भारतले रोक्यो नेपालको प्लाइउड आयात



भारतको ब्युरो अफ इन्डियन स्टयान्डर्ड (बीआईएस)बाट लिनुपर्ने प्लाइउडको गुणस्तरसम्बन्धी अनुमतिको बाहना बनाएर नेपाली प्लाइउड आयात रोकेको हो । भारतले नेपालबाट उत्पादित प्लाइउडको आयात रोकेपछि उद्योगीहरू समस्यामा परेका छन् ।

नेपालगन्ज ।

भारतले नेपालबाट उत्पादित प्लाइउडको आयात रोकेपछि उद्योगीहरू समस्यामा परेका छन् । भारतको ब्युरो अफ इन्डियन स्टयान्डर्ड (बीआईएस)बाट लिनुपर्ने प्लाइउडको गुणस्तरसम्बन्धी अनुमतिको बाहना बनाएर नेपाली प्लाइउड आयात रोकेको हो । नेपालगन्ज नाकाबाट पनि प्लाइउड निकासीमा समस्या आएको छ । बिआइएसले तोकेको मापदण्ड जाँचका लागि नेपालमा आएर उद्योग निरीक्षण गरेपनि प्रमाणपत्र नदिएर भारतले समस्या सृजना गरेको नेपालगन्जका प्लाइउड उद्योगी चम्पालाल बोथराले जानकारी दिए ।

यसले नेपाली प्लाइउड उद्योगहरू बन्द हुने अवस्थामा पुगेका उनले बताए । ‘हामीले त आवेदन पनि दिएका थिएनौँ । तर आवेदन दिएकाहरूको उद्योगको निरीक्षण गरेर पनि अनुमति दिएको छैन्,’ उद्योगी बोथराले भने । नेपालगन्जमा उत्पादन भएर भारतमा समेत निकासी हुँदै आएको शिखर प्लाइउडका उत्पादक बोथराले पछिल्लो केही समययता निकासी ठप्प भएको बताए । ‘हामीले त थोरै परिमाणमा भारत निकासी गथ्र्यौँ । तर नेपालमा उत्पादन हुने ५० प्रतिशत प्लाइउड भारत निकासी हुन्थ्यो । अब निकासी रोकिँदा उद्योग कसरी चलाउने भन्ने संकट आइरहेको छ,’ बोथराले भने । नेपाली प्लाइउडको ठूलो बजार भारत रहेको उनको भनाइ छ ।

भारतले केही समय प्लाइउड आयात खुलाएपनि पछिल्लो समय फेरी रोकेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताएका छन् । प्लाइउड भारत पठाउन लागिएका ३४ वटा ट्रक एक हप्तादेखि झापाको काँकडभिट्टा नाकामा रोकिएका उनले जानकारी दिए ।

बीआईएसले प्लाइउडका लागि स्वीकृति दिएका उद्योगले उत्पादन गरेका सामान पनि भारतले रोक्न थालेको उद्यागीहरूले बताएका छन् । आउँदो साउन–भदौसम्मका लागि बीआइएसको अनुमति नवीकरण गरेका उद्योगले समेत निर्यात गर्न पाएका छैनन् । नेपालबाट भारतमा वार्षिक सातदेखि आठ अर्ब रूपैयाँ बराबरको सामान निर्यात हुने गरेको छ ।

नेपालगन्ज नाकाबाट पनि पछिल्ला वर्षमा प्लाइउड निकासी निरन्तर ओरालो लाग्दै आएको छ । आर्थिक वर्ष २०७९–८० मा २१ लाख ५७ हजार ६ सय ६६ क्युबिक मिटर प्लाउड निकासी भएकोमा आर्थिक २०८०–८१ मा एक लाख ३० हजार क्युबिक मिटर मात्रै निकासी भएको थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ हजार आठ सय ३१ क्युबिक मिटर मात्रै निकासी भएको छ ।

गत पुस २५ र २६ गते काठमाडौँमा सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा आयात निर्यातमा सहजीकरण गर्ने, गैरभन्सार अवरोध हटाउने जस्ता विषयमा सहमति भएको थियो । तर, भारतले पालना नगरेको उद्योगीहरूको भनाइ छ । यस विषयमा कूटनीतिक लबिङ गरी समस्या सुल्झाउन उद्योगीहरूले माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार