जुम्ला ।
सिंजा क्षेत्रका तीनवटा पालिकाका नागरिकलाई लक्षित गरेर सिंजा गाउँपालिकाको नराकोटमा नापी र मालपोत कार्यालय खुलेको छ । दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका थिए ।
कार्यालय सञ्चालन भएसँगै सिंजाबासीलाई नापी र मालपोत सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्य अन्त्य भएको छ । सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता हात पारेको मन्त्री बलराम अधिकारीले बताए । दुवै कार्यालयको दिगो व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आवश्यक सहयोग समेत गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।
नराकोटमा स्थापना भएका नापी र मालपोत कार्यालयले सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई भूमि सम्बन्धी सेवा प्रवाह गर्नेछन् । सिंजाका स्थानीय मोती दमाईले संघीयताको उपहार स्वरूप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपोत कार्यालय पाएकोमा खुसी व्यक्त गरे ।
गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । लामो प्रयासपछि उक्त निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्