विद्युतीय कसुरसम्बन्धी ६ वटा उजुरी दर्ता



सल्यान ।

जिल्लामा पछिल्लो समय विद्युतीय कसुरसम्बन्धी पनि उजुरी दर्ता हुन थालेका छन् । पछिल्लो ११ महिनाको अवधिमा जिल्लामा विद्युतीय कसुरसम्बन्धी ६ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ६ वटा उजुरीमध्ये २ वटा ठाडो उजुरीमा मिलापत्र भएको छ । भने ३ जना प्रतिवादी पक्राउ परेका छन् । १ जना फरार सुचीमा छन् ।

पक्राउ परेकामध्ये १ जना कारागार चलान भएको र २ जना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) केशरकुमार न्यौपानका अनुसार विद्युतीय कसुरका १ प्रतिवादी गत असार ३१ गतेको आदेशबाट पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अर्का १ जना प्रतिवादी १ लाख रूपैयाँमा र १ प्रतिवादी ६० हजार रूपैयाँ धरौटीमा छुटेका छन् ।

विद्युतीय प्रविधिको विस्तारसँगै यसको दुरूपयोग पनि बढ्दै गएको पछिल्ला घटनाले देखाएको छ । म्यासेन्जर, इमो, भाइबरजस्ता माध्यमबाट यस प्रकारका घटना हुने गरेको डीएसपी न्यौपानेले बताए । जिल्लामा दर्ता भएका साइबर अपराधका घटनामा मुख्य रूपमा सामाजिक सञ्जाल दुरूपयोग, ठगीलगायतका रहेका छन् । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले केन्द्रीय साइबर ब्युरोसँगको समन्वयमा विद्युतीय प्रमाण परीक्षण, यकिन गर्ने, मोबाइलमा डिलिट भएका विभिन्न डाटा रिकभरका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाउने, प्रयोगकर्ता डाटा विश्लेषण गर्ने जस्ता विधि अपनाउने गरिएको छ ।

प्रहरीले विभिन्न कार्यक्रम र समुदायस्तरमा सञ्चालन हुने सचेतनाका कक्षा सञ्चालन गरिरहेको भएपनि साइबर अपराध रोकथामका लागि छुट्टै विशेष अभियान नभएको जनाएको छ । तर सामाजिक सञ्जालमा कसैले पनि व्यक्तिगत जानकारी सार्वजनिक गर्न नहुुने बताइएको छ ।

विद्युतीय कसुरका बारेमा सर्वसाधारणलाई प्रचलित कानुन, दण्ड सजाय, उजुरी दिने प्रक्रिया र कानुनी अधिकारबारे जानकारी दिनुपर्ने अधिवक्ता इन्द्रबहादुर भण्डारी बताउँछन् । उनका अनुसार पीडितले न्याय पाउँदा मात्र समाजमा कानुनप्रति विश्वास बलियो हुने भएकाले साइबर अपराधबाट पीडितलाई मानसिक र कानुनी परामर्श दिनुपर्ने देखिन्छ ।

साथै सल्यानमा साइबर अपराधको नियन्त्रणमा प्रविधिको दुरूपयोग नहोस् भनेर जनचेतना, निगरानी र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ । सल्यानमा साइबर अपराधका घटना न्यूूनीकरण गर्न अन्य क्षेत्रले पनि प्रहरीलाई साथ दिनुपर्ने जिल्ला प्रहरी कार्यालयको अनुरोध छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार