आजदेखि नौबस्ता औद्योगिक क्षेत्रमा निर्माण सुरु गरिँदै



नेपालगन्ज ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रमा आज सोमबारबाट निर्माणको काम सुरु गरिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओलीले आज सोमबारबाट सडक निर्माण तथा तारजालीको काम सुरु गरिने जानकारी दिए ।

आइतबार औद्योगिक क्षेत्रको काम सुरु गर्ने सम्बन्धमा बैजनाथ गाउँपालिकामा सर्वपक्षीय छलफल भएको थियो । उक्त छलफलबाट सोमबारदेखि काम सुरु गर्ने सहमति भएको औद्योगिक क्षेत्र पर्ने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘प्रशासन, जनप्रतिनिधि, औद्योगिक क्षेत्र र स्थानीयसहितको बैठक भयो । त्यसमा अब काम अघि बढाउन ढिलो नगरौँ भन्ने सहमति भएको छ । एक दुईजना त विरोध गरिहाल्छन् । अब काम चाहीँ रोकिँदैन, अघि बढ्छ ।’ शाहीले मिसन टुडेसँग भने ।

महाप्रबन्धक ओलीले पनि लामो समय पर्खिसकेको र अब पर्खिने अवस्था नरहेको सोमबारबाटै काम सुरु गरिने बताए । ओलीले भने, ‘हामीले अब प्रशासनको सहयोग लिएर भएपनि काम अघि बढाउँछौँ ।’ यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबारबाट जसरी भएपनि काम अघि बढाइने जानकारी दिएका थिए । आइतबारसम्म स्थानीयहरूलाई सम्झाइबुझाई गर्न र काम अघि बढाउन सहमत गराउन राजनीतिक दल र जनप्रतिनिधिहरूसँग प्रजिअ जोशी र महाप्रवन्धक ओलीले आग्रह गरेका थिए ।

औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रफल जमिनमा दुई सय ६८ वटा घरधुरी बनाइएका छन् । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयहरूले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन खोज्दा अवरोध हुने क्रम नरोकिएपछि निकास खोज्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक बाँके आएर सर्वपक्षीय बैठकको आयोजना गरेका थिए । उनले बाँकेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् जनप्रतिनिधि, सम्बद्ध सरोकारवाला तथा सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरिसकेका छन् ।

हाललाई घरटहरालाई कुनै प्रभाव नपारी बस्ती भएको क्षेत्र र बाँकी क्षेत्र छुट्याउने गरी सडक निर्माण गर्ने र घेराबारको काम अघि बढाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको योजना छ । यसअघि पनि राजनीतिक दलहरूले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन ऐक्यबद्धता जनाउने तर फिल्डमा काम अघि बढाउन खोज्दा राजनीतिक दलकै कार्यकर्ताहरूको अवरोध गर्ने गर्दै आएका छन् । अहिले पनि केही व्यक्तिहरूले काम अघि बढाउन नदिने बताइरहेका बैजनाथ गाउँपालिका अध्यक्ष शाह बताउँछन् ।

निर्माणको काम अघि बढाउन खोज्दा हुने अवरोध नरोकिए नौबस्ताको विकल्पतर्फ सरकारले सोचिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओलीले बताउँदै आएका छन् । सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि दुई करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो । तर काम सुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो ।
आर्थिक वर्ष २०७७–७८ देखि पाँच वर्षभित्र अर्थात् २०८२–८३ सालभित्र औद्योगिक क्षेत्र निर्माण गरिसक्नेगरी लक्ष्य तोकिएकोमा हालसम्म डीपीआर तर्जुमाबाहेक कुनै काम अघि बढ्न सकेको छैन् । नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुनेछन् ।

नेपाल सरकारले २०७२ साल चैत्र १ गते बैजानाथमा उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर, पश्चिममा पितामारी चार किल्ला तोकी पाँच सय २५ विगाहमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । पछि २०७३ जेठ २७ गते नाँपजाँचपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तीन सय ३८ बिगाहको जग्गाधनी पुर्जा मिलेको थियो ।

औद्योगिक क्षेत्रमा उद्योगहरूलाई चाहिने बाटो, बिजुली र पानीको व्यवस्था गरिने, औद्योगिक क्षेत्रमै उद्योग दर्ता, कर कार्यालय र भन्सार कार्यालय स्थापना गर्न मिल्नेगरी संरचनाहरू बनाउनेगरी डीपीआर तयार गरिएको छ । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि तीन सय ५० बढी उद्योगी व्यवसायीले आशयपत्रसमेत दर्ता गरिसकेका छन् । औद्योगिक क्षेत्रमा ५ वर्षसम्म जमिनको भाडा नलिने, पानी र बिजुलीमा सहुलियत सहित लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्य उद्देश्य रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ११ गते सोमबार