तिलकपुरमा २५ कट्टा क्षेत्रफलमा तरकारीखेती गरिरहेका थारू व्यवसाय सुरु गर्नुभन्दा अघि घर बनाउने मिस्त्रीको रूपमा काम गर्थे । मिस्त्री काम गर्दा घरको आर्थिक अवस्था सुध्रिने र आम्दानीको स्रोत बढ्ने नदेखेपछि व्यवसायमा लागेको उनले बताए । ‘म दिनभर मिस्त्री काम गर्थेँ । साँझ घर फर्किँदा कृषि हाट बजारमा तरकारी किन्न जान्थेँ । उनीसँग कुरा गर्दा भाडामा जमिन लिएर व्यवसाय गरिरहेको बताउँथे । हाट बजारमै तरकारी बेचेर मनग्य आम्दानी हुने थाहा पाएपछि यतै लागेको हुँ ।’
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–३ मदनचोक । मदनचोकदेखि दुई किलोमिटर पक्की सडक पार गरेपछि पुगिन्छ समावेशी माध्यमिक विद्यालय । यो विद्यालय बैजनाथ–४ मा अवस्थित छ । यही विद्यालयको ठिक अगाडि छ, ‘भाइको कृषि फर्म’ । यस फर्मका सञ्चालक हुन्, बैजनाथ–४ का तुल्सीराम थारू ।
उनी बैजनाथ–४ का एकमात्र व्यवसायिक कृषकका रूपमा परिचित छन् । विसं २०७५ सालदेखि अनौपचारिक रूपमा तरकारी व्यवसाय सुरु गरेका थारूले ७७ सालदेखि भने व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । उनी तरकारी बेचेरै मासिक एक लाख रूपैयाँ कमाइ गर्छन् । व्यवसायबाट उनले वार्षिक १२ लाख रूपैयाँ आम्दानी गरिरहेका छन् ।
तिलकपुरमा २५ कट्टा क्षेत्रफलमा तरकारीखेती गरिरहेका थारू व्यवसाय सुरु गर्नुभन्दा अघि घर बनाउने मिस्त्रीको रूपमा काम गर्थे । मिस्त्री काम गर्दा घरको आर्थिक अवस्था सुध्रिने र आम्दानीको स्रोत बढ्ने नदेखेपछि व्यवसायमा लागेको उनले बताए । ‘म दिनभर मिस्त्री काम गर्थेँ । साँझ घर फर्किँदा कृषि हाट बजारमा तरकारी किन्न जान्थेँ । उनीसँग कुरा गर्दा भाडामा जमिन लिएर व्यवसाय गरिरहेको बताउँथे । हाट बजारमै तरकारी बेचेर मनग्य आम्दानी हुने थाहा पाएपछि यतै लागेको हुँ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । ठूलो जग्गा खाली रहेको र त्यसैमा व्यवसाय सुरु गर्ने निधो गरेर आफू व्यवसायमा होमिएको उनको भनाइ छ ।
दिनभर अरुको ज्याला मजदुरी गरेर साँझ आएर किनेर खानु भन्दापनि जग्गाको भाडामा तिर्नुपर्दैन । म अब यसैमा केही गर्छु भनेर दुई कट्टा जग्गाबाट तरकारी खेती उनले बताए । अहिले उनी २५ कट्टा क्षेत्रफल जमिनमा तरकारी व्यवसाय गरिरहेका छन् । उक्त जग्गासमेत अपुग भएको उनले बताए । उनले आठ किसिमका सागका आइटम बेच्न सुरु गरेका थिए । उनी भन्छन्, ‘त्यतिबेला साग धेरै बिक्थ्यो । आठ आइटमका साग बेच्थेँ । एकैपटकमा दुई क्विन्टलसम्म साग बेचेँ । आम्दानी राम्रो हुने देखेपछि सम्पूर्ण काम छोडेर पूर्णकालीन रूपमा व्यवसायमा लागेको हुँ ।’
पौरख चलाए आफ्नै माटोमा मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका थारू सफल हुनको लागि संघर्ष गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार सफल हुन गफ दिएर होइन पौरख चलाउनुपर्छ । उनी व्यवसायका लागि १२ महिनामा ९ महिना फर्ममै बिताउँछन् । ७२ वर्षीया आमा र श्रीमतीले उनको व्यवसायको प्रवद्र्धनका लागि सहयोग गरिरहेको उनले बताए । चार जनाको परिवार यही व्यवसायबाट धानेको थारूको भनाइ छ ।
व्यवसायबाट अहिले सफलताको स्वाद चाखिरहेका तुल्सीरामले कुराकानीको क्रममा रोचक र गम्भीर प्रसंग उठाए । पहिलो कुरा हो, उक्त फर्मको नामाकरण । अनि नाम कसरी रह्यो त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई सानैदेखि सबैले भाई भन्थे । पछि अलि ठूलो हुँदै गएपछि पनि सबैले भाई नै भनेर बोलाउँथे । मिस्त्री काम गर्दापनि त्यस्तै भयो । व्यवसाय सुरु गर्दासमेत तरकारी किन्न आउँदा भाई नै भन्थे ।’ त्यसैले आफूले फर्म दर्ता गर्दा भाईको कृषि फर्म नाम राखेको कृषक थारूले बताए । उनले भाईको कृषि फर्म विसं २०७७ सालमा स्थापना गरेका हुन् ।
तुल्सीरामले व्यवसाय सुरु गर्दा बहिनीको विवाहमा जम्मा भएको ३५ सय रूपैयाँ सापटी मागेर व्यवसाय सुरु गरेका थिए । भन्छन्, ‘मसँग व्यवसायका लागि कुनैपनि पैसा थिएन । मैले बहिनीसँग सापटी मागेको हो । विवाहको बेला जम्मा भएको पैसा दिएकी थिइन् । अहिले उसैका कारण लाखौँ कमाउने भएको छु ।’
थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने माध्यम व्यवसाय नै भएको उनले बताए । व्यवसाय गर्दा आफ्नो पहिलो र अहिलेको आफ्नो आम्दानीमा धेरै फरक परेको उनले बताए । उनका अनुसार पहिला मिस्त्री काम गर्दा साहुको भनेअनुसार काम गर्नुपर्ने बाध्यता थियो । अहिले भने आफैँ मालिक भएर काम गर्दा पहिलाको भन्दा कमाइ मात्रै भएको छैन् कि साहुको चिन्ता पनि छैन् कसैले केही भन्ला भन्ने डरपनि छैन् । आफ्नै मर्जीले काम गर्न पाइएको छ ।
उनका अनुसार व्यवसाय प्रवद्र्धनको लागि स्थानीय सरकारले समेत सहयोग गरेको छ । आफ्नो व्यवसायलाई प्रविधिमैत्री बनाउन सामग्री सहयोग गरेको उनले बताए । गाउँपालिकाले थोपा सिँचाइको लागि मोटर सहयोग गरेको उनको भनाइ छ । गाउँपालिकाले लागु गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आफूले सहयोग प्राप्त गरेको व्यवसायी थारूले बताए ।
प्रतिक्रिया दिनुहोस्