१४ हजार बढीले लिए सुरक्षित गर्भपतन सेवा



जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । अघिल्ला वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या दोब्बरले वृद्धि भएको देखिन्छ । २०८०–०८१ को असारसम्म मात्रै ४ हजार ५४ जनाले सेवा लिएका छन् । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या २ हजार ६०३ रहेको थियो ।

सुर्खेत ।

पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढेको छ । ६ आर्थिक वर्षको अवधिमा मात्रै सुुर्खेतमा १४ हजार ४२४ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । अघिल्ला वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या दोब्बरले वृद्धि भएको देखिन्छ ।

२०८०–०८१ को असारसम्म मात्रै ४ हजार ५४ जनाले सेवा लिएका छन् । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या २ हजार ६०३ रहेको थियो । २०७७–०७८ मा २ हजार ४९१ जना, २०७८–०७९ मा २ हजार ६१५ जना र २०७९–०८० मा २ हजार ६६१ गरी कूल १४ हजार ४२४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । जसमा औषधिद्वारा गर्भपतन गर्ने महिलाको सङ्ख्या ९ हजार ६५८ जना रहेको छ । भने औजारद्वारा ४ हजार ७६६ महिलाले गर्भपतन गराएका छन् ।

६ वर्षको अवधिमा २० वर्ष मुनिका १ हजार ३१६ किशोरीले गर्भपतन गरेको तथ्यांक छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुुसार औजारमार्फत गर्भपतन गराउने किशोरीको सङ्ख्या ४ सय २८ रहेको छ । भने औषधिद्वारा गर्भपतन गराउने ८८८ जना किशोरी रहेका छन् ।

सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपालले २०५९ असोज १० गते मुलुकी ऐनको ११ औँ संशोधनद्वारा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या सबै भन्दा धेरै वीरेन्द्रनगरमा रहेको छ भने सबै भन्दा कम चिङ्गाड गाउँपालिकामा रहेको छ ।

२०८०–०८१ मा वीरेन्द्रनगरमा मात्र ४ हजार २३५ र चिङ्गाड गाउँपालिकामा २५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । एक वर्षको अवधिमा लेकवेशी नगरपालिकामा ३६ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । गुर्भाकोट नगरपालिकामा ७७ जना, बराहताल गाउँपालिकामा ४६ र पञ्चपुरी नगरपालिकामा २७१ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको जनस्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्सिङ्ग निरीक्षक अन्जना भण्डारीले बताइन् । पछिल्लो समय सुर्खेतमा औषधी तथा औजार प्रयोग गरेर गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको उनको भनाइ छ ।

सरकारले सुरक्षित गर्भपतनका लागि ७ प्रकारको औषधी निःशुल्क उपलब्ध गराउँदै आएपनि सरकारी स्वास्थ्य संस्थामा कमै मात्र महिला सेवा लिन जाने गरेको निरीक्षक अन्जना भण्डारीको भनाइ छ । सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्नेमा उनको जोड छ । नीजि स्वास्थ्य संस्थामा गर्भपतनका थुप्रै औषधी जथाभावी बिक्री वितरण गर्ने र नियामक निकायको ध्यान जान नसकेको उनले जानकारी दिइन् ।

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. नम्रता भट्टराईले असुरक्षित गर्भपतन सेवाका कारण ५ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताइन् । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने कानुनमा उल्लेख छ । डा. भट्टराईका अनुसार गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबरजस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, वंशाणुगत खराबी हुने अवस्थामा मात्र उपचारमा संलग्न चिकित्सकको सल्लाहबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था समेत रहेको छ ।

सरकारले सुरक्षित गर्भपतन सेवाका लागि सुर्खेतका १४ वटा सरकारी र ५ वटा नीजि स्वास्थ्य संस्थाहरूलाई सूचीकृत गरेको छ । जिल्लाभर रहेका विभिनन १४ वटा सरकारी स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतनका लागि सूचीकृत गरेको हो । जसमा वीरेन्द्रनगरको प्रदेश अस्पताल कालागाउँ, नगर अस्पताल, उत्तरगंगा स्वास्थ्य संस्था, कटुकुवा स्वास्थ्य संस्था, छिन्चु स्वास्थ्य संस्था, रामघाट स्वास्थ्य संस्था, मेहेलकुना अस्पताल र दशरथपुर स्वास्थ्य संस्था रहेका छन् । त्यस्तै अवलचिङ स्वास्थ्य संस्था, कुनाथरी स्वास्थ्य संस्था, लेकगाउँ स्वास्थ्य संस्था, सालकोट स्वास्थ्य संस्था, गुढु स्वास्थ्य संस्था र राकम स्वास्थ्य संस्था रहेका छन् ।

यस्तै नेपाल परिवार नियोजन संघ सुर्खेत, मेरीस्टोप सेन्टर, देउती अस्पताल र माया नर्सिङ होमलाई सरकारले सुक्षित गर्भपतनका लागि सूचीकृत गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार हुनेछ भनि व्यवस्था गरेको छ । सुरक्षित गर्भपतन सेवा लिएको खण्डमा तालिम प्राप्त स्वास्थ्यकर्मीको निगरानीमा रहने भएकाले थप जोखिमको सम्भावना कम हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार