कांग्रेस १८ नम्बर वडा कार्यालयको शिलान्यास



बाँके ।

नेपाली कांग्रेस बाँके अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुने भएको छ । निर्माणाधीन वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । उक्त भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शिलान्यास गरे । शिलान्यास गर्दै प्रमुख अतिथिसमेत रहेका बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिए ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार बाँकेको कूल ८१ वडामध्ये नेपालगन्जको वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका रामकुमार वर्माले करिब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् ।

वडा कार्यालय भवन निर्माणका लागि करिब रु ५ लाख लागत लागत स्टिमेट गरिएको छ । ‘रु तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशिल सदस्य र नेपाली कांग्रेसआवद्ध व्यापारीहरूबाट संकलन गरिनेछ,’ वडा उपसभापति सुवेदीले भने ।

निर्माणाधीन वडा कार्यालय भवन एक तलाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक÷एक कोठाका अलावा बैठक कक्ष र शौचालय र कम्पाउन्ड वाल निर्माण गरिनेछ । पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रजातन्त्रका विरोधीहरूले जति नै हल्ला गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरू अब उल्टो बाटो फर्कन नसक्ने बताए ।

पार्टीका जिल्ला सभापति नारायणप्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टीपंक्ति अहोरात्र खटिरहेको बताउँदै यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरूको योगदान मननयोग्य रहँदै आएको बताए ।

पार्टी वडा सचिव धीरेन्द्रबहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोलेका थिए भने जिल्ला सचिव सुधांशु कोइराला, पूर्वसांसद याकुवब अलि अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ११ गते सोमबार