कोहलपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकामा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुरुवात भएको छ । भूमिहीनहरूलाई जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नापजाँचको कार्य सुरुवात भएको हो । बुधबार एक औपचारिक कार्यक्रमकाबीच कोहलपुर नगरपालिका वडा नम्बर ७ बाट नापचाँजको कार्य सुरु गरिएको हो । नगर क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा बोल्दै नगर प्रमुख आचार्यले जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको काम भइरहेको बताए । उनका अनुसार कोहलपुरमा बुधबार वडा नम्बर ७ मा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुरुवात गरिएको छ ।

उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । ‘निस्सा वितरण र जग्गा नापजाँचको काम पहिल्यै सकिसक्थ्यो । सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि बीचमा रोकियो । अहिले भूमि आयोगले पूर्णता पाएको छ । कामहरू पुनः सुरु भएका छन् । निस्सा वितरण र जग्गा नापजाँचको कामलाई पूर्णता दिएलगत्तै जग्गाधनी लालपूर्जा वितरणको काम सुरु गरिनेछ ।’ नगर प्रमुख आचार्यले भने ।

उपप्रमुख संगीता सुवेदीले वर्षौँदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पुर्जा नपाउँदाको पीडाको समाधान हुने बताइन् । उनले भनिन् ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ । अब ढुक्क हुनुहोस् तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा नगरपालिकाबाट खटिएका प्राविधिकहरूलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’

वडा नम्बर ७ का वडा अध्यक्ष ठग्गा थारूले भूमिहीन समस्यालाई अब दीर्घकालीन रुपमा समाधान गर्ने गरी काम भइरहेको बताए । वडा नम्बर ७ मा ७८९ वटा निस्सा वितरण गरिने वडा कार्यालयले जनाएको छ । निस्सा वितरणपछि जग्गा नापजाँचको काम सुरु गरिने अमिन गोविन्द केसीले बताए । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये वडा नं.६ बाहेक अन्य सबै वडामा निस्सा वितरण र जग्गा नापजाँचको काम करिब पूरा भइसकेको केसीले जानकारी दिए । कोहलपुर नगरपालिकामा ५९८ भूमिहीन दलित, ८५० भूमिहीन सुकुम्बासी तथा १६ हजार ७०० घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । वडा नंं.१ मा जग्गा नापजाँचसँगै फिल्ड बुक तयार भइ जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी समेत भइसकेको छ ।

७ दिनको हकदावीसम्बन्धी सूचना समेत पूरा भएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी १४१ जनालाई जग्गाधनी प्रमाणपत्र वितरणको अन्तिम तयारीमा रहेको पनि केसीले बताए । यस्तै वडा नं.२ मा पनि फिल्डबुक करिब तयारी अवस्थामा छ । कोहलपुर नगरपालिका वडा नं.१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीगरी १ हजार ३६५ घरधुरीको १ हजार ४६ कित्ता जग्गा नापजाँच भएको गरिएको फिल्ड सहायक प्रभुमान थारूले जानकारी दिए ।

यस्तै वडा नंं.२ मा ३ हजार १०२ घरधुरीको ३ हजार ५०० कित्ता, वडा नंं.३ मा १ हजार ६६६ घरधुरीको २ हजार ६०० कित्ता, वडा नंं.४ मा ६७१ घरधुरीको १५३ कित्ता नापजाँच भएको छ । यस्तै वडा नं.५ मा ९६८ घरधुरीको १ हजार ९७ कित्ता, वडा नंं. ८ मा ५१६ घरधुरीको ९०० कित्ता, वडा नं. १० मा एक हजार ५ घरधुरीको एक हजार १५० कित्ता रहेको छ ।

वडा नं.११ मा एक हजार २०० घरधुरीको १ हजार १० कित्ता, वडा नं. १२ मा १ हजार ६६० घरधुरीको २ हजार ८०० कित्ता, वडा नं. १३ मा १ हजार २२५ घरधुरीको ७०० कित्ता, वडा नंं. १४ मा ८०० घरधुरीको १ हजार ११ कित्ता र वडा नं. १५ मा ९५० घरधुरीको २ हजार ५०० कित्ता जग्गा नापजाँच गरिएको छ । वडा नंं. ७ मा निस्सा वितरण र जग्गा नापजाँचको काम भइरहेकोले त्यसको विवरण आउन केही दिन लाग्ने केसीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार