भूमि समस्या समाधान आयोगका उपाध्यक्ष तथा प्रवक्ता सनतकुमार कार्कीमाथि एक व्यक्तिसँग ३० लाख रूपैयाँभन्दा बढी सापटी लिएर फिर्ता नगरेको आरोप लागेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापतिसमेत रहेका कार्कीले ३० लाख रूपैयाँभन्दा बढी सापटी लिएर फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको हो । मिसन टुडेको सम्पर्कमा आएका आयोगका उपाध्यक्ष कार्कीले पनि लेनदेन भएको स्वीकार गरे । उनले आफ्नो कारोबारमा आएको समस्याका कारण पैसा फिर्ता गर्न नसकिएको बताए ।

भूमि समस्या समाधान आयोगका उपाध्यक्ष तथा प्रवक्ता सनतकुमार कार्की
वीरेन्द्र जैसी । नेपालगन्ज ।
भूमि समस्या समाधान आयोगका उपाध्यक्ष तथा प्रवक्ता सनतकुमार कार्कीमाथि एक व्यक्तिसँग ३० लाख रूपैयाँभन्दा बढी सापटी लिएर फिर्ता नगरेको आरोप लागेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवम् भूमि समस्या समाधान आयोगका उपाध्यक्ष तथा प्रवक्ता कार्कीले ३० लाख रूपैयाँभन्दा बढी सापटी लिएर फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा ठाडो उजुरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोतले समेत दुवै पक्षबीच छलफल गराउनको लागि पीडितबाट ठाडो उजुरी लिइएको पुष्टि गरेको छ । ‘यस्ता केशहरू प्राय दुवै पक्षबीच छलफल गराउनको लागि पहिले ठाँडो उजुरी लिने गरिन्छ । उहाँको केशमा समेत त्यहीँ गरिएको हो’ प्रहरी स्रोतले मिसन टुडेसँग भन्यो, ‘उजुरी परेपछि छलफलका लागि कार्की ज्यूलाई कार्यालयमा बोलाउनको लागि फोन सम्पर्क गरेका थियौँ, उहाँको फोन उठेन ।’
कार्कीले बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईका चन्द्रबहादुर वलीबाट २०८० साल चैत १५ गते नेपाल इन्भेस्टमेन्ट बैंकको चेकमार्फत ३० लाख रूपैयाँ सापटी लिएका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकको चेकमार्फत कार्कीले ३० लाख रूपैयाँ सापटी लिएकोमा एक वर्ष बितिसक्दा पनि उक्त रकम फिर्ता नगरेको भन्दै चैत ११ गते पीडित वलीले जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।
आयोगका उपाध्यक्ष तथा प्रवक्ता कार्कीले सापटी फिर्ताका लागि २०८१ साल असार १५ गतेको चेक दिएपनि उक्त चेक नसाटिएपछि पीडित वलीले चेक बाउन्स गराई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उजुरीमा ओलीले कार्कीलाई एक पटक प्रहरी कार्यालयमा झिकाइ छलफल गरी कानुन बमोजिम गरिदिन अनुरोध गरेका छन् ।
वलीले प्रहरीकोमा दर्ता गराएको उजुरीमा भनिएको छ, ‘दैनिक कामकाजको सिलसिलामा जिल्ला जाजरकोट खलंगा भेरी न.पा. वडा नं. ४ घर भई हाल जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ देवाफुलबारीस्थित बसोबास गर्दै आएका वर्ष ५२ सनतकुमार कार्कीलाई चिनजानको हिसाबले आफूलाई ठेक्कापट्टा गर्न रकम आवश्यक परेको भनी मसँग सहयोग मागेपछि मैले चिनजानका हिसाबले सहयोग गर्न भनि निज सनतकुमार कार्कीलाई मेरो नाममा रहेको इन्भेटमेन्ट बैंक लिमिटेडको खाताको चेकमार्फत मिति २०८०–१२–१५ गते रु. तीस लाखको बैंक चेक दिएकोमा निज सनतकुमार कार्कीले मलाई मिति २०८१–०३–१५ गतेको चेकमार्फत भुक्तानी दिने भनेर बैंक चेक दिएकोमा निजले दिएको मितिमा बैंकमा चेक सटही गर्न जाँदा बैंक चेकमा पर्याप्त रकम नभएको भनि चेक फिर्ता भएको सो बारेमा निजलाई पटकपटक जानकारी गराउँदासमेत अटेर गरेपछि मैले चेक बाउन्स गरी उजुरी प्रक्रिया अघि बढाउन खोजेको हुँ । निज पीडकलाई एकपटक कार्यालयमा झिकाइ छलफल गरी कानुन बमोजिम गरिदिनुहुन अनुरोध गर्दछु ।’
पीडित वलीका अनुसार कार्कीसँग चिनजानका आधारमा ठेक्काका लागि रकम आवश्यक परेको भन्दै एक महिनाका लागि पैसा सापटी मागेका थिए । तर, एक वर्ष बितिसक्दा पनि रकम फिर्ता नदिने, चेक साट्न जाँदा नसाटिने र त्यस विषयमा जानकारी गराउन खोज्दा फोन नउठाउने र अटेर गर्ने गरेर कार्कीले दुःख दिँदै आएका वलीले बताए ।
मिसन टुडेको सम्पर्कमा आएका आयोगका उपाध्यक्ष कार्कीले पनि लेनदेन भएको स्वीकार गरेका छन् । कार्कीले आफ्नो कारोबारमा आएको समस्याका कारण पैसा फिर्ता गर्न नसकिएको तर्क गर्दै केही रकम भने फिर्ता गरिसकेको दाबी गरे । उपाध्यक्ष कार्कीले आफूले केही दिनमै उक्त लेनदेनको विवाद सल्टाउने पनि बताए । ‘बाउन्स गरेको कतिबेला हो त्यो मलाई थाहा पनि भएन । प्रहरी कार्यालयमा निवेदन दिया होला । अब एक हप्तामा हामी सबै बुझाइदिन्छौँ,’ कार्कीले मिसन टुडेसँग भने ।
पीडित वली भने आफूले अहिलेसम्म कुनै रकम फिर्ता नपाएको बताउँछन् । ‘उहाँ (कार्की) ले कहाँ कसरी मलाई पैसा फिर्ता गर्नुभएको रहेछ । प्रमाणसहित आउन चुनौती दिन्छु ।’ उनले भने, ‘पैसा नभएको चेक थमाएर सम्पर्कविहीन हुने, हुँदै नभएको आरोप लगाएर हुन्छ । दुःख दिनुको पनि हद हुन्छ नी ।’
तर, पीडित वली आफूले पटकपटक सापटी फिर्ताका लागि जानकारी गराउन खोज्दा सम्पर्कमै नआउने गरेका कारण पैसा फिर्ता गर्ने नियत नदेखेपछि प्रहरीमा उजुरी दिन पुगेको बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार चेक बाउन्सका उजुरी आएमा प्रहरीले सम्बन्धित व्यक्ति सङ्ख्यालाई सम्पर्कमा ल्याउने, सम्पर्कमा नआए प्रहरी कार्यालयमा झिकाउने र मिलापत्र गराउन सहयोग गर्नेसम्म मात्रै गर्नसक्ने बताउँछन् । ‘दुई पक्षबीच मिलापत्र भएन भने चेक बाउन्सको मुद्दा त अदालतले मात्रै टुंगो लगाउने व्यवस्था छ,’ कार्कीले मिसन टुडेसँग भने ।
प्रतिक्रिया दिनुहोस्