आजदेखि नेपालगन्जमा रात्रीकालिन ‘राजा खान नेपालगन्ज टी १२ क्रिकेट’



बाँके ।

आजदेखि बाँकेको नेपालगन्जमा रात्रीकालिन क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा आजदेखि ‘राजा खान नेपालगन्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुन गइरहेको हो । नेपालगन्ज उपमहानगरपालिका– १८ स्थित विशालचोक मैदानमा आज राति ८ बजेदेखि प्रतियोगिताको उद्घाटन हुने क्लबका सचिव साहिल अन्सारीले जानकारी दिए ।

उनका अनुसार कुल १४ लाख लागतमा सम्पन्न हुने प्रतियोगितामा ४० वटा टिमले सहभागिता जनाएका छन् । ‘हालसम्म १० लाख रूपैयाँको व्यवस्था भइसकेको छ । बाँकी अन्य रकमको लागि विभिन्न स्थानीय तह लगायतका संघसंस्थाहरूसँग आवश्यक समन्वय भइरहेको छ ।’ उनले भने ।

तेस्रो संस्करणसम्म आइपुग्दा पुरस्कार राशीमा समेत वृद्धि गरिएको क्लबका सचिव अन्सारीले बताए । आयोजकले दिएको जानकारी अनुसार पहिलो संस्करणमा ५० हजार र दोस्रो संस्करणमा एक लाख रूपैयाँ राशी पुरस्कार रहेको थियो । तेस्रो संस्करणमा यसलाई वृद्धि गर्दै प्रथमलाई एक लाख २५ हजार रूपैयाँ नगद पुरस्कार राशी राखिएको छ । क्लबका सचिव अन्सारीले दिएको जानकारी अनुसार उपविजेतालाई ६० हजार नगद पुरस्कार राशी उपलब्ध गराइनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सरको रूपमा समाजसेवी राजा खान रहेको उनले बताए । जसका कारण प्रतियोगिताको टाइटलमा समेत उनको नाम जोडिएको हो । आज रातिदेखि सुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भइसकेको शनिबार आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार