खगेन्द्र दाहाल । खजुरा ।
बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको फाइनलमा बैजनाथ–७ को नवज्योति युवा क्लब प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृतिको अवसरमा सञ्चालन गरिएको डाँफे कपको मंगलबार सम्पन्न सेमिफाइनल खेलमा खजुरा गाउँपालिका– ८ घियाको पशुपति युवा क्लबलाई ०–२ गोल अन्तरले नवज्योतिले जित निकालेको हो ।
खेलको ६६औँ मिनेटमा नवज्योतिका जर्सी नम्बर ८ का भुपेन्द्र शाहीले पहिलो गोल गरेका थिए । खेलको ७३औँ मिनेटमा जर्सी नम्बर ७ का सन्दिप सिंहले दोस्रो गोल गरे । भुपेन्द्र र सन्दिपले गरेको गोल नै फाइनल पुग्ने नवज्योतिको कडी बन्यो । खेलको दौरानमा रेफ्रीसँग सामान्य विवाद हुँदा नवज्योतिका टिमकोच कृष्णचन्द्र ठकुरीलाई पहेलो कार्ड दिइएको थियो भने सपोर्टर दर्शकलाई पहेलोसँगै रातो कार्ड खेलको ७३औँ मिनेटमा रेफ्री केवी शाहीले दिएका थिए ।
खेलको म्यान अफ द म्याच नवज्योति युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी सन्दीप सिंह भए । नेपालगन्जस्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फुड रेस्टुरेष्टले म्यान अफ द म्याच घोषित हुने सिंहलाई नगद ११ सय साथमा ट्रफी मेडल प्रदान गरे ।
सेमिफाइनलदेखि म्यान अफ द म्याच र उत्कृष्ट हुने खेलाडि लेलिन ब्राण्डको टिसर्ट साथमा झोला, कप र म्यागेजिन नेपालगन्ज म्याराथनको तर्फबाट प्रदान गरिएको थियो । दशौँ डाँफे कपमा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रथम पुरस्कारको राशि भने गत वर्षदेखि नै समाजसेवी लीलबहादुर थापाले सौजन्य गर्दै आएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रूपैयाँ सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका सचिव बलराम खत्रीले जानकारी दिए । आज बुधबार हुने दोस्रो सेमिफाइनल खेल आयोजक न्यु डाँफे स्पोट्र्स क्लब र भिलेज होप राझा डुडुवा बीच अपरान्ह्र ४ बजे हुने खेल संयोजक तिलकवीर सुनारले बताए ।
बाँके जिल्लामा क्लबस्तरीय खेलमा खजुरामा न्यु डाँफे स्पोट्र्स क्लब डि गाउँले सर्वाधिक राशीसहितको पुरस्कार राखेर खेल सञ्चालन गर्दै आइरहेको छ । दशौँ संस्करण सम्म सञ्चालन गरिरहेको न्यू डाँफेले अर्को वर्ष गोल्डकप खेल सञ्चालन गर्ने गरी तयारी गरिरहेको खेल संयोजक सुनारले जानकारी दिए ।
अहिले खजुराको मिनि रंगशालामा सञ्चालन भइरहेको दशौँ डाँफे कपमा सहभागी हुने टिमहरूले व्यवसायीक खेलाडीहरूलाई प्राथमिकता दिएका छन् । खेललाई व्यावसायीक बनाउन खेलाडीहरूको आर्थिक अवस्थासमेत मजबुत हुनुपर्ने सहभागी टिमहरूको भनाइ छ । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्