‘लागूऔषध नियन्त्रणमा स्थानीय तह जिम्मेवार’



नेपालगन्ज ।

नेपाल प्रहरीका पूर्व एसएसपी एवं लागूऔषध विरुद्धका अभियन्ता बसन्तराज कुँवरले लागूऔषध नियन्त्रणमा स्थानीय तहले जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । लामो समयदेखि लागूऔषधविरुद्धको अभियानमा सक्रिय कुँवरले स्थानीय सरकारले काम नगरी समस्याको समाधान नहुने निष्कर्र्षमा आफूहरूले एउटा कार्ययोजना तयार गरेर स्थानीय सरकारहरूलाई झकझक्याइरहेको बताए ।

शनिबार नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँके शाखासँग सहकार्य गरी आयोजित एक कार्यक्रममा कुँवरले अहिले लागूऔषध विरुद्ध सरकारले प्रहरीमा लागूऔषध नियन्त्रण महाशाखाको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन नसकेको बताए । उनले जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरूलाई लागूऔषध नियन्त्रकको भूमिका दिइएपनि उनीहरूसँग त्यसका लागि पर्याप्त ज्ञान र साधनस्रोत नरहेको उल्लेख गरे ।

प्रहरीले गर्ने लागूऔषध नियन्त्रणको काम मुद्दा मामिलामा मात्रै सीमित रहेको र यसविरुद्ध खटिने प्रहरीहरूलाई पनि लागूऔषधबारे पर्याप्त जानकारी नरहेको पूर्व एसएसपी कुँवरको भनाइ छ । अर्काेतिर लागूऔषध नियन्त्रणका लागि समुदायस्तरबाटै सेतनाको काम जरुरी रहेकोले आफूले चार वर्षे रणनीतिक कार्ययोजना तयार गरेर स्थानीय तहहरूलाई आग्रह गरिरहेको उनले बताए । हालसम्म देशका करिब डेढ दर्जन स्थानीय तहहरूले उक्त कार्ययोजनामा सहकार्य सुरु गरिरहेको उनले जानकारी दिए ।

उनको कार्ययोजनामा पालिका र वडा तहमा सबै सरोकारवालालाई समेट्ने गरी समिति गठन गर्ने उपाय सुझाइएको छ । यसैगरी पहिलो वर्ष समाजका सरोकारवालाहरूलाई प्रशिक्षण दिने, दोस्रो वर्ष लागूऔषधमुक्त स्कुल, टोल कार्यक्रम, लागूऔषधविरुद्ध स्थानीय सरकारकै लगानीमा पुर्नस्थापना केन्द्र लगायत प्रभावकारी संरचना निर्माण गर्ने योजना समेटिएको छ ।

यसैगरी तेस्रो र चौथो वर्षमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजनाको खाका बनाइएको छ ।

हरेक वर्ष महानगरपालिकाले २५ लाख, उपमहानगरपालिकाले २० लाख, नगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाख रूपैयाँ छुट्याएमा चार वर्षमा लागूऔषध मुक्त पालिका बन्ने ८० प्रतिशत सम्भावना रहने उनले दाबी गरेका छन् । उक्त कार्यक्रमका लागि स्थानीय सरकारहरू र सरकोरकारवाला निकायहरूलाई घचघच्याइरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार