सावित्रीको मृत शरीर मेडिकल कलेजलाई दान



चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइका लागि बाँकेमा मरणोपरान्त शरीर दान गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ की सावित्री सापकोटाको मृत शरीर दान गरिएको हो । काठमाडौँको सिभिल हस्पिटलमा उपचारको क्रममा सोमबार निधन भएकी सापकोटाको इच्छा बमोजिम उनको परिवारले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडलाइ शव हस्तान्तरण गरेको छ ।
कोहलपुर (बाँके) ।

चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइका लागि बाँकेमा मरणोपरान्त शरीर दान गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ की सावित्री सापकोटाको मृत शरीर दान गरिएको हो । काठमाडौँको सिभिल हस्पिटलमा उपचारको क्रममा सोमबार निधन भएकी सापकोटाको इच्छा बमोजिम उनको परिवारले मंगलबार लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडलाई शव हस्तान्तरण गरेको थियो ।

सापकोटाको पार्थिव शरीर मंगलबार मात्रै काठमाडौँबाट कोहलपुर ल्याइएको थियो । निधन हुनुभन्दा अघि सापकोटाले लर्ड बुद्ध एजुकेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनको लागि आफ्नो शव दान गर्ने परिवारसँग इच्छा व्यक्त गरेकी थिइन् ।

मृतक सापकोटाको शव मृतकका तर्फबाट छोरा दिपक सापकोटा र नेपालगन्ज मेडिकल कलेज चिसापानीका इन्चार्ज प्राडा राजेन्द्रराज वाग्लेद्धारा हस्ताक्षरित पत्रमा आगामी दिनमा कुनैपनि उजुरी नगर्ने शर्तसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव बुझाइएको उल्लेख छ । मृतकका श्रीमान ओमप्रकाश सापकोटा केसीका अनुसार एकेडेमी र सापकोटाबीच विस२०७८ सालमै शव दान गर्ने सहमति भएको थियो ।

उनले भने, ‘सावित्रीको दुःखद् निधन भएको छ । हामी मर्माहत छौँ । तर उनको इच्छा बमोजिम शरिर दान गरिएको छ ।’ उनले भने । आफ्नो मृत्युपछि शरीर चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूका सिकाइका लागि दिने इच्छा उनको थियो । त्यतिबेला दुवै पक्षबीच सहमति भएको र सोही सहमति अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर काम गरेको सापकोटा बताउँछन् । छोरा दीपक भन्छन्, ‘मृत्युपछि शरिर दान गर्ने आमाको इच्छा थियो । पार्थिक शरीर उहाँको इच्छा अनुसार मेडिकल कलेजलाई दान गरिएको छ । आमा हामीमाझ भौतिक रूपमा रहनु भएन । तर उहाँको शरिर चिकित्सा शिक्षा अध्ययन गर्नेहरूका लागि दान गरिएको छ ।’

मृतक सापकोटा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सहिद स्मृति केन्द्र नेपालका संस्थापक अध्यक्ष ओम प्रकाश सापकोटा केसीको धर्मपत्नी हुन् । उनी सहिद परिवारकी सदस्यसमेत रहेकी थिइन् । उनको शरीरलाई दान गर्नुपूर्व नेपाल कम्युनिस्ट पार्टी ‐माओवादी केन्द्र)ले कोहलपुरमा पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेको थियो । दान गरिएको शरिरलाई मेडिकल कलेज चिसापानीका इन्चार्ज प्रोडा राजेन्द्रराज वाग्लेलाई हस्तान्तरण गर्दा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर नगर अध्यक्ष बलबहादुर खड्का लगायतकाको रोहवरमा बुझाइएको थियो ।

चिसापानीमा एनाटोमी विभागमा कार्यरत डा. अनिल गुप्ताले यस्ता किसिमको मानवीय सोच भएका मान्छेहरू बिरलै पाइने बताए । मृत शरीरलाई गाड्ने वा जलाउने भन्दा यसरी कलेजलाई दिँदा सयौँ विद्यार्थीहरूले सिकाइ गर्न सक्ने उनले बताए । सापकोटा परिवारको सकारात्मक कदमबाट सबैले प्रेरणा लिन सक्ने गुप्ताले बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने पनि शरिर दान पूण्य कार्य भएको बताउँछन् । उनका अनुसार मृत्यु पश्चात शरीर दान गर्ने उत्कृष्ट मानवीय कार्यसमेत हो । नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा सहिद परिवारका सदस्यसमेत रहेका सापकोटा परिवारले गरेको कार्यले सबैलाई सकारात्मक सन्देश दिने केन्द्रीय सदस्य न्यौपानेले बताए ।

नेकपा माओवादी केन्द कोहलपुरका अध्यक्ष बलबहादुर खड्का भन्छन्, ‘जीवित रहँदासम्म सत्कर्म गरेर समाज सेवा गर्ने काम त हामी धेरैले गरेका हुन्छौँ, तर मृत्युवरणपछि पनि आफ्नो मृत शरीर अरुको लागि काम लागोस् भनेर आफ्नो शव दान गर्ने जस्तो उच्च आदर्श र नैतिक चेतनाको ज्ञान सबैमा हुँदैन । उक्त कार्य सापकोटा परिवारले गरेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १३ गते बुधबार