स्वर्गीय कोइरालाको १३औँ पुण्यतिथिः पूर्वप्रधानमन्त्रीदेखि सहकर्मीले सम्झिए कोइरालासँगका विगत



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

चैत पहिलो साता तिरको कुरा हो, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अशोक कोइराला एउटै कार्यक्रममा थिए । कपिलवस्तु जिल्लाको अधिवेशनका प्रमुख अतिथि थिए, नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्षसमेत रहेका नेपाल । पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका कोइराला अतिथिका रूपमा सहभागी थिए । त्यहाँ उनीहरूबीच कुराकानीसमेत भएको थियो । सोही कार्यक्रममा भएकै बेला कोइरालालाई ब्रेनह्यामरेज भयो । चैत ११ गते कोइरालाको उपचारको क्रममा मृत्यु भयो ।

शनिबार कोहलपुरस्थित कोइरालाको निवासमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथिकै रूपमा सहभागी भए, पार्टी अध्यक्षसमेत रहेका नेपाल । जीवनपनि कति विचित्रको हुँदा रहेछ । आज कोइराला भौतिक रूपमा यो संसारमा छैनन्, दुई साता अघि भेटेका कोइरालालाई श्रद्धाञ्जली दिन आइपुगेका थिए, उनी । स्वर्गीय अशोक कोइरालाको १३औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले गुनगुनाए, ‘मृत्युपनि मान्छैपिच्छे फरक हुँदो रैछ । जनताको छोरो मर्दा देशै रुदो रैछ’ ।

उनले यस्ता श्लोक र गीतका हरफहरू खास व्यक्तिको सम्मानको लागि गाइने भन्दै स्वर्गीय कोइरालाले संसार छोड्दा देशै रोएको बताए । उनका अनुसार कोइरालाको मृत्यु अप्रत्याशित, पत्याउनै नसकिने, दुःख र ओजिलो रूपमा भएको छ । ‘कपिलवस्तु जिल्लाको अभिवेशनमा कोइराला र मसँगै थियाँै । उहाँ पर बस्नु भएको थियो, हात मिलाउनुभयो । हात मिलाइसकेपछि मैले अनुहारतिर हेरे । त्यस दिन उहाँको अनुहारमा मैले तेज देखे । पछि बिरामी भएको खबर पाए । उहाँले हामीलाई छोडेर जानु भएको छ’ पूर्वप्रधानमन्त्री नेपालले भने ।

आफ्नो नजरमा कोइराला एक राजनीतिककर्मी र अधिकारकर्मीका रूपमा रहेको उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै पार्टीले कोइरालाको स्मृतिमा स्मारिका प्रकाशित गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा स्वर्गीय कोइराला आफ्नो आफूभन्दा सिनियर सहकर्मी रहेको सम्झिए, नेकपा (एकीकृत समाजवादी)पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वालाले । अनेरास्ववियूमा राजनीति गर्दा कोइराला आफ्ना सिनियर नेता र जिम्मेवारीप्रति निष्ठावान रहेको उनको भनाइ थियो । कोइरालालाई क्रान्तिको योद्धाको रूपमा स्मरण गर्दै पूर्वमन्त्री ज्वालाले जीवनकालमा कोइरालाले पूरा गर्न नसकेका सपना र कामलाई अघि बढाउने जिम्मेवारी पार्टीको काँधमा आइपुगेको र पार्टी त्यसका लागि तयार रहेको ज्वालाले बताए ।

उक्त अवसरमा बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार स्वर्गीय कोइरालाले राजनीति गर्नेहरू पदका लागि लोप गर्नुहुँदैन, आदर्श, सिद्धान्त र निष्ठामा कटिबद्ध हुनुपर्छ भन्ने प्रेरणा दिएर जानु भएको छ । कोइराला बाँके र कोहलपुर क्षेत्रको विकासका लागि कोशढुंगा रूपमा रहेको सभापति गौडेलले बताए । बहुदलीय पद्धतीमा योग्य व्यक्तिलाई न्याय गर्ने प्रणाली नभएको भन्दै जिउँदो हुँदासम्म पार्टी र आन्दोलनलाई न्याय नगरेको भन्दै आगामी दिनमा भने कोइरालाका परिवारलाई न्याय गर्नुपर्ने माग पूर्वप्रधानमन्त्री नेपालसँग गरे ।

यस्तै संविधान सभा सदस्य देवराज भारले आफ्नो पहिलो भेट कोइराला महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदा भएको सम्झिए । पार्टी पार्टी राजनीतिपनि सँगसँगै गरेको भन्दै त्यतिबेलाको पार्टी संगठन निर्माणको शसक्त र जुझारु सहयोद्धाको रूपमा आफूले उनलाई सम्झिने भारको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का नेता आइपी खरेल भने श्रद्धाञ्जली सभामा फरक सुनिए । उनले भने, ‘मलाई के लाग्छ भने मरेपछि प्रशंसा गर्ने काम बन्द गरौँ । सक्दो बाँच्दाखेरी उनीहरूको योगदानको चर्चा गरौँ । मरेपछि प्रशंसा गर्ने कुरा सामन्तवादी प्रवृत्ति हो ।’

नेकपाकालमा खरेल पार्टी अध्यक्ष र कोइराला पार्टी सचिव थिए । त्यतिबेला काम गर्दा कुनैपनि अवरोध नभएको बरु आफूलाई सहयोग गरेको सम्झिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार स्वर्गीय कोइराला पार्टीको नीति भन्दा माथि उठेर राजनीति गर्ने र विकासप्रेमी नेता थिए ।

मञ्जु बोल्दा श्रद्धाञ्जली सभामा रुवाबासी 

श्रद्धाञ्जली सभामा स्वर्गीय अशोक कोइरालाकी धर्मपत्नी मञ्जु कोइरालाले बोल्दा रुवाबासी नै चल्यो । सभालाई ७ मिनेट सम्बोधन गरेकी कोइरालाको सम्बोधन गरिरहँदा सभामा सन्नाटा छाएको थियो । सभामा उपस्थित बहुसङ्ख्यक सहभागिका आँखामा आँशु देखिन्थे । उक्त सभामा उनी बोलिरहँदा स्वर्गीय कोइरालाकी छोरी र छोरा, पार्टीकी नेता नारायणी ओली, लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीसहितका नेता कार्यकर्ता डाँको छोडेरै रोएका थिए । पूर्वमन्त्री प्रकाश ज्वालादेखि, उनका दाई र कान्छा बुवाले समेत आँशु थाम्न सकेनन् ।

मञ्जुले भने स्वर्गीय कोइरालाको जन्म, सहयात्रा, राजनीतिक जीवन उनको निष्ठा तथा उनका अधुरा सपनाबारे बोलिन् । उनका अनुसार कोइरालाको पाल्पामा जन्म भएको थियो । उनले बर्दिया र बाँकेलाई कर्मथलो बनाए । उनले भनिन्, कोइराला कमरेड निस्कलंक व्यक्तित्व हुुनुहुन्थ्यो । मैले श्रीमान्, सहयात्री, जीवनमा सबैभन्दा धेरै माया गर्ने व्यक्ति, छोराछोरीले बाबा, नाती र नातिनीले हजुरबुबा, दाजुहरूले भाइ, बुबाले छोरा र सबैले आफ्नो प्यारो व्यक्ति गुमाएका छौँ । हामीलाई दुःखद् घडिमा साथदिनेहरूप्रति कृतज्ञ छौँ ।’

आफ्नो श्रीमान्ले बाचुञ्जेल कहिल्यैपनि केही कुराको लोप नगरेको र पार्टीबाट राजकीय पदसमेत प्राप्त नगरेको भन्दै हरहमेशा पार्टीप्रति समर्पित भएको बताइन् । म प्रतिबद्धता व्यक्ति गर्न चाहन्छु, मञ्जुले भनिन्, ‘उहाँका अधुरा सपना पूरा गर्नेछु । यही समाज र यही क्षेत्रमा मेरो बाँकी जीवन समर्पित गर्नेछु । मलाई विश्वास छ, यहाँहरूले मलाई त्यसरी नै सहयोग गर्नुहुनेछ । म मेरा श्रीमान्को अभाव कहिल्यै पनि हुन दिने छैन् । यो घरको ढोका हजुरहरूको लागि सधै खुला हुनेछ ।’

उनले अस्पतालदेखि आर्याघाट, सामाजिक सञ्जालदेखि प्रत्यक्ष रूपमा घरमै भेटेर दुःखमा साथ दिने सम्पूर्णलाई धन्यवाद र आभार प्रकट गर्दै कोइरालाका सपना साकार गर्न हातेमालो गर्दैै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार