मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी तीव्र



नेपालगन्ज ।

बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारबीच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढेको छ ।

भोलि शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपूर्ण फुटबलको तयारीका बारेमा छलफल भइसकेको छ ।
छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारको प्रतिनिधिबीच छलफल भएको थियो । अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गतेसम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिताअघि मैत्रीपूर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।

छलफलमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले र मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपूर्ण फुटबलले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीको आत्मविश्वास बढाउन र अवसर प्रदान गर्ने भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बताइन् ।

कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले महिला सशक्तीकरणसँगै महिला फुटबल खेलाडीलाई उच्च स्तरको अवसर प्रदान गर्नमा प्रतियोगिता सहयोग बन्ने बताइन् । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले लुम्बिनी कप महिला फुटबल बाँकेमा हुनु गर्वको विषय भएको बताउँदै प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताइन् । राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारू, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा भएको छलफलमा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रचारप्रसार संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल र समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहको सहभागिता रहेको थियो ।

पहिलोपटक नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टिमको सहभागिता रहनेछ । सहभागी टिममा नेपाल र भारतका ख्यातीप्राप्त र चर्चित खेलाडी सहभागिता रहने जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार