अगाडि बढ्यो नौबस्ता औद्योगिक क्षेत्रको काम



सोमबार ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर सामान्य विरोधका बीच सीमा क्षेत्रका संरचनालाई डोजर लगाएर भत्काउँदै नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सुरु गरिएको छ । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणाको करिब एक दशकपछि काम सुरु भएपछि ढिलै भएपनि नौबस्ता औद्योगिक क्षेत्र निर्माण हुने आशा जागेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

लामो विवाद र प्रतिक्षापछि नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढेको छ । औद्योगिक क्षेत्र घोषणाको लामो उतारचडावका बीच अन्ततः बाँकेको बैजनाथ गाउँपालिका– ३ मा नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सोमबारदेखि अगाडि बढेको हो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणा पश्चात सरकारले २०७५ कात्तिक ७ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरेको थियो ।

औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले वर्षेनि बजेट विनियोजन गर्दै आएपनि विभिन्न कारणले कार्यान्वयन हुन सकेको थिएन् । तर, पछिल्लोपटक औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विशेष संयोजन, जिल्लास्थित सरोकारवाला निकाय, स्थानीय सरकार, राजनीतिक दल र स्थानीयहरूको सहमतिमा औद्योगिक क्षेत्र घोषणाको करिब १० वर्षपछि निर्माणको काम सुरु भएको हो ।

सोमबार ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर सामान्य विरोधका बीच सीमा क्षेत्रका संरचनालाई डोजर लगाएर भत्काउँदै निर्माण कार्य सुरु गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले जानकारी दिए । आइतबार नै औद्योगिक क्षेत्रको काम सुरु गर्ने सम्बन्धमा बैजनाथ गाउँपालिकामा भएको सर्वपक्षीय छलफलमा सोमबारदेखि काम सुरु गर्ने सहमति समेत भएको थियो ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत जिल्लास्थित सरोकारवालाहरूसँग व्यापक छलफल गरिएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ओलीले औद्योगिक क्षेत्र घोषणाको लामो समय पुगिसक्दा पनि काम सुरु हुन नसकेको अवस्थामा स्थानीय सरकारको बारम्बारको प्रयास, लिमिटेडको पहल तथा जिल्लास्थित सम्पूर्ण क्षेत्रको सर्वसहमतिमा अन्तत निर्माण कार्य सुरु भएको बताए ।

बाँके र बर्दिया मात्रै नभई सिंगो लुम्बिनी प्रदेशको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको नौबस्ता औद्योगिक क्षेत्र निर्माण सुरु हुन सकारात्मक कदम भएको उनी बताउँछन् । ‘औद्योगिक क्षेत्र निर्माणको लागि बस्तीको समस्या थियो । त्यस क्षेत्रका स्थानीयलाई ५५.६ बिगाह क्षेत्रफल जग्गामा स्थानीयको व्यवस्थापन गर्ने सम्बन्धमा समस्या समाधानको लागि स्थानीय सरकार र लिमिटेडबीच लगत कट्टाको प्रक्रियामा काम भएको छ । पछिल्लोपटक पनि दुईपटक सिडिओ कार्यालय, स्थानीय तह, राजनीतिक दल र स्थानीय बासिन्दाहरूसँग बसेर सहमतिमै काम सुरु भएको छ ।’ महाप्रबन्धक ओलीले मिसन टुडेसँग भने ।

तत्काल औद्योगिक क्षेत्र र बस्तीबीचको सीमाना छुट्याउने काम सुरु भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लगत्तै औद्योगिक क्षेत्र सीमांकनको लागि तारजालीले घेरा हाल्ने काम सुरु गरिनेछ । महाप्रबन्धक ओली भन्छन्, ‘बाटो खन्ने काम भएको छ । पहिलो ट्र्याक खोल्ने काम हुनेछ । लगत्तै तारजाली हालेर घेर्ने काम सुरु गर्छौँ । त्यसपछि डीपीआर संशोधन गर्नुपर्नेछ । तुरुन्तै डीपीआर संशोधनको काम सकिनेछ । यथाशक्य बाँकी संरचना निर्माण गरिनेछ । आधारभूत पूर्वाधार निर्माण गर्ने काम सुरु गर्नेछौँ ।’

साविकको नौबस्ता गाविस हाल बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाभित्र रहेको ५ सय २५ बिगाह सरकारी जग्गामध्ये ३ सय ३८ बिगाह जग्गा औद्योगिक क्षेत्रको नाममा छ । त्यो मध्ये ५५.६ बिगाह बस्तीको लागि छुट्याइनेछ । यस्तै नौबस्ता क्षेत्रभित्रै शसस्त्र तालिम केन्द्र, कारागारलाई छुट्याइने भएकोले अब २ सय ५० बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र कायम हुने ओलीको भनाइ छ ।

‘चालू आर्थिक वर्षको लागि नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष सरकारले पाँच करोड रूपैयाँ विनियोजन गरेको थियो । अघि पनि विनियोजन हुने गरेको छ । सोही बजेटबाट निर्माणको काम सुरु हुने हो ।’ ओलीले मिसन टुडेसँग भने । नौबस्ता औद्योगिक क्षेत्र निर्माण सम्पन्न गर्नको लागि कुल ८ अर्ब ८८ करोड लागत लाग्ने अनुमान छ । अब हुने डीपीआर संशोधनमा क्षेत्रफल घट्ने देखिएपनि संरचना पहिले अनुसार कै बन्ने भएकाले लागत पनि सोही अनुसार नै खर्च हुने ओलीको अनुमान छ ।

आर्थिक क्षेत्रमा निकै ठूलो फड्को मार्न सकिने सम्भावना बोकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण सुरु भएसँगै स्थानीय सरकार, स्थानीय र निजी क्षेत्र खुसी भएका छन् । यसको निर्माणमा अब सरकारले विलम्ब गर्न नहुने र छिटोभन्दा छिटो काम हुनुपर्ने उनीहरूको भनाइ छ । नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम हुनु बैजनाथबासी र सिंगो बाँके जिल्लाको लागि ऐतिहासिक दिन भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।

जिल्लास्थित सरोकारवाला प्रशासन, जनप्रतिनिधि, औद्योगिक क्षेत्र र स्थानीयहरूको सहमतिमा काम सुरु भएको भन्दै अध्यक्ष शाहीले काम निरन्तर हुने बताए । हामी निर्वाचित भएर आएदेखि नौबस्तालाई प्राथमिकतामा राखेका थियौँ । सोही अनुसार त्यस क्षेत्रमा देखिएका समस्या समाधानको लागि सिंहदरबारसम्म पुग्याँै । हाम्रो प्रयासले सार्थकता पाएको छ । काम सुरु भएको छ । हामीले यसैमा खुसी छौँ’ अध्यक्ष शाहीले भने ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्दा सोही स्थानमा पुगेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले औद्योगिक क्षेत्रको काम धेरै अघि नै सुरु भइसक्नुपर्ने बताए । धेरै ढिला भएपनि काम सुरु भएको भन्दै अध्यक्ष धामीले खुसी प्रकट गरे । ‘नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सुरुवात भएको छ । यो राम्रो काम हो । यसलाई निजी क्षेत्रले राज्यको सकारात्मक कदमको रूपमा लिएको छ । यो निर्माण भयो भने बिसौँ हजार मानिसले रोजगारी प्राप्त गर्नेछन् । चीन र भारतसँग हाम्रो औद्योगिक सम्बन्ध जोडिनेछ । यो अत्यन्तै सकारात्मक कदम हो’ अध्यक्ष धामीले मिसन टुडेसँग भने ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माणको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष धामीको भनाइ थियो । यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजु रुचाल ठकुरीले लामो समयको प्रयासपछि बैजनाथमा नौबस्ता औद्यागिक क्षेत्र निर्माण कार्य सुरु हुनु खुसीको कुरा भएको बताए । उनका अनुसार त्यस क्षेत्रका जनताको उचित व्यवस्थापनसहित विकासमा नयाँ फड्को मार्ने आशा गरिएको छ । सुरुवात भएको छ । हामी खुसी छौँ । विकासमा कोसेढुंगा सावित हुनेछ हाम्रो लागि ।’ वडाध्यक्ष ठकुरीले भने ।

बैजनाथ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर शाही नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुनु स्थानीयबासी र सिंगो गाउँपालिकाको लागि गौरवको कुरा भएको बताए । औद्योगिक क्षेत्र निर्माण गर्दा र निर्माण सम्पन्न भइसकेपछि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । बैजनाथ गाउँपालिका वडा नम्बर ३ की स्थानीय महिला पूजा सुनारले नौबस्ता निर्माण भएपनि यहाँका स्थानीयले रोजगारी पाउने आशा व्यक्त गरिन् । उनले विकास हुँदा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने बताइन् ।

औद्योगिक क्षेत्रको डीपीआर संशोधन हुने

नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु भएसँग यसैअघि निर्माण गरिएको डीपीआर संशोधन गरिने भएको छ । डीपीआर संशोधन हुँदा साविक डीपीआर उल्लेख गरिएका केही कुरा थपघट हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । ‘अब नयाँ शिराबाट काम सुरु हुन्छ । हामी डीपीआर संशोधन गर्छौँ । त्यसमा औद्योगिक प्लट (उद्योग)को सङ्ख्यामा फरक पर्छ । सम्भवतः क्षेत्रफल समेत संशोधन हुन्छ । केही केही आधारभूत कुराहरू परिवर्तन हुनेछ । अब आउने डीपीआर नै फाइनल डीपीआर हो ।’ महाप्रबन्धक ओलीले मिसन टुडेसँगको टेलिफोन कुराकानीमा भने ।

औद्योगिक क्षेत्रको सीमाना छुट्याएर, तारजाली गर्ने बित्तिकै डीपीआर संशोधन र नयाँ डीपीआर निर्माणलाई प्रमुख प्राथमिकता दिइएको उनले बताए । हाल कायम डीपीआरमा १११ औद्योगिक प्लट सङ्ख्या (उद्योग) सञ्चालन गरिने उल्लेख छ । यहाँ कम्तीमा एक सय ३० देखि बढीमा दुई सय उद्योग सञ्चालन गर्न सकिने भनिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डसहितको औद्योगिक क्षेत्र भएकोले वातावरणीय प्रभाव, सरसफाइ, चारलेन सडक निर्माण, साइकल लेन, पैदल लेन, चौबिसै घण्टा पानीको आपूर्ति, फोहोर पानी प्रशोधन, ४० मेघावाट जलविद्युत्को छुट्टै विद्युत् फिडर, दुई सयजना सशस्त्र प्रहरी बल बस्ने व्यवस्था, उद्योग संघ, बैंक, टेलिकम्यूनिकेसन टावर, एकीकृत भन्सार चेकपोष्टलगायत विभिन्न पूर्वाधार निर्माण हुने बताइएको छ ।

हेभी ट्रक पार्किङलगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ । त्यसमा बाटो ढल, बिजुलीलगायतका पूर्वाधार निर्माण हुने छन् । संशोधित डीपीआर मूलभूत रूपमा पुरानै कायम हुने तर, केही परिवर्तन गर्नैपर्ने र अत्यावश्यक कुरा मात्रै संशोधन हुने उनले स्पष्ट पारे । छिट्टै डीपीआर संशोधन कार्य सुरु हुने र छोटो समयमा सकाउने योजना रहेको ओलीले बताए ।

यो परियोजनाले प्रत्यक्षरूपमा २० हजारले रोजगारी पाउने छन् भने अप्रत्यक्षरूपमा १ लाख रोजगारी सिर्जना हुनेछ । नौबस्ता औद्योगिक क्षेत्रको २०७७ चैत ११ गते तत्कालीन संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

सीमांकन गर्दा तत्काल घरधुरीलाई नहटाइने 

नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्यांक संकलन गरिएको थियो । तर, स्थानीय घरधनीको संघर्ष समितिले औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी गर्दै आएको छ । लामो समयदेखि बस्ती व्यवस्थापनको समस्या समाधान नहुँदा काम सुरु हुन सकेको थिएन । औद्योगिक क्षेत्र निर्माणको विषयमा स्थानीय, राजनीतिक दल र सरकारी पक्षबीच सहमति देखिए पनि बस्ती व्यवस्थापनका विषयमा एकमत हुन नसक्दा समस्या भइरहेको हो ।

नौबस्ता क्षेत्र रहेको बैजनाथ–३ का अध्यक्ष निखिल बैगारका अनुसार त्यहाँ लामो समयदेखि बसिरहेको सुकुम्बासी र भूमिहीन नागरिक बसोबास गरिरहेका छन् । सरकारले लालपुर्जा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको विगतदेखिको माग छ । अहिले विभिन्न चरणमा भएका वार्ता र छलफलमा त्यस क्षेत्रमा रहेका नागरिकहरूका लागि ५५.६ बिगाह क्षेत्र छुट्याउने सहमति भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार पछिल्लो समय भएका विभिन्न छलफलमा नौबस्ता औद्योगिक क्षेत्रको सीमांकन गर्दा तत्काल घरधुरीलाई नछुने सहमति भएको छ । बाँकी कुरा पछि प्रक्रियागत रूपमा टुंग्याउनेगरी काम सुरु भएको उनले बताए । बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसमेत औद्योगिक क्षेत्रमा रहेका नागरिकहरूलाई मर्का नपर्ने उनीहरूको माग अनुसार सरकारी तवरबाटै माग सम्बोधन हुने सहमति भएको बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १२ गते मंगलबार