अत्याधुनिक मेसिन नेपालमा विभिन्न सामग्री ढुवानी गर्दै आएको युरोटेक भन्ने ढुवानी क्मपनीले ल्याएको हो । मेसिन जडानसमेत कम्पनीकै दक्ष प्राविधिकहरूले गर्नेछन् ।
मेसिन जडान गरिसकेपछि कसरी सञ्चालन गर्ने भनेर प्राविधिकहरूले एकसाताको तालिमसमेत प्रदान गर्ने संयोजक अधिकारीले बताए । मेसिन सञ्चालनको लागि कोहलपुरमा दुई जना व्यक्तिले तालिम लिनेछन् । पछि उनीहरूले नै शवदाह गृहमा रोजगार पाउनेछन् । ‘हामीले ल्याएको मेसिन अत्याधुनिक छ । मेसिनको १ सय फिट लामो चिम्नी छ । एउटा पानीको ट्यांकी हुन्छ । त्यसले धुँवा तान्छ । धुँवालाई पानीमा हालिन्छ । पानीमा सफा गरेर मात्रै धुँवा हावामा जान्छ । त्यो धुँवा पूर्णत प्रदूषणरहित हुनेछ ।’ मिसन टुडेसँग कुराकानी गर्दै संयोजक अधिकारीले भने ।
उनका अनुसार मेसिन सञ्चालनमा आइसकेपछि एउटा शवको दाहसंस्कार गर्न एक क्वीन्टल दाउरा लाग्ने र दाह संस्कारका लागि ४५ मिनेटदेखि १ घण्टा समय लाग्नेछ । कोहलपुरमा शवदाह गृह सञ्चालनमा आएपछि यहाँका रहेका ८० प्रतिशत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि वरदान सावित हुने उनको विश्वास छ । अहिले अत्याधुनिक शवदाह गृह निर्माण भइरहेको स्थल थारू समुदायको परम्परागत घाटसमेत हो ।
हालसम्म भौतिक पूर्वाधार निर्माणतर्फ कम्पाउण्ड, शौचालय, प्रतिक्षालय, धारा र मेसिन जडान गर्न आवश्यक सम्पूर्ण फाउण्डेसनहरूको निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अझै गाडी पार्किङ स्थल, सडक पीच गर्ने र बोट विरुवा रोप्ने र धार्मिक गतिविधिका लागि आवश्यक संरचना निर्माण गर्ने योजना रहेको उनले बताए । शवदाह गृह निर्माणको लागि हालसम्म १ करोड रूपैयाँ खर्च भइसकेको छ । शवदाह गृह निर्माणका लागि निजी क्षेत्रबाट मात्रै ८० लाख रूपैयाँ संकलन गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
हालसम्म शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख, ग्लोबल आइएमई बैंक लिमिटेडले २० लाख सहयोग गरेका छन् । कोहलपुर नगरपालिकाले १५ लाख रूपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रूपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो ।
यसअघि शवदाह गृह निर्माणका लागि १ करोड २५ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । पहिला स्टिमेट गरिएको भन्दा अन्य थप संरचनासमेत निर्माण हुने भएकोले लागत बढ्ने अनुमान गरिएको छ । ‘अबको केही महिनामा कोहीपनि कोहलपुरबासीले अगैया जानुपर्दैन् । डेरावाल र आर्थिक रूपमा विपन्न नागरिकहरूले समेत चिन्ता गर्नुपर्दैन् । शवदाह गृह हाम्रो लागि कोशेढुंगा सावित हुनेछ । शवदाह गृहलाई धार्मिक पर्यटन प्रर्वद्धनको क्षेत्रको रूपमा विकास गरिनेछ ।’ संयोजक अधिकारी भने ।
कोहलपुर कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको संगमस्थल हो । यहाँ देशभरका ५० बढी जिल्लाका नागरिक बसोबास गर्दै आएका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्रबाट कोहलपुर आएर डेरामा बस्ने, शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाहरूका लागि सहज हुनेछ । छिमेकी पालिकाबाट दाहसंस्कारका लागि आउन सक्नेछन् ।
लामो समयको प्रतीक्षापछि कोहलपुरबासीको सपना पूरा हुने समय आएको कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले बताइन् । उनका अनुसार कोहलपुरमा शवदाह नहुँदा ४६ किलोमिटरको दुरी पार गरेर अगैयाघाट जानुपर्ने बाध्यता अब अन्त्य हुनेछ । ‘नयाँवर्षमा नयाँ पुण्य कामको सञ्चालन गर्ने गरि निर्माण भइरहेको छ’ उनले मिसन टुडेसँग भनिन्, ‘शवदाह गृह निमार्णका लागि सहयोग गर्ने सबैलाई व्यक्त गर्न चाहान्छु ।’









प्रतिक्रिया दिनुहोस्