धनगढी ।
सवारी परीक्षण अत्तरिया कैलालीले ड्राइभिङ स्कुल तथा सरोकारवालहरूसँग सवारी प्रदूषणसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । शनिबार धनगढीमा सरोकारवाला तथा विभिन्न निकायहरूलाई प्रशिक्षण दिइएको हो ।
उक्त प्रशिक्षण कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा महाकाली यातायातका अध्यक्ष डम्मरराज पन्तले सवारी प्रदूषणले मानव जीवनमा पर्ने असरको बारेमा प्रशिक्षण दिइएको बताए । सवारीसाधनको समयमा परीक्षण तथा चेकजाँच गर्नुपर्ने उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय कैलालीका वरिष्ठ सई नरेन्द्रबहादुर सिंहले ट्राफिक प्रहरीले यस विषमा कसरी हातेमालो गरेर अगाडी बढ्ने भन्ने कुराको छलफल भएको बताए । सडकमा सवारीसाधनबाट बढी धुवाँ आएको देखिएमा सवारीसाधनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने गरेको बताए ।
सवारी परीक्षण कार्यालयका मेकानिकल इन्जिनियर तथा निमित्त प्रमुख सुवास वडले सवारी परीक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । सवारीसाधनबाट कस्ता खाले प्रदूषण निस्किन्छ, प्रदूषणले कस्ता किसिमका रोगहरू लाग्छ, फिल्टर कहाँ राख्ने लगायतका विषयमा प्रशिक्षण दिइएको उनले बताए । उनले यातायात व्यवसायीहरूको समस्या लगायतका विषयमा समेत छलफल भएको बताए ।
सवारी परीक्षण कार्यालयका कम्प्युटर अप्रेटर शैलेन्द्र वडुले प्रदूषण साइलेन्स किलर भएको बताए । वातावरणलाई सवारी प्रदूषणले कति असर गरेको छ त्यस्का बारेमा छलफल भएको र सवारी प्रदूषण कसरी न्युनीकरण गर्ने भन्ने बारेमा छलफल गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्