सामान्य विवादमै कोहलपुरमा काँग्रेस नेताको हत्या



कोहलपुर नगरपालिका– ७ वनखेतका ३८ वर्षीय दुर्गाबहादुर पुनमगरको बिहीबार राति हत्या गरिएको छ । उनी पूर्व वडासदस्य तथा हाल नेपाली काँग्रेसका वडा उपसभापति समेत हुन् । हत्या आरोपमा प्रहरीले कोहलपुर– ४ का एक युवालाई पक्राउ गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट दिउँसोको सामान्य विवादका कारण पक्राउ परेका युवाले चिर्पट र टर्च प्रहार गरेर उनको हत्या गरेको कोहलपुर प्रहरीले जनाएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा चिर्पट र टर्चले प्रहार गरी नेपाली काँग्रेसका एक स्थानीय नेताको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका– ७ वनखेतका ३८ वर्षीय दुर्गाबहादुर पुनमगरको बिहीबार राति हत्या गरिएको हो । उनी पूर्व वडासदस्य तथा हाल नेपाली काँग्रेसका वडा उपसभापति समेत हुन् । उनको वडा नम्बर ७ कै रजगडवा गाउँमा हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलले मिसन टुडेलाई जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट पुनमगरलाई सडकमै चिर्पट र टर्च प्रहार गरेको खुल्न आएको उनले बताए । ‘बिहीबार दिउँसो भएको आपसी झगडाको विषयलाई लिएर गाउँकै एक युवाले चिर्पट र टर्च लाइट प्रयोग गरेर उनको ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’ प्रहरी निरीक्षक पौडेलले भने, ‘आरोपितलाई नियन्त्रणमा लिइसकेका छौँ । थप अनुसन्धान भइरहेकोले अन्य विषय भए पछि आउँला ।’
नेपाली काँग्रेस वडा नम्बर ७ का उपसभापतिसमेत रहेका पुनमगरको हत्या आरोपमा कोहलपुर नगरपालिका–४ का २३ वर्षीय राजु सुनारलाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पक्राउ परेका सुनार र मृतकबीच हत्या भएको दिन दिउँसो झगडा भएको र सोही विवादले राति हत्याकै रूप लिएको थियो ।
‘बिहीबार दिउँसो चार बजेतिर सामान्य झगडा भएको रहेछ । दुई पक्षबीच हात हालाहाल भएको भन्ने बुझिएको छ । सोही विषयलाई लिएर घटना भएको देखिन्छ । हामीले सुनारलाई नियन्त्रणमा लिएका छौँ ।’ अनुसन्धानमा समेत खटिएका प्रहरी निरीक्षक पौडेलले भने ।

प्रहरी नियन्त्रणमा रहेका सुनारले प्रहरीले लिएको प्रारम्भिक बयानमा आफूले मृतक पुनलाई आक्रमण गरेको स्वीकार गरिसकेका छन् । घटना बिहीबार राति करिब ९ देखि १० बजेको समयमा भएको भएपनि प्रहरीलाई भने राति ११ बजेतिरमात्र खबर पुगेको थियो । उनीसँगै रहेका केही युवाले पुनमगरलाई नेपालगन्जस्थित नर्सिङ होम पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । गम्भीर घाइते अवस्थामा उनीलाई उपचारका लागि नर्सिङ होममा पु¥याइएपनि त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोहलपुर प्रहरीका अनुसार बिहीबार दिउँसो सामान्य विवादपछि पुनमगरसहित तीन चारजनाको टोली घटना भएको ठाउँको एकसय मिटर पर एउटा पसलमा बसिरहेका थिए । ‘उनीहरूले त्यहाँ केही घण्टा बिताएका छन् । राती घर फर्किदा दुई जना अलि अघि र मृतक पुन केही ढिलो गरेर निस्किएका छन् । उनी निस्केको केही मिनेटमै कल्भर्ट नजिकै उनलाई पर्खेर बसेका युवाले पछाडिबाट प्रहार गरेको अनुसन्धानबाट देखिन्छ ।’ प्रहरी निरीक्षक पौडेलले भने । ज्यान मार्ने उद्देश्यले उनीमाथि चिर्पट र टर्च लाइटको प्रयोग गरेर कुटपिट गरिएको थियो । ती वस्तुहरू समेत बिहीबार राति नै पुगेको कोहलपुर प्रहरीले सबुतका रूपमा फेला पारिसकेको छ ।

यता, मृतकका आफन्त र नेपाली काँग्रेसका नेताहरूले रजगडवामा युवाहरूको समूहले पुग पुनमगरको हत्या गरेको दाबी गरेका छन् । घटनाको सत्यतथ्य रूपमा छानविन हुनुपर्ने र दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ । वडा नम्बर ७ वडाध्यक्ष ठग्गा थारूका अनुसार मृतक पुनमगर २०७४ को स्थानीय तहको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी हाल वडा पार्टीको उपसभापतिको जिम्मेवारीमा रहेको उनले बताए । बिहीबार राती ९ बजेतिर पुनमगर बाटोमा रगताम्मे अवस्थामा मोटरसाइकलसहित ढलेको अवस्थामा भेटिएको भन्ने फोन आएको वडाध्यक्ष थारूले जानकारी दिए ।

आफूलाई फोन गर्ने स्थानीयहरूलाई उहाँलाई जसरीपनि अस्पताल पु¥याउन भनेको र त्यसको केही समयपछि नै अस्पतालबाट पुनको मृत्यु भएको भन्ने खबर प्राप्त भएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बताउँदै कोहलपुरले प्रहरीले पोष्टमार्टम पश्चात थप कुरा खुल्ने जनाएको छ ।

पुनमगरको हत्यापछि वनखेतमा सन्नाटा

पूर्व वडासदस्य समेत रहेका काँग्रेसका स्थानीय नेता पुनमगरको हत्यापछि कोहलपुर नगरपालिका वडा नम्बर ७ वनखेत स्तब्ध भएको छ । परिवारको घरमुली र वडाकै अभिभाकसमेत रहेका उनको हत्यापछि परिवारमा मात्रै होइन गाउँमै सन्नाटा छाएको छ । दिउँसो वडा कार्यालयमा काम छ भनेर बिदाइ भएर गएका श्रीमानको हत्याको खबरपछि उनकी श्रीमती छाँया पुनमगर अर्धबेहोस अवस्थामा छिन् । शारिरिक रूपमा अशक्तसमेत रहेकी पुनकी श्रीमती छायाँ आफू दिउँसो गहुँ काट्न गएको र राती अबेरसम्म नआउँदा खोजी गरेको र पछि त्यस्तो दुःखद् घटना घटेको बताइन् ।

अकस्मात घटेको घटनाले छायाँको सिउँदो पुछिएको छ । नाबालक छोराछोरीले अनाहकमा अभिभावक गुमाएका छन् । वृद्ध आमाले होनाहार छोरा गुमाएकी छन् भने वनखेत बस्तीले स्थानीय नेता गुमाएको छ । मृतक पुनमगरका काका मोहनलालका अनुसार उनका चार भाइ छन् । उनी साइला भाइ हुन् । मृतकी श्रीमती, १५ वर्षीय छोरा र १२ वर्षीय छोरी रहेक छन् । बुढी आमासमेत रहेको उनले जानकारी दिए ।

श्रीमती छाँया पुन शारिरीक रूपमा अशक्त छिन् । उनलाई दैनिक फिजियोथेरापी गराइरहनुपर्छ । पुनकी आमा हरिकला आफूलाई बुढेसकालमा बेसहारा बनाएर छोराले छोडेर गएको बताइन् । उनी रूदँै भन्छिन्, ‘मेरो छोरोले कसैको कुभलो चिताएको थिएन । परिवारको भन्दा समाजको चिन्ता गर्दै हिड्यो । आज उसैलाई कुटीकुटी मारे ।’

ससुरा शेरबहादुर डाँगीका अनुसार उनी गाउँमा कसैलाई पनि अप्ठ्यारो पर्दा अगाडि जान्थे । बस्तीको विकासका लागि चिन्तित हुन्थे । मृतक पुनमगर वडा नम्बर ७ कै विकासप्रेमी युवा भएको उनको भनाइ छ । ‘राम्रो मान्छे थिए, अरूको भलो गर्दा आज आफैँ मारिए ।’ उनले भने । मृतक पुनका दाईहरू रोजगारीका लागि भारतमा छन् । उनीहरू केही दिनमै नेपाल फर्किने आफन्तले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार